सीएन थारु।
थारु अहिले संघीय गठबन्धनसँगै आन्दोलनमा उत्रेको छ। संघीय गठबन्धनको पनि आफ्नै सीमा रहेकाले जारी संघर्षबाट उपलब्धी के हुने? विश्लेषण गर्नै पर्ने देखिन्छ। टीकापुर (कैलाली) घटनापछि थारुको आन्दोलनमा संलग्नता न्यून हुँदै गएको थियो। अन्नपूर्ण पोष्टको समाचारअनुसार उक्त समुदायको सक्रियता बढाउन विभिन्न आन्तरिक तथा बाह्य प्रयास हुन थालेका छन्। अन्नपूर्ण पोष्टकै जेष्ठ ४ गतेको अर्को समाचार अनुसार थरुहट/थरुवान संयुक्त संघर्ष समितिबाट थरुहट तराई पार्टीको प्रतिनिधिको रुपमा खटाइएका पार्टीका सचिव मीनराज चौधरीलाई निष्काषण गरेको देखिन्छ। यसले आन्दोलन सम्बन्धमा थप अन्यौलता थपेको हुनुपर्छ। हुन त शक्तिको सापेक्षतामा असान्दर्भिक ठहर भइसकेको थरुहट आन्दोलन बारे टाउको दुःखाई रहनुपर्ने आवश्यकता छैन तर नारा जिवित रहनुले आन्दोलन प्रतिको मोह रहिरहने देखिन्छ।
लाटा थारु र बाठा थारु दुइटै आन्दोलनतिर आकर्षित भइरहेको पाइन्छ। उनीहरुको आकर्षणमा के, किन र कसरी भन्ने प्रश्नको उत्तर छैन। छ त उही पुरानो नारा कि थारुलाई मधेसीकरण गर्न पाइँदैन। अथवा पहिचानको आधारमा थरुहट राज्य कायम गर। सस्तो प्रचारबाजी गरेर रातारात नेता बन्ने एक बथान बाठा थारु थरुहट/थरुवान संयुक्त संघर्ष समितिमार्फत् नेपाल राज्यको संरचना बदल्न चाहन्छ तर उत्तरदायी बन्नुपर्ने आवश्यकता ठान्दैनन्। उसो त लाटा थारु शारीरिक श्रममा विश्वास गरेर घाम पानी सहेर पनि गैरजिम्मेवार अगुवाहरुको पछाडि नदौडी बस्न सक्दैनन्। मानौं उनीहरुको सपना ती चर्का कुरा गर्ने नेताहरुले थालमै पस्केर ल्याइदेला कि? उनीहरुलाई के थाहा दिन भरि चर्का भाषणबाजी गरेर ती कथित नेताहरु आफ्ना आफ्ना व्यवहार चलाउन दुश्मनसँगै दलाली गर्दैछन भनेर? यसरी लाटा थारु खाली हात सधैं आन्दोलनबाट फर्कनु परेको छ।
लाटा लडे एकबल्डयाङ्ग बाठा लडे सात बल्डयाङ्ग
यो भनाई आज चरितार्थ हुँदै गएको देखिन्छ। कुरो २०६५ सालकै हो। थरुहट आन्दोलनमार्फत् अब कुनै किसिमको जातीय सम्मिलीकरण नसहने भनेर मधेसी समुहबाट अलग हुने गरी माग चर्काए। त्यसबखत लक्ष्मण थारु आन्दोलनबाट स्थापित हुन पुगे। यो पंक्तिकार सो आन्दोलनको आधार इलाकामा जमेर बसे एक लाटा थारु बनेर। जब चैत १ गते ६ बुँदे सहमति पत्रमा हस्ताक्षर भएर आन्दोलन स्थगित गरियो, पंक्तिकारलाई गजबको सिकाइ भयो कि हामी थारु आन्दोलन चर्काए पनि वार्ताको टेबलमा शासकवर्गसँग हार्दा रहेछौं। यसको मुख्य कारण हाम्रा नेतृत्ववर्ग आत्मगतरुपमा कमजोर र व्यवहारिकरुपमा संकिर्ण हुने भए साथ साथ तिनीहरु शक्ति र राजनीतिको विषयमा सैद्धान्तिक अन्यौलताबाट लगातार गुज्रिँदैछन्। शायद तिनीहरु सात बल्डयाङ्ग नलडी हुमा आउने देखिन्न। बाठो पनि यति कि हरिवंशले गाएको ‘गीत मेरी आमा साह्रै नै बाठी छन् चामल सँग पीठो पो साटिछन्।’ समय सन्दर्भले मिल्न गयो। उनीहरु अहिले पनि प्रेस विज्ञप्ति र पत्रकार सम्मेलन गरेर टेलिभिजनको पर्दामा नदेखिए नेता बन्ने आधार नै पो गुमाए कि भन्ने लाग्छ। लक्ष्मण थारुको बाठोपन त जगजाहेर भयो नै बाँकी अरु कसको कसको हुने हुन हेर्न पर्खनु पर्ला। अर्को लाटा थारु मीनराजको आन्दोलन नै जीवन दर्शन बन्यो। अस्पतालको बेडमा हुँदा पनि आन्दोलनको चिन्ता लिनेसम्म भए उनी तर भूमिगतको बहानामा लुक्दै आएका धनीराम चौधरीले लाटा मीनराज चौधरीलाई कारवाही गरेर बाठा थारु बन्न पुगे। उनी अहिले पनि दुश्मनकै क्याम्पमा आफ्नो व्यवहार चलाउन दलाली गर्र्दै होला। यसै कारणले पनि उनलाई शासकले समाउन परेन जबकी टीकापुर घटनाको अभियुक्त उनलाई पनि सरकारले बनाएको बुझिन्छ।
अबको बाटो
आन्दोलनमा अब किता काट गरी अगाडि बढनुपर्ने बेला आयो। शहरिया बुर्जूवा राष्ट्रवादको जगमा बाठा थारु दलाली गर्न थाले। उनीहरुमा राष्ट्रवादको नयाँ चेतना त भयो तर यसलाई उनीहरु स्वार्थ सिद्ध गर्ने औजारको रुपमा प्रयोग गर्न थाले। यो आन्दोलन प्रतिको गद्दारी हो। आन्दोलनको मर्म र मान्यता विपरित कार्य गर्ने कसैलाई छुट नभएकाले शहरिया वुर्जूवा राष्ट्रवादको विरुद्ध ग्रामीण जाति वर्ग संघर्ष घनिभूत बनाउने दिन आएको बुझ्नु जरुरी छ। अन्नपूर्ण पोष्टको समाचारअनुसार एक साता अघि प्रधानमन्त्री केपी ओलीसमक्ष प्रस्तुत भएको सुरक्षा परिषदको अति गोप्य प्रतिवेदनमा सम्मेलन शुद्धरुपमा साँस्कृतिक नरहेको र त्यसको राजनीतिक प्रयोजन हुनसक्ने उल्लेख छ। सो रिपोर्टअनुसार सम्मेलनबाट नेपाल-भारत थारु मैत्री संघ गठनको प्रयास गरिए पनि त्यसमा सहमति जुट्न नसके पछि नेपाल-भारत सहकारी संघ गठन गरिएको छ। यस प्रकारले बाठा थारु आफ्ना नाता गोतालाई भारतीय छात्रवृति दिलाउने र विकासे योजनामा केही रकम हात पार्ने कथित मधेसी नेताहरुको कितामा उभिए। मधेसी नेताहरु हालसम्म यस्तै किसिमले दलाली गर्न अभ्यस्त भएको सर्वविदितै छ। थप उनीहरुमध्ये कतिपय त भारतीय योजना सफल बनाउनु नै आफ्नो राजनीतिक अभिष्ट रहेको प्रमाणित गर्न थालेको छ। शायद त्यो हदसम्मको सुविधा भारतीय पक्षबाट थारुले प्राप्त गर्ला भनेर बाठा थारुले त के भारतीय पक्ष स्वयम् सशंकित नै रहेको हुनुपर्छ। ऐतिहासिक कालदेखि दिल्ली र काठमाडौंको सम्बन्ध जति नजिक छ त्यति थारु र भारतीय पक्षबीच रहने विषय कल्पना सिवाय केही होइन। तर बाठा थारुका लागि जे जति दयाले पाइन्छ त्यो नै काफी देखिन्छ।
आन्दोलनको वस्तुगत परिस्थिति तयार छ। नेपाल अहिले अनिर्णयको बन्दी बनेको र संविधान घोषणा पश्चात यहाँ संकटको पुनरोत्पादन भएको छ। शासकवर्ग संविधान कार्यान्वयनको नारा दिन व्यस्त देखिन्छन् भने उनीहरुको खोक्रो राष्ट्रवादले देशलाई थप ध्रुवीकरण गर्न मद्दत पुर्याएको देखिन्छ। यसको मारमा परेका ग्रामीण जाति वर्गका जनताहरु अब शहरिया बुर्जूवा राष्ट्रवादविरुद्ध सशक्त वैचारिक संघर्ष चलाउने र लाटा थारुसहित अन्य उत्पीडित समुदायलाई संगठित गरेर ग्रामीण जाति वर्ग संघर्ष घनिभूत बनाउनेतिर लाग्नु आवश्यक भइसकेको बुझ्नुपर्छ। सारमा भन्नुपर्दा अहिले लाटा थारुलगायत अन्य उत्पीडित समुदाय राष्ट्रिय चेतनाको भावसँग सम्बन्ध राख्ने आन्दोलनको परिकल्पना गर्न सकेको देखिँदैन र सडकमा हुने चक्का जाम, बजारबन्द, नाराजुलुसलाई आन्दोलन बुझ्दै आफ्नो सहभागिता देखाउन बाध्य छ। अब यसलाई के, किन र कसरी भन्ने सबालसँग साक्षात्कार गराउँदै बाठा थारुको निम्नपूँजीवादी आकांक्षा सतहमा देखिने गरी ल्याइदिने हो साथ साथ उनीहरुको चेतनासँग फरक हुने किटानी विचार, किटानी योजना तथा किटानी नेतृत्वको जगमा उठ्ने आन्दोलनको विकास गराउनुपर्ने जिम्मेवारी आएको छ। लाटा थारुले अब आन्दोलनको बहाना बाजी गरेर जीवन जिउने होइन कि उनीहरुले राज्य र थारु राष्ट्रियता बीचको भर्चुअल वारलाई वास्तविकतामा बदलेर अगाडि बढनु परेको छ र ग्रामीण जाति वर्ग संघर्षलाई शहरिया बुर्जूवा राष्ट्रवादसँग अन्तरविरोधी बनाएमात्र त्यो सम्भव देखिन्छ। शासकवर्गसँगको युद्ध त अन्तिममा हो।
र अन्त्यमा
लाटा थारु आन्दोलनको नारामा रमाउँदा रहेछन्। उनीहरुलाई आन्दोलन कसरी सफल अथवा असफल हुँदा रहेछ भनेर बुझाउने कोही भएन अहिले सम्म। उनीहरुलाई पूँजीपति तथा समान्त भगाउन ठोक्ने विद्या सिकाइयो कि त बजारमुखि पूँजीवादको विनिमयको वस्तुमात्र बनाइयो। धेरै लाटा थारु इतिहासमा बन्दुक बोकी युद्ध जडे र सहिद भए। कतिपय विनिमयको वस्तु भएर मलेसिया, अरब, कतार, दुवईलगायत अन्य बजारमा बिक्री भएका छन्। सँच्चा मानव बन्ने सपनासम्म देख्न बर्जित छन् उनीहरु। यता बाठा थारु दलाली गर्दै घरव्यवहार चलाउने काममा लागेका छन्। उनीहरुमध्ये दुवैसँग विकल्प सिमित छ। लाटा थारु आफूलाई नचिनेरै यो संसारबाट विदा लिएका छन् भने बाठा थारु पश्चातापको तुफानसँग हार मान्दै बाँच्न बाध्य छन्। तर यो युग भनेको आफूलाई चिन्ने र आफूलाई रुपान्तरण गर्न सक्ने युग हो। लाटा थारुलाई पनि सच्चा मानव बन्न सक्ने सपना साँच्ने स्वतन्त्रता छ। यसको लागि भूमण्डलीकरणको विज्ञानलाई बुझ्न सकिन्छ र आफ्नो सन्दर्भमा यसको विशेषता र कमजोरी व्याख्या गर्न सकिन्छ। बाठा थारुको भर पर्ने आवश्यकता छैन र आधारभूत ज्ञान हामी स्थानीयताको परिवेश निर्माणसँगै बुझ्न सक्छौ।
कस्मोभिजनको धारबाट हेर्दा जसरी ब्रह्माण्डमा सबै चर तथा अचर एक अर्कामा अन्तरसम्बन्धित र अन्तरनिर्भरतामा अस्तित्ववान रहेको बुझिन्छ, त्यसैगरी विश्वसमाज अहिले अन्तरनिर्भरतामा बाँचेको छ। पूँजीवादी प्रणाली पनि विश्वसमुदायको अन्तरनिर्भरताजस्तै केन्द्र, परिधि तथा उपकेन्द्र भएर क्रियाशिल हुँदै आएको देखिन्छ। यसैलाई निरन्तर टिकाउने काममा विश्वराजनीति बाटो तय गरेको पाइन्छ। तर हामी यसलाई निषेध गरेर बाँच्नसक्ने छैनौं। अहिले नेपाल सोही संकटको भूमरीमा छ र हामी त्यसको असर भोग्दै छौं। के कुरो सत्य हो भने तपाईँ राजनीति गर्नुस् अथवा नगर्नुस् तर राजनीतिले ल्याएको असर भोग्न कुनै कुरोले रोक्दैन। तसर्थ लाटा थारु पनि राजनीतिक असर भोग्नुपर्ने भएको छ र बाठा थारुको के कुरो गर्ने? उनीहरु अन्यौलताको जीवन बाँच्ने र आफैंलाई ठग्ने गरी सात बल्डयाङ्ग लड्न तयार देखिन्छन्।