तमलोपा महाधिवेशनमा प्रधानमन्त्रीलाई निम्तो

महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीले आफ्नो पहिलो महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक रूपमा निमन्त्रणा गर्ने भएको छ।

आगामी असार ६–८ गते रामग्राम, नवलपरासीमा हुने पहिलो महाधिवेशनका लागि तमलोपाले प्रधानमन्त्री ओली र उत्तरी छिमेकी मुलक चीनलाई समेत सहभागिताका लागि औपचारिक आमन्त्रण गर्न लागेको छ। अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीलाई महाधिवेशनमा उपस्थितिको अनुरोध गर्दै निम्तो दिन आफैँ जाने जानकारी दिए। ‘प्रधानमन्त्रीलाई निम्तो दिनका लागि सकेसम्म म आफैँ जानेछु, नभए पत्र पठाउनेछु,’ उनले केन्द्रीय कार्यालय बिजुलीबजारमा भने, ‘उहाँहरू पो हामीलाई अछुत व्यवहार गर्नुहुन्छ, हामीचाहिँ त्यसो गर्दैनौं।’

उनका अनुसार महाधिवेशनमा नेपालका प्रमुख दलसहित विदेशका दललाई पनि निम्तो गरिनेछ। महाधिवेसन प्रचार–प्रसार समिति संयोजक तथा महामन्त्री जितेन्द्र सोनलले चिनियाँ कम्युनिस्ट पार्टी, चिनियाँ कूटनीतिज्ञसहित भारतका पार्टी र भारतीय कूटनीतिज्ञलाई समेत निम्तो गरिसकिएको छ। ‘चीन, भारत, युरोपियन युनियनदेखि सबैजसो कूटनीतिक क्षेत्रका प्रतिनिधिलाई महाधिवेशनमा उपस्थितिका लागि निम्तो दिएका छौं, केहीले आउने खबर गरिसक्नुभएको छ,’ महामन्त्री सोनलले भने। उनका अनुसार छिमेकी मुलुक, सार्क राष्ट्र, युरोपियन युनियनदेखि अमेरिकासम्मका प्रतिनिधिलाई निम्तो पठाइएको छ।

पार्टी स्थापनापछि पहिलोपटक हुन लागेको महाधिवेशन अन्तिम तयारीमा पुगेको उनले बताए। ‘तराईका २२ र उपत्यकाका ३ जिल्लाका गरी १ हजार बढी प्रतिनिधिले महाधिवेशनमा भाग लिनेछन्,’ उनले भने, ‘त्यसका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट ७–७ जना प्रतिनिधि आउनेछन्।’ उनका अनुसार महिला, जनजाति र दलित आरक्षण सुनिश्चित गर्दै जिल्ला समितिलाई थप ५ जना प्रतिनिधि चयन गर्ने अधिकार दिइएको छ।

भ्रातृसंस्थाबाट ७ जना प्रतिनिधि चयन गर्ने अधिकार प्रदान गरेको उक्त पार्टीले समावेशी लोकतन्त्र र संसदीय व्यवस्थालाई आधार मानेर राजनीतिक प्रतिवेदन बनाउने भएको छ। नयाँ संविधानलाई मेल खानेगरी पार्टी विधान पनि समानुपातिक समावेशी बनाउने प्रयास भइरहेको सोनलले जानकारी दिए। तराई–मधेसकेन्द्रित दलमध्ये पहिलोपटक तमलोपाले नारायणी पश्चिम क्षेत्रमा महाधिवेशन आयोजना गरेको हो।

Leave a Reply

Your email address will not be published.