थरूहट थारूवानद्वारा १५ बुँदे घाेषणा पत्र जारी, अामहड्ताल गर्ने कुरामा सहमति जुटेन

थरुहट थारुवान संयुक्त संघर्ष समितिको केन्द्रीय भेलाले १५ बुँदे घोषणा पत्र जारी गरेको छ । राजधानीमा आयोजित दुई दिने भेलाले आमहड्ताल गर्ने कुरामा भने सहमति जुटाउन सकेन । थारुहरु रोपाईमा व्यस्त हुने समय भएकाले हाललाई आमहड्ताल गर्न नसकिने निष्कर्ष निकाल्दै प्रस्तावित जेठ ३१ गतेको आमहड्ताल कार्यक्रम हटाइएको छ ।

भेलामा नेता किशोर विश्वासले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ९ बुँदे आन्दोलनका कार्यक्रम प्रस्ताव गरेका थिए । सहभागीहरुले अहिलेको अवस्थामा आन्दोलन गर्न नसकिने बताएका थिए ।

प्रस्तावित अन्य कार्यक्रमहरुमा भने भेलाले सहमति गरेको छ । जसमध्ये काठमाडौं उपत्यका लगायत जिल्लाहरुमा सर्वपक्षीय बैठक गरेर आन्दोलनलाई शसक्त बनाउने निर्णय गरेको छ । त्यस्तै थारुका विभिन्न पक्षहरु जस्तै नागरिक समाज, पत्रकार, समाजसेवी, कमलरी, कमैया, भलमन्सा, युवा विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने घोषणा पत्रमा उल्लेख छ ।

भेलाले काठमाडौंलगायत प्रत्येक जिल्लामा प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालयमार्फत् जुलुस, धर्नासहित ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । त्यस्तै संघर्ष समितिको अवधारणा, माग मुद्दाको आवश्वयकता एवं औचित्यबारे विभिन्न पक्षसँग छलफल चलाउने घोषणा पत्रमा उल्लेख छ । भेलाले टीकापुर घटना सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाबीच अन्तरक्रिया गर्ने नर्णिय गरेको छ ।

भेलामा संयोजक धनिराम चौधरीले आफूहरुको आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण भएको बताए । उनले टीकापुर घटना सुनियोजित रुपमा घटाएको भन्दै थारु आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भएको बताए । ‘आन्दोलनले सफलता नपाएसम्म चुप लागेर बस्दैनौं,’ उनले भने, ‘आन्दोलन तुहाउन आफूलाई अनेक राजनीतिक दलबाट ठूल्ठूला प्रलोभन आयो । त्यसलाई मैले इन्कार गरेँ ।’

भेलामा नेता राजकुमार लेखीले थरुहट तराई पार्टी नेपालले आफैंँले गरेको निर्णयको उल्लघंन गरेको आरोप लगाए । उनले गल्ती गरेर पनि नस्वीकार्ने प्रवृत्ति ठीक नरहेको बताउँदै थरुहट तराई पार्टी नेपालले मनोमानी गरेको आरोप लगाए । ‘आन्दोलन सफल पार्न सबैले अनुशासित हुनैपर्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published.