उमाशंकर मिश्र ‘दद्दु’।
‘उम्रभर गालीभ एही भूल करता रहा, धुल चेहेरे पे थी ऐना साफ करता रहा’
नेपाल, भारत, अमेरिका, बेलायत या अरु कुनै पनि देशको संविधानमा लेखिएको एक लाइन र त्यस्तै जोडिएको एउटा विशेषणले गृहयुद्धसम्म लम्ब्याउन सक्छ। भारत धर्म निरपेक्ष राष्ट्र हो वा अमेरिका क्रिस्चियन राष्ट्र हो वा नेपाल धर्म निरपेक्ष राष्ट्र हो, यही लेखिएको क्रिस्चियन, मुस्लिम, धर्म निरपेक्ष भन्ने शब्दले संविधान लेखिएको मुलुकमात्रै होइन सारा विश्वलाई नै कम्पित् तुल्याई रहेको हुन्छ। ठूला राष्ट्रहरुले यसै शब्दलाई पहिचानको रुपमा लिने गर्छन्। तर सानो देश जो संसारकै ठुला राष्ट्रको लागि जबरजस्ती फुटबल मैदान बनिरहेको हुन्छ। उसका लागि भने यो शब्द अन्यौलताको प्रश्न चिन्ह बनेर रहन्छ। अहिले नेपालको संविधानमा लेखिएको एक लाइनले पनि नेपाली राजनिति तर्सीत छ। धर्म निरपेक्ष र हिन्दुराष्ट्र, यी दुईवटा शब्दले सतह भेट्टाई सकेका छैनन्। तैरिरहेको यि शब्द मध्ये कुन चाँही सतही हुने हो? केही वर्षमा टुङ्गो लाग्ला।
नेपालमा धेरै बुद्धिजीबी, धेरै पढेलेखेका, संसारलाई बुझिसकेका प्रबुद्ध ब्यक्तिहरुको जमातले यी दुबै शब्दको सही समाधान किन खुट्टयाउन सकिरहेका छैनन्? हामी छिमेकमा बसेर अचम्मित छौं। हाम्रो देश भारत विशाल छ, गोवा, महाराष्ट्र तिरको सामाजिक, धार्मिक संरचना उत्तर, मध्येप्रदेशको समाजसँग विकर्षित छ। उत्तराञ्चल सिक्किमतिरको संरचना र समाज फरक छ, सबैलाई मिलाउनको लागि होइन कि वास्तवमा मुलुकको राजनीतिक, धार्मिक, सामाजिक संरचनाले हाम्रो देश धर्म निरपेक्ष भन्ने सुहाउँछ। वास्तवमा धर्म निरपेक्ष नै भारतको संविधानको सुहाउँदो अक्षर हो तर नेपाल विश्वको मानचित्रमा अत्यन्तै सुन्दर देश हो। हिमाली शृङ्खला, पहाडी भू-भाग, तराईको वन जंगल र कलकल बगिरहने नदी झरना यहाँका प्राकृतिक सम्पदा हुन्। विश्वका हरेक देशका नागरिक नेपाल भन्ने वित्तिकै लोभिन्छन्। सानो देश, विभिन्न रहनसहनको समाज, विभिन्न संस्कार र परम्परा बोकेको नेपालको आफ्नै अतुल्य महत्व छ। सांसारिक जान पहिचानका लागि प्राकृतिक सम्पदाको महत्वसँगै सामाजिक सामरिक संरचनाको महत्व पनि खास हुन्छ। संसारमा सम्पन्न देश अमेरिकाका राष्ट्रपतिका लागि पनि त्यसको सर्वोच्च न्यायलय छ, शपथ खानका लागि तर उनी चर्चको पादरी (पोप) कहाँ पुग्छन् र सपथ खान्छन्। त्यसैगरी कोही मस्जिद कोही मुख्य न्यायाधिश त कोही कसैसँग शपथ लिने परम्परा छ। नेपालको परम्परा पनि आफ्नै किसिमको बिशेष होस् भन्ने हामी छिमिकीले राख्ने चाहाना हो। अहिले भारत र नेपालको राजनीतिक शासकको टकराव छ भन्ने मिडियामा हल्ला छ तर यसले सतहका जनताहरुलाई कुनै फरक पार्दैन। आज पनि दैनिक लाखौ भारतीय र नेपाली जनता एक अर्काको सिमा पार गरेर ब्यापारिक, पारिवारिक, सामाजिक सम्बन्धका लागि आवतजावत गर्छन्।
नेपालको संविधानमा धर्म निरपेक्ष लेखेर भारतको सतहको जनताको मन भने नराम्ररी दुखेको छ। हामी त अहिले पनि नेपाललाई हिन्दू राष्ट्र नै मान्छौँ। हिन्दू राष्ट्र हुनु नै नेपालको वास्तविक पहिचान हो। भारतमा वेद पुराणको सोधका लागि आउने विदेशीलाई हामी नेपाल पठाउँछौं। यसो गर्नको मुख्य कारण पशुपतिनाथ, मुक्तिनाथ र शिवको साक्षात रुप स्वरुप पाइने शालीग्राम नै हो। हामीलाई थाहा छ त्यहाँ बौद्धिष्ट छन्, अलिअलि मुस्लिम र क्रिस्चियन छन् तर यी सबै जनाको मूल पहिचान भनेकै हिन्दू हो। हिन्दुत्व नेपाली ऐतिहासिक पहिचान हो। हामीले नेपालका कम्युनिष्ट प्रधानमन्त्रीहरु आफ्ना बुबा, आमा लिएर मन्दिर गएको सामाचार पढ्यौं, देख्यौं। छोरा कम्युनिष्ट हुँदैमा परम्परा र पहिचान नष्ट हुँदैन। त्यसैको कारण हो नेपालका दुई कट्टर कम्युनिष्ट नेता बाबुराम र प्रचण्ड आफ्ना बुबाआमा लिएर मन्दिर गए। अहिले नेपालकी राष्ट्रपति विद्या देवी भण्डारी पनि कम्युनिष्ट धारबाटै आएकी हुन् तर हामीले उनी मन्दिर मन्दिरमा पूजा गर्न हिँडेको सामाचार सुनिरहेका छौं, पढिरहेका छौं, देखिरहेका छौं। त्यसैले सबैले बुझ्नैपर्ने मुख्य कुरा पनि हो, हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनुभन्दा नेपाल हिन्दू राष्ट्र हो, यो नेपालको पहिचान हो भनेर विश्वसामु देखाइदिनुस् यसले वास्तवमै नेपालको गरिमा बढ्नेछ।
नेपाल सुन्दर अनि शान्त देश हो। हाम्रा साथीहरुले कुरा गर्छन्, यहाँ त दश, बीस हजार बोक्दा लुटियला भन्ने डर हुन्छ, नेपालमा लाखौं रुपैया बोक्नुस्, मस्त निदाउनुस्। अनि राम्रो देश र देशका शासकले बुझ्नुपर्ने एउटै कुरा हो, हिमाल किन फोहर हुँदैछ? कसका कारणले हुँदैछ? पहाडका रुख किन काटिदैछन्? तराई किन सोतर हुँदैछ? समग्रमा नेपाल किन बिग्रिने मार्गमा लम्किन खोज्दैछ? नेपालमा बन्ने संविधान र कानुनको पालना नेपालीले गर्ने हो। तपाईँले पालना गर्ने नियम, कानुन, संविधान बनाउदा अरुको टाउको किन दुख्ने हँ? तर यसो भन्दैमा आफ्नो घरमा चलेको भोजमा बज्ने बाजाले छिमेकीलाई डिष्टर्व गरिरहेको त छैन? यो बुझ्नैपर्ने कुरा हो। नेपालको हरेक कुरामा छिमेकीको रुची हुन्छ तर चाहाना राख्नु गलत हो। छिमिकीले सल्लाह दिनुपर्छ आदेश होइन। नेपाल हिन्दू राष्ट्र होस् हामी सतही जनताको चाहाना हो, निर्देश होइन।
अन्त्मा नेपालले आपनो मार्ग आफैँ कोर्नुपर्छ, बाटो बनाउँदा चाहिने सावेल, कुटो सबै सर-सापट गरेर भए पनि बनाउनुपर्छ। मुलुकका लागि कसैको हस्तक्षेप सैह्य हुँदैन। एउटाले रोटी बेटीका नाममा थर्काउने, अर्कोले असल छिमेकी हुँ भनेर नेपालका खोलानालाका सुन चोर्ने, बाघ, चितुवाका छाला तस्करी गरी, तस्करी पर्यटक केन्द्र बनाउनु हुँदैन। यी सबैबाट बच्न नेपाली जनता नेता आफैँ तत्पर हुनुपर्छ। धुलो मैलो हाम्रै मुहारमा छ, सिसाको ऐना पुछेर मुहारको धुलो धोइँदैन, सबै नेपाली दाजुभाइले बुझ्नुपर्छ।
अन्तमा मैले लेखेको लेखले कसैको दिल दुखेछ भने क्षमा गर्नु होला जाँदाजादै फेरि एक पटक:–
‘उम्रभर गालीभ एही भूल करता रहा, धुल चेहेरे पे थी ऐना साफ करता रहा’
लेखक उत्तर प्रदेश, भारतका मानवअधिकारकर्मी हुन्।