स्वास्थ्यमन्त्री रामजनम चाैधरीले रोके करार नियुक्ति

स्वास्थ्यमन्त्री रामजनम चौधरीले ‘आफ्ना मान्छे’ नपारिएको भन्दै स्वास्थ्यकर्मी करार पदपूर्ति प्रक्रिया अन्तिम चरणमा रद्द गरिदिएका छन्।  सुदूरपश्चिमाञ्चल स्वास्थ्य सेवा निर्देशनालयले सुरु गरेको करार पदपूर्तिमा आफूनिकट व्यक्तिलाई अनुत्तीर्ण गराएको भन्दै मन्त्री असन्तुष्ट भएका हुन्।निर्देशनालयले पदपूर्ति प्रक्रिया सुरु गर्नासाथ चौधरीले १ सय ९ जनाको सूची पठाएका थिए। सुदूरपश्चिमका दार्चुला, डडेल्धुरा, बाजुरा, बझाङ, डोटी, बैतडी, अछाम जिल्लामा आफ्ना नजिकका व्यक्ति राख्न दबाबसहित नाम पठाएका हुन्।

नागरिकलाई प्राप्त सूचीमा मन्त्रीले पठाएका १ सय ९ जनाको नाम उल्लेख छ। तीमध्ये ३५ जना अन्तर्वार्तामार्फत उत्तीर्ण भएका थिए। सबै व्यक्तिलाई उत्तीर्ण नगराइएको भन्दै उनले प्रक्रिया नै रद्द गराएको बुझिएको छ।

सुदूरपश्चिमका विभिन्न जिल्लाका रिक्त ३ सय ५३ पदमा विज्ञापन खुलाइएको थियो। सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयमार्फत चैत २० देखि ३० सम्म आवेदकको अन्तवार्ता लिइएको थियो। १ हजार १ सय ३७ जना आवेदक अन्तर्वार्तामा उपस्थित थिए।

मन्त्रीका निजी सचिवले समेत दबाब दिने गरेको सुदूरपश्चिमका क्षेत्रीय स्वास्थ्य निर्देशक डा.सुशीलनाथ प्याकुरेल बताउँछन्। ‘हामी कार्यविधिलाई टेकेर काम गर्छौं, दबाबमा होइन,’ उनले भने। नेताहरूले आफैँ बनाएको नियम उल्लंघन गर्ने गरेको उनले टिप्पणी गरे। ‘बरू आफूअनुकूल नीति बनाउनुस्, हामी काम गर्छौं।’ कानुनविपरीत आफूले कुनै काम नगर्ने अडान उनले लिए। कार्यक्षमताका आधारमा करार नियुक्तिसम्बन्धी कार्यविधि अनुसार आफूहरुले छनोट गरेको उनले जानकारी दिए।

नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published.