अबको थरुहट आन्दोलन

संजय चौधरी।

थारु इतिहासकार सुबोध सिंह थारुको अनुसार ‘Tharuhat is the land of tharu‘ थरुहट शब्दलाइ अझ बृहतरुपमा भन्नुपर्दा थरुहट भनेको थारुको एतिहासिक भूमी, इतिहास र पहिचान हो। थारु आफैँ एक राष्ट्र हुन्। थारु जातिको आफ्नै छुट्टै इतिहास, पहिचान बोकेको जाति हुन्। थारु जाति आफैँमा भाषा, पहिरण, चालचलनमा विविधताको धनी छन्। थारुको इतिहास नेपाल देशको स्थापना पूर्वदेखि नै समथरभूमी थरुहट तराइमा शासन गरेको विभिन्न अन्तर्राष्ट्रिय स्तरको इतिहासकारले आफ्नो पुस्तकहरुमा समेटेको पाउन सकिन्छ। थारु जाति परापूर्वकालदेखि नै राज्य गरेका भारत र नेपालको समथर भूमी थरुहट तराइमा बसोबास गरेको छ। त्यसैले थारुलाइ भारत र नेपाल दुबै देशमा सबैभन्दा पुराना आदिवासी मानिन्छ। आदिवासी अर्थात थारु यहाँका भूमिपुत्र हुन्। संसारको कुनै आदिवासीको धर्म हुँदैन। आदिवासीको धर्म नै जल, जमिन, जङ्गलको प्रकृति पूजक हुन्, त्यसैले थारुको पनि धर्म हुँदैन। तर, देशको शासकहरुले थारूलाइ आफ्नो अनुकूल विभिन्न धर्म लादने काम गरेको छ। आफ्नो धर्म, भूमी, हक अधिकार र पहिचान रक्षाको निम्ति नै गरेको बहसले थरुहट आन्दोलनको जन्म दिएका हुन्।

थरुहट आन्दोलनप्रति भ्रम
समान्यता थारु आन्दोलनमा दुई शब्द प्रयोग हुन्छ। पहिलो शब्द थरुहट जसलाइ सर्वमान्य मानिन्छ। दोस्रो शब्द थारुवान जसलाइ माओवादीले प्रयोगमा ल्याएका हुन्। अन्त्यमा थरुहट आन्दोलको नेतृत्व थरुहट थारुवान संयुक्त संघर्ष समितिको नामबाट परिचालन हुन्छ। देशको सता शक्ति, मिडिया, प्रशासन सबै क्षेत्रमा अति कमजोर उपस्थिति रहेको थारु जातिलाई अझ पीडित, अधिकारविहीन बनाउने अभ्यास, योजना, देशको नीतिविरुद्ध नै थरुहट आन्दोलनको सुरुवात गरायो। स्वाभिकरुपमा थारुको अवस्था मिडियादेखि प्रशासनसम्म कमजोर रहेकाले पीडित थारुको आवाज हरेक तवरले यो देशको शासकहरुले दबाउने गरेको छ। थरुहट आन्दोलनको माग मुद्दाहरु थरुहट तराइमा बसोबास गर्ने सबै जातिको लागि हितकर भए पनि देशको राष्ट्रिय मिडियामार्फत् नै भ्रम फैलाइन्छ। थरुहट आन्दोलन एउटा जाति विशेषको मात्र नभइ सबै तराइहरु बसोबास गर्नेको पक्षमा छन्। थारुले जातीय राज्य खोज्दैछन्, अरु जाति कहाँ रहने? जस्ता झुटा भ्रमहरु फैलाएर जातीय दङ्गा फैलाउने काममा देशका शासकहरु स्वयं प्रत्यक्ष भूमिका खेल्ने काम गर्छन्।

थरुहट आन्दोलनको सबल पक्ष
थरुहट शब्दलाई भावनात्मकरुपले थारु समुदायले स्वीकार गरेकै कारण थरुहट आन्दोलनमा बाहिरी शक्ति चलखेलभन्दा थारु समुदायको भावनाले आन्दोलनको उठान हुन्छ। विभिन्न ब्यक्ति, राजनीति दल, संघसंगठन, धर्म, अलग बिचार धारा रहेका थारुहरुलाइ एक ठाउँमा उभ्याउने काम थरुहट आन्दोलनले गर्छ। अनेकतामा एकता रहेका थारु समुदाय एक मञ्चमा उभिनुपर्छ। विगतका पट्क पट्कको थारु आन्दोलनले यो देशको सत्ता शासकलाइ पट्क पट्क झुकाएको छ तैपनि यी शासकहरु थारु समुदायप्रति गदारी गर्दै आएका छन्। संविधानमा थारु कलस्टर र थारु आयोगको स्थापना पनि थरुहट आन्दोलनको उपलब्धि नै हो। यद्यपी थारु आयोगलाई शक्तिशाली आयोग नबनाउनु पनि थारु समुदायप्रति धोका नै हो। थरुहट आन्दोलन एकमात्र शक्तिशाली आन्दोलन हो जुन पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म आफ्नो पकड जमाएर बसेको छ।

थरुहट आन्दोलनको दुर्बल पक्ष
थरुहट आन्दोलनको दुर्बल पक्ष नै थारु नेतृत्वकर्ताहरुले स्वयं थारु समुदायका ब्यक्तिहरुलाइ नै आन्दोलनको उद्देश्य, माग मुद्दा सम्झाउन नसक्नु हो। यो आन्दोलले थरुहट तराइमा बसोबास गरेका अन्य समुदायलाई समेट्न नसक्नु पनि एउटा कमजोरी हो। थरुहट आन्दोलनबारे भ्रमहरु फैलाइँदै गर्दा त्यसको खण्ड्न गर्ने मामलमा पनि हामी चुकेका छौँ। कतिपयले आन्दोलनलाई प्रयोगको रुपमा लिए। आन्दोलनको समयमा आन्दोलनको नाममा चन्दा सङ्कलन गर्दै खल्ती भर्ने काम गरे। आन्दोलनको अवसर पारेर कतिपय राजनीति दलका नेताहरु आफ्नो कार्यक्रता बढाउने, पार्टी बिस्तार गर्ने गतिविधि जारी राखे। आन्दोलन गर्दा गर्दै कोही मन्त्री भए भने केही सरकारबाट खल्ती भरेर आन्दोलन टुक्राउने ब्यक्तब्य नदिएका होइनन्। थरुहट आन्दोलन कमजोर हुनुको पाटो स्पष्ट देखिन्छ। थरुहट आन्दोलनको नेतृत्व पंक्ति आफू जिम्मेवारी लिनुभन्दा आफूलाइ कसरी अग्रपंक्तिमा देखाउने होडबाजी जारी राखे। आन्दोलनको घट्कहरुबीच सुदृढ सहकार्यको अवस्था कमजोर रहन गयो।

आन्दोलनको उद्देश्य
विगतका कमिकमजोरी केलाउँदै अबको आन्दोलन उद्देश्य हाम्रो माग मुद्दा प्राप्तिप्रति अटल हुन जरुरी छ। अबको आन्दोलन चन्दा उठाउने, पार्टी बिस्तार गर्नेजस्ता गतिविधि गर्नको लागि होइन, आन्दोलनको उद्देश्य प्राप्तीप्रति केन्द्रीत हुनुपर्छ। आन्दोलनको माग पूरा गराउनलाइ आन्दोलनका घट्कहरुलाइ एकीकृत गर्दै संघीय गठबन्धन, आदिवासी, मधेसी, मुस्लिम, दलित, पीडित शोषित वर्गसमेतसित एक ठाउँमा आएर लड्नुपर्छ।

लेखक थारु विद्यार्थी समाज उपत्यका अध्यक्ष हुन्।

Leave a Reply

Your email address will not be published.