गोपनीयता त गुमाउँदै हुनुहुन्न ?

नाम सुनेर वा त्यसबारे थाहा पाएर हामी विभिन्न एप डाउनलोड गर्छौं। स्मार्टफोनको सहजताले यी कुरा सजिलो पनि भएको छ। तर, हामीले यो सोच्दैनौँ कि यस्ता एप कति जोखिमयुक्त छ? एक अनुसन्धानका अनुसार डाउनलोड गर्ने एप्लिकेसनले प्रयोगकर्ताबारे गोप्य कुरा पनि थाहा पाउनसक्ने देखिएको छ। जब कुनै मोबाइल एप्लिकेसन डाउनलोड हुन्छ, त्यतिबेला प्रयोगकर्ताको स्मार्टफोनबाट धेरै जानकारीको खोजीमा हुन्छन् एप निर्माता।

त्यसैले कुनै पनि एप डाउनलोड गर्नअघि डाउनलोड गर्न चाहनुहुन्छ कि हुन्न? भन्ने प्रश्न आउँछ। तर, धेरैले त्यो अनुरोध बेवास्ता गर्छन्। एप्लिकेसनले स्वीकृति माग्दा ख्याल गर्दैनौँ। बिनाजानकारी एप डाउनलोड गर्नु खतरनाक हुन सक्छ। एप र मोबाइल कम्पनीले यो सबै प्रक्रियामा आफ्ना लागि व्यापारको मौका खोजिरहेका हुन्छन्। इकमर्स कम्पनीबाट सामान किन्दा क्रेताको इमेल, मोबाइल इकमर्स कम्पनीसँग रहन्छ। किनमेल सकिएपछि क्रेताले प्रयोग गर्ने क्रेडिट वा डेबिट कार्डको बारेमा पनि इकमर्स कम्पनीसँग जानकारी हुन्छ।

यसले उनीहरूलाई ग्राहकको बारेमा थाहा पाउन र उनीहरूको मन पर्ने कुराबारे जानकारी लिन सजिलो हुन्छ। यसैगरी जतिबेला एप डाउनलोड हुन्छ, त्यतिबेला प्रयोगकर्ताको फोन नम्बर, इमेल र धेरै जसो मोबाइलमा भएको नम्बरको बारेमा पनि एप निर्माताले जानकारी लिन सक्छ।

कुनै पनि वेबसाइटको एप डाउनलोड गर्दा, त्यो एपले स्मार्टफोनको जानकारी लिन प्रयोगकर्ताको अनुमति पक्कै पनि मागेको हुन्छ। यसबाट प्रयोगकर्ताको मोबाइलमा आएको कुनै पनि एसएमएस उसले पढ्न सक्छ। यस्तै जब कुनै स्मार्टफोन वा ट्याब्लेटमा केही किन्न खोज्दा एउटा विशेष सफ्टवेयरले प्रयोगकर्ताको रोजाइको कुरामा पनि नजर राखिरहेको हुन्छ।

प्रयोगकर्ताको डिभाइसको इन्टरनेट प्रोटोकल एड्रेसले वेबसाइटलाई पहिलाको रोजाइबारे पनि थाहा हुन्छ र त्यही अनुसारको सामान वेबसाइटले देखाउँछ। यदि प्रयोगकर्ताको बैंकसँगको बारेमा कुनै जानकारी मोबाइलमा आउँछ भने उसको खातामा रहेको पैसाको बारेमा पनि एपले थाहा पाउन सक्छ। बिस्तारै एपको सहयोगले प्रयोगकर्ताको खातामा महिनामा कति कारोबार हुन्छ भन्ने कुरा पनि थाहा पाउन सक्छन्।

त्यसैले कुनै पनि एप, चाहे त्यो बैंकको होस् वा कुनै इकमर्स वेबसाइटको, प्रयोगकर्ताको प्रोफाइल तयार गर्न उसलाई मद्दत मिल्छ। एकपल्ट यो प्रोफाइल तयार भयो भने प्रयोगकर्ताको बारेमा कुनै पनि जानकारी लिन उसलाई गाह्रो हुँदैन। यसो भयो भने प्रयोगकर्ताको प्रोफाइल जता पनि पुग्न सक्छ। यसले खतरा निम्त्याउँछ। त्यसैले सबै एप डाउनलोड गर्नु खतरनाक नभए पनि सचेत भने हुन आवश्यक छ।

Leave a Reply

Your email address will not be published.