कृष्णराज सर्वहारी
यस आलेखको तस्विरमा भव्य महलको अगाडि सानो झुपडीले जेनतेन सास फेरिरहेको छ। झुपडीको प्राणपखेरु कतिबेला उड्ने हो, थाहा छैन। त्यो बाटो भएर हिंड्ने नौला बटुवाहरूलाई लाग्दो हो, त्यत्रा भव्य महलका मालिकले आफ्नो घर परिसरमा त्यस्तो झुपडी किन पो बनाएका होलान्? एउटा बाख्रा समेत अँट्न मुश्किल पर्ने त्यो झुपडी के प्रयोजनको लागि बनेको होला?
भव्य महल सुदुरपश्चिम साहित्य समाजको हो। नेपाल प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा रहेको उक्त जग्गामा समाजले कार्यालय ठड्याउने अनुमति पाएको हो। त्यो सानो झुपडी भने थारू देउथानको हो। एक दशक अघिसम्म थारू देउथानको नाममा त्यो जग्गा थियो। तर कानुनी प्रकृयाले आफ्नो नाममा नगराइएकोले प्रज्ञा प्रतिष्ठानले आँखा गाड्यो। जबकि देउथानको नाममा थारू समुदायले कति पुस्तादेखि उपयोग गर्दै आएका थिए। आज स्वामित्वबाट बञ्चित हुनु परेको छ। थारूको देउथान हड्पेमा पाप पुन्यको कुरा पनि सोचिएन। देउथान जीर्णीद्वार गर्ने दायित्व पनि हड्पनेवालाहरूले सम्भि्कएनन्। थारू नागरिक समाज, धनगढीका संयोजक दिलबहादुर चौधरीका अनुसार सुदुरपश्चिम साहित्य समाजको कार्यालयको एक कोठा देउथान संचालक समितिलाई निःशुल्क उपलब्ध गराउने भनिए पनि त्यो समेत पाइएको छैन। संयोजक चौधरी भन्छन्‐ देउथानको नाममा आधिकारिक रुपमै केही जग्गा पाउन आशावादी छौं, तर कुनै सुनुवाई भएको छैन।
प्रत्येक थारू गाउँमा सबैलाई पायक पर्ने स्थानमा थारूहरूले देउथान बनाएका हुन्छन्। जुन मन्दिरको शैलीमा नभई थारूहरूको घरकै शैलीमा बनाइएका हुन्छन्। आफ्नो देउथानको लालपूर्जा थारू समुदायले कहीं बनाएका छैनन्। त्यसैले, ती देउथानको धनगढी क्षेत्रको झैं कतिबेला उठीबास हुने हो, ठेगान छैन। पूर्वी क्षेत्रका थारूहरूले गाउँ नजिकको कुनै ठूलो रुखको तल देउथानको क्षेत्र छुट्याउँदै मन्दिर नबनाई खुल्ला ठाउँमा ढुंगा, काठको देउताका प्रतीक बनाएका हुन्छन्। तर ती क्षेत्र पनि अधिकांशतः ऐलानी जग्गामै हुन्छन्। त्यसैले, पश्चिम मात्रै होइन, पूर्वी क्षेत्रका थारू देउथान पनि असुरक्षित छन्।
कैलाली उदासीपुर‐१, नुक्लीपुरका जनता मरुवाको लालपूर्जा लिन पहल गरे। तर झन्झटिलो व्यवस्थाका कारण सकेनन्। मरुवाको लालपूर्जा लिएर मात्रै संरक्षण गर्ने मनसाय बनाएका उनीहरूले लालपूर्जा नपाएपछि संरक्षण गर्ने जाँगर मरेको छ। स्थानीय दिनेश दहित भन्छन्‐ पक्की मरुवा बनाएपछि, मरुवा बनाइएको ठाउँ मेरो हो भनेर कसैले दावी गर्दै भत्काउन आएपछि हामीले के गर्ने भनेर गाउँलेहरूले नमानेका हुन्। कैलाली उदासीपुर‐१, भगतपुरका गाउँलेहरू भने थरुहट तराई पार्टी नेपालको सहयोगमा आफ्नो गाउँको मरुवा पक्की बनाएका छन्।
दाङको सौडियार‐५, राजपुर गाउँमा गाउँको अगुवाई गर्ने महटाँवा (बरघर) को नाममा पहिले पारिश्रमिक स्वरुप राजबास भन्ने छुट्टै १० कट्ठा जग्गा छुट्याइएको थियो। प्रत्येक बर्ष फेरिने बरघरले आलोपालो राजबास जग्गा उपभोग गर्थे। तर गाउँका गैरथारू जमिन्दारले आफ्नो नाममा ऐलानीको रुपमा रहेको राजबास जग्गा पास गराएपछि त्यसको नामोनिशान हराएको छ। गाउँको अगुवाई गर्ने बरघरहरूले पाउँदै आएको सामान्य पारिश्रमिकको बाटो पनि खोसिएको छ। सोही गाउँका शिक्षक माधव चौधरी भन्छन्‐ मुद्धामामिला गरेर लामो समयपछि त्यो जग्गा फिर्ता ल्याउन त सकिन्थ्यो। तर थारू समुदाय मुद्धामामिलामा फँस्न चाँहदैन। ठूला गैरथारू जमिन्दारसंग सोझा थारू गाउँले दुश्मनी मोल्न चाहेनन्।
घोडाघोडी सुदुरपश्चिमकै प्रसिद्द तीर्थस्थल हो। यहाँ थारूहरूले पुर्खौदेखि मार्गशुक्ल पञ्चमीको दिनमा लवांगी पूजा गर्दै आएका छन्। मंसिरमा भित्र्याइएको नयाँ बाली परिवारका सदस्यले खानु अघि देउतालाई चढाइनुलाई लवांगी पूजा भनिन्छ। घोडाघोडी दिग्दर्शन (२०६६, पृ.४७) स्मारिकामा उल्लेख भए अनुसार २०४६ सालमा पूर्व पश्चिम महेन्द्र राजमार्ग निर्माणको सिलसिलामा मन्दिर क्षेत्रको भित्ता कटान गर्दा ठूलो अजिंगर निस्केर डोजरमा आक्रमण गरेको थियो। अजिंगरलाई भगाउन खोज्दा डोजर नै चलेन। पछि थप दुई नयाँ डोजर ल्याएर खन्दा पनि मन्दिर स्थलमा डोजर स्टार्ट नै भएन।
साँडेपानी गाविस, बक्लहियाका डेश्बन्ढ्या थारू गुर्वा पर्नाहा चौधरीले बिशेष पूजापाठ गरी राजमार्ग निर्माण गर्ने ठेकेदारलाई घोडाघोडी क्षेत्रमा मन्दिर बनाउने बाचा बन्धन गराएपछि मात्रै डोजरले काम गरेको थियो। २०५५ सालमा मन्दिर निर्माण त भयो। तर मन्दिरभित्र शिवलिंग स्थापना गरियो। थारू गुर्वाहरूले थारू परम्परा अनुसार पूजा गर्न नपाए अनिष्ट हुने भनेपछि शिवलिंगलाई बाहिर ल्याइयो। त्यहाँको पुरानो मन्दिरमा हाल थारू परम्परागत चलन अनुसार संुगुर, हाँस, कुखुरा, परेवा बलि दिने, जाँड, रक्सी चढाइने चलन त शुरु भएको छ। तर घोडाघोडी क्षेत्रमा जथाभावी हिन्दु मन्दिर निर्माण भएर थारू देउथान ओझेलमा परेको छ। पहिले थारूहरूले यस क्षेत्रको नाम घोडीघोडा भन्ने गरेकोमा नाम पनि बिगारेर घोडाघोडी नगरपालिका नै बनाइएको छ। घोडाघोडी व्यवस्थापन मूल समितिमा पनि गैरथारूहरूकै बाहुल्यता छ।
त्यस्तै, दाङदेउखुरीको रिहार क्षेत्रमा थारू महिला पूजारीले पूजा गर्ने बगार बाबा पुरानो थारू मन्दिर पनि त्यस क्षेत्रमा जथाभावी हिन्दु मन्दिर निर्माण भएर ओझेलमा परेको छ। घरपालुवा पशुपंक्षीको सुस्वास्थ्यको लागि यहाँ अहिले पनि बगार बाबाको पूजाआजा गरिन्छ। बर्षातको समयमा देउखुरी क्षेत्रका अधिकांश गाउँलेहरूले रेहारमा गाईबस्तुलाई रेह (नुनिलो ढुंगा) चटाउन तथा चरिचरनको लागि ल्याउने गरेकोमा स्थानीय सामुदायिक वनले तारबार गरेपछि त्यसबाट समेत बञ्चित भएका छन्।
देउखुरी उपत्यकालाई काम काज गर्न सजिलो वनाउने हिसावले छ प्रगन्नामा विभक्त गरिएको छ। तीमध्ये दुमदुम भवानी, खैरी, जोगिया प्रगन्ना पनि एक हो। थारू भाषामा दुम्ना भन्नाले खेतमा रहने कुलोको मुहानै निरको अग्लो ढिस्कोलाई बुझिन्छ। यस भवानीको स्थापना पनि खेतको सोही दुम्नामा गरिएको थियो र यसै दुम्नाको नामवाट पछि गएर दुमदुम भवानी हुन गएको हो। तर थारूहरूको तीर्थस्थल दुमदुम भवानी मन्दिर क्षेत्रमा प्राथमिक विद्यालय स्थापनाले मन्दिरको सौन्दर्य बिनाश भएको छ। बर्षेनी यस देउथानमा खासगरी डश्या, ढुरिया, लवाँली र गाँधी पूजा गरी चारपटक पूजा गरिन्छ। यस देउथानको ढोका चौवीसै घण्टा खुल्ला राख्ने चलन रहेको छ। यस सम्वन्धमा एउटा चाखलाग्दो सत्य घट्ना रहेको छ। जस अनुसार पूजारीहरूको पूजा गरी सकेपछि ढोका लगाई दिने गर्दथे। तर भोलिपल्ट बिहान जाँदा खुल्ला पाउने गर्र्दथे। यो खवर तात्कालीन प्रगन्नाका प्रधान दान हादुर चौधरीकहाँ पुग्यो। उनी आफै आएर उक्त देउथानको पूजा गरी ठूलो ताल्चा लगाएर भोलिपल्ट हेर्न आउँदा पुनः खोलिएको पाए। त्यसपछि उनैको आदेश अनुुसार हालसम्म उक्त देउथान बर्षैभरि हरेक दिन चौवीसै घण्टा खुल्ला राख्ने गरी आएको छ। खुल्ला ढोकाले गर्दा विद्यार्थी केटाकेटीले शौच आदि गरिदिने, देउता फुटाइदिने गरेका छन्। यसरी विद्यालयलये मन्दिर क्षेत्रको भाग ओगट्दा मन्दिरको अस्तित्वमा खतरामा छ।
उता रुपन्देहीको दुधराक्ष–१ भँडछ गाउँमा मलमल वावा चौरा बाबाको डिउठन्वामा वर्षेनी साउनमा ठूलो पूजा गरी सँगुरको वलि अनिवार्य रुपमा चढाइन्छ। स्थापनाकालदेखि यस डिउठन्वाको पूजारी थारूहरू रही आएको र थारू विधि अनुसार पूजा पाठ भई आएकोमा २०४२ साल देखि गैरहरूले हस्तक्षेप गरेेका छन्। हाल आएर यसको नाम फेरेर मलमला देवी राखेका छन्। बाबालाई देवी नामाकरण गरिनु बिरोधाभास हो। सौराहा जाने बाटोमा पर्ने चितवन जिल्लाको नामाकरणसंग जोडिएको चित्रसेन बाबामा थारू पूजारी छन्। यसको नाममा रहेको जग्गा पनि स्थानीयहरूले कब्जा गरिसकेका छन्। यसरी थारूहरूको ऐतिहासिक देउथान हाल आएर अरूको कव्जामा गइरहेको छ। यसको पुर्ख्यौली नाम बिगारेर थारूहरूको इतिहास पनि नामेट गरिदैछ। यी त केही प्रतिनिधि उदाहरण मात्र हुन्। थारू गाउँका संरक्षणकर्ता देउथान आफै त असुरक्षित छन् भने थारू समुदाय कसरी पो सुरक्षित होला?
लेखक थारू पत्रकार संघ नेपालका अध्यक्ष हुन्