रौतहटमा विद्यालय व्यवस्थापन समितिको चुनावमा गोली चल्यो

विद्यालय व्यवस्थापनको नयाँ कार्यसमिति चयनको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ। झडपका क्रममा गोली चल्दा दुई जना घाइते भएका छन्। घाइते हुनेमा धरहरी-५ का ५५ वर्षीय टइट पण्डित र धरहरि-४ का ३८ वर्षीय शम्भु शाह छन्। उनीहरुलाई वीरगन्जस्थित नेश्नल मेडकल कलेजमा उपचार भइरहेको छ। दुबैको अवस्था सामान्य रहेको सम्बन्धित डाक्टरले बताएका छन्।

धरहरीस्थित जय किशान उच्च माविको नयाँ व्यवस्थापन समिति चयन गर्न बुधबार चुनाव गरिएको थियो। बेलुका पाँच बजे मत गणना गर्दा २३ मत बढी भेटिएको थियो। सोही बढी मतले दुई पक्षबीच विवाद भएको थियो।

अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका थिए। एमाले समर्थक हृदयनारायण शाह, कांग्रेस समर्थक रामबाबु चौधरी र हरिशंकर पासवानले उम्मेदवारी दिएका थिए। बढी मत खसेपछि शाहले चुनाव बदरको मागसमेत गरेका थिए।

यही विषयलाई लिएर राति ११ बजेसम्म होहल्ला र झडप भएको प्रहरीले जनाएको छ। सोही क्रममा गोली चलेको स्थानीयले बताएका छन्। तर कसले गोली चलाएको भन्नेबारे केही खुलेको छैन। यसबारे अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश रेग्मीले जानकारी दिए।

त्यस्तै दुई पक्षलाई राखेर मिलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिए। सहमति भएपछि मत परिणाम गणना गरिने उनले बताए।

Leave a Reply

Your email address will not be published.