उमाशंकर मिश्र ‘दद्दु’।
नेपाल भारतको इतिहास संस्कृति सभ्यता एकै मुलको छ भनेर विश्वका इतिहासविदहरुको प्रमाणित तथ्य हो । हाम्रो रहनसहन, परम्परा, लवाई खवाई भेषभुषा धर्म कर्म आदि सबै समानजस्तै छन् । अपभ्रंसमा परिवर्तन भएको केही साना मसिना कुरा बाहेक खासै ठूलो भिन्नता छैन । ऐतिहासिक राज्य सत्ताको शासन प्रर्णालीमा नेपाल मुस्लिम शासकवर्गको सत्ताबाटै टाढा रहयो र जहिले पनि हिन्दु सम्राटहरुबाट मात्रै शासित रह्यो । यो नेपालको इतिहासबाट हामी भारतमा बसोबास गर्ने भारतवासी खास गरेर हिन्दू वर्ग अत्यन्त उत्साहित हुन्छौं र नेपालप्रति गर्व पनि गर्छौं । नेपाल र भारतको शासन सत्ता चालकले के गर्छन् ? यिनको रणनीतिक योजनासँग भने दुबै देशको जनताको खासै त्यस्तो चासो रहँदैन । हामी भारतीय जनस्तरबाट के मात्र बुझ्छौ भने जब जब नेपाल र भारतको सम्बन्धमा दरार पैदा हुन थाल्छ त्यति बेला यो के हुँदैछ ? आश्चार्यबोधक दृष्टि सिवाय केही पनि सोँच्न सक्दैनौ । तपाई नेपाली दाजु भाईलाई पनि त्यस्तै हुन्छ होला भन्ने अनुमान गर्न सक्छौं ।
भारतीय जनता नेपाली जनताप्रति कतिसम्म उत्तरदायी छन भने स–सानो कुराले दुबै देशका बीच विचलन पैदा हुँदासमेत हामी हाम्रा शासकलाई गाली गर्न थाल्छौं । नेहरु, गान्धी सत्तामा हुँदा दुबै देशबीचमा उत्पन्न समस्याको सामाधान के हो ? हामीलाई आश्चर्य लाग्थ्यो । अहिले मोदी सरकारको पालामा उत्पन्न नेपाल भारतको सम्बन्धमा पनि हामी आश्चार्य चकित छौं । तर नेपाली दाजु भाईहरु चिसो मनले सोच्नुस् त ? के दुबै देशको शासकका कारण उत्पन्न भूकम्पले हाम्रो घर भत्केको छ ? नेपाल र भारतका जनताको बीचमा जुन सुमधुर सम्बन्ध ऐतिहासिक छ त्यो कसैले चाहेर पनि टुटाउन, फुटाउन सक्दैन किनकि यो सम्बन्ध दुबै देशको जनमनमा छ । नेपालमा भूकम्प गयो, हामी भारतीय जनताले नेपाली दाजुभाईलाई सक्दो सहयोग गर्ने प्रयत्न ग¥यौं । नाकाबन्दी कसले ग¥यो यो प्रमाणित लेख्नसक्ने हैसियत त मसँग छैन तर हामी दुबै देशका नाकामा बसोबास गर्ने जनताले तनमन साट्यौँ त्यसकारण पनि नाकाको चाबी छिटो खुल्न गएको हो । मलाई लाग्छ, भारत सरकार र नेपाली सरकारबीचमा उत्पन्न समस्या केही सन्धिका बुँदाहरुमत्रै हुन् । यसले जनमनको दैलोलाई पटक्कै ढकढक्याउन सक्दैन ।
भारत एक बिशाल देश हो, भारतमा पनि प्रशस्तै तिर्थस्थलहरु छन् । बद्रीनाथ, केदारनाथ, तिरुपती बालाजी, काँसी, बनारसमा थुप्रै नेपाली हिन्दू महन्तहरु प्नि छन् तर भारतीय हिन्दू जनता एक पटक पशुपतिनाथ नगए आफू पुन्य भएको ठान्दैनन् । हात खुट्टा भारतमा भए पनि हाम्रो शिर पशुपतिनाथ नेपालमै छ भन्ने हामी ठान्दछौं । आज पनि लाखौं भारतीय जनता पशुपतिनाथ, मुक्तिनाथ दर्शनका लागि नेपालमा पुग्ने गर्छन् । भारतीय नेताका कारण यहाँका जनता र नेपाली जनताको बीचमा कुनै पनि प्रकारको भेदभाव हुनु हुँदैन र हुन पनि सक्दैन । नेपालमा नाकाबन्दी हुँदासमेत लाखौ नेपाली भारतमा शान्तिपूर्वक रोजगारी गर्न पाउनु यसैको उदाहरण हो । हामी दुबै देशका जनता चौतारीमा बसेर छलफल त गर्छौ तर शासकका कारण झगडा कहिल्यै खेल्दैनौ यही नै हाम्रो मेलमिलाप हो । भारतीय र नेपाली जनता बीचमा भएको यही सामाप्यिताका कारण दुबै देशका शासक झुक्ने गर्छन् । यसको उदाहरण अहिलेको अवस्था नै काफी हो ।
अहिले हाम्रो विशाल देश भारतमा सांस्कृतिक बिचलन आएको छ, ठूलो देशमा यस्तो हुनु स्वाभाविकै हो । अंग्रजी शासकले सत्ता छोडेर गएपछि तिनका सम्बन्धितले अपनाएको परम्परा पनि हाम्रो देशमा यद्यावधि छ । आर्थिक बिचलनका कारण पाकिस्तान, बंलादेश छुट्टियो यसको इतिहास सबैलाई थाहा छ । हामी भारतीय जनता नेपालको शान्ती देखेर चित् खान्छौ, गर्भ गर्छौं, आहा क्या सुन्दर देश नेपाल ? क्या शान्ती नेपाली ? मैले यो स्तम्भ यसकारणले पनि लेख्दै छु कि शान्त नेपाल र ईमान्दार नेपाली माथि कसैको गिद्दे नजर नलागोस् । सुन्दर शान्त नेपालमा भएको बैमनस्यता बिचलनको कारण के हो त ? त्यो नेपाली जनताले नै खोज्नुपर्छ । मैले जनता जनता बीचको सम्बन्ध उठाएको छु त्यसकारणले जनबिचलनको कारण के हो त ? जे जति जानेको, बुझेको छु त्यो त लेखिदिनैपर्छ ।
पहिले नेपाल देश आर्थिकरुपमा पनि अत्यन्त सम्पन्न थियो तर त्यसबेला नेपाली जनता साह्रै गरिब थिए । अहिले नेपाल गरिब छ तर नेपाली जनता अत्यन्तै धनी छन्, यसको उदाहरण पाँच महिनाको यहाँको सामाजिक बिचलनका बावजुत पनि अत्यन्तै धैर्यताकासाथ नेपाली जनता बाँचेर देखाए । भूकम्पले तहसनहस हुँदासमेत नेपाली दाजुभाईले कसैसामु हात फैलाएनन् तर बिडम्बना देशमा भुकम्पको प्राकृतिक चोट पर्नु, अग्रगामी मार्गमा दौडी रहेको नेपाल संविधान निर्माणमा जुत्नु सँगसँगै भयो । संसारको हरेक देशमा संविधान निर्माण हुँदा सानो तिनो लफडा त भइनैहाल्छ, नेपालमा त्यो हुनु स्वाभाविकै हो । नेपालको संविधानमा हक र अधिकार त्यहाँको जनताले पाउने हो, देश अखण्ड रहनुपर्छ नेपाल अखण्ड नै हो तर संविधान निर्माणताका क्षेत्र, प्रदेश त छुट्टयाउनैपर्छ । हो ! नेपालको सीमाङ्कन छुट्टयाउदा उत्पन्न विवाद मिलाउन नसक्नु नेपालको राजनीतिक नेतृत्वको कमजोरी हो । हिमाल, पहाड, तराई अपार जलस्रोत, जडिबुटीको देश अहिले सम्म उभो लाग्न नसक्नु कुशल नेतृत्वको कमजोरी नै हो । अब नेपाली जनताले त्यो खोज्नुपर्छ नेपाली नेपालीबीच उत्पन्न झगडाले विदेशीलाई परेड खेल्न दिनु उचित होइन । एउटा कुरा नेपाली दाजु भाइले पनि बुझ्नुपर्छ कि घरमा झगडा भयो भने आफँैले मिलाउन सक्नुपर्छ हैन भने छिमेकी रमिते त बन्छन् नै । अहिले त्यहाँ उत्पन्न झगडामा छिमेकी देश चीन र भारत न्यायाधिश बन्न खोज्दैछन्, यो राम्रो होइन । नेतृत्व पंक्तिको सिमित स्वार्थको सजायको भागीदार जनतालाई बनाउनु हुन्न । मैले नेपालका राजनीतिक नेतृत्वमाथि प्रश्न चिन्ह खडा गर्न त मिल्दैन तर जतापनि, जहाँपनि, जुनसुकै सन्धी सम्झौताको बुँदामा हस्ताक्षर गर्नु नेपाली राजनीतिक नेतृत्वको ठूलो कमजोरी हो, यसैका कारण आज नेपाली दाजुभाईमा बैमनस्यता उत्पन्न हुनु युरोप, अमेरिका, भारत, चीन जस्ता देशले परेड खेल्न खोज्नुको कारण पनि यही हो । त्यसैले जनता जनता बीच झगडा होइन मेलमिलाप हुनुपछ्र्र । झगडा गर्ने बहस गर्ने काम त नेताहरुको हो, उनैले गर्छन्, उनैले गरुन् ।
अन्त्यमा, नेपाली दाजुभाईहरु ! परम्परा पहिचान हो । यसको जगेर्ना गर्नुपर्छ । नेपाल भारतको सांस्कृतिक ऐतिहासिक परम्परा सबै मिल्दो जुल्दो छ । आज अमेरिकाको राष्ट्रपति त्यहाँको धर्मगुरु पोप सामु सपथ खान्छन् । हामीले त यो परम्परा जोगाउन सकेनौं तर नेपालीले जोगाउनुपर्छ । आधुनिक विचार राख्नु प्रगतिपथमा लम्किनु जरुर हो तर संस्कृति र परम्पराको खोजी इतिहासले गर्छ, त्यसैले सुन्दर शान्त नेपाललाई समृद्धि तर्फ लम्काउन त्यहाँको परम्पराले पनि महत्वपूर्ण भुमिका खेल्छ । मुस्लिम, क्रिश्चियनको उचित आदर गर्नै पर्छ तर संसारको गौरव गर्न लायक हिन्दु देश हो भनेर अन्य धार्मिक, सांकृतिक परम्परा अँगाल्नेले पनि बुझिदिनु पर्छ । हामी पनि नेपालको उच्चतम् पदीय सपथ पशुपतिनाथमा हुनुपर्छ भनेर अपेक्षा गर्छौ । देवाधी देव, महादेव पशुपतिनाथले दुबै देशको जनताको कल्याण गरुन् । नमस्कार
(लेखक उत्तर प्रदेश भारतीय मानव अधिकारवादी संस्थाका अध्यक्ष हुन्)