शब्द/तस्बिर : अविनाश चौधरी
‘उहाँहरु पाहुना, लौ-लौ बाटो छेकौं’, हतार-हतारमा महिलाको एक समूहले बाटोमा डोरी तेर्स्यायो। किन बाटो छेकेको आगन्तुकहरुका प्रश्नमा भीडबाट कसैले फर्काए- ‘आज हाम्रो भजहर। १० रुपैया दिनुहोस्। अनिमात्रै बाटो खुल्ला।’ सवारी साधन लिएर बाटो हिँड्ने बटुवाहरु त्यसरी नै फन्दामा पर्दै आफूखुसी रुपैया तिरे।
प्रकृतिको मनोरम दृश्य। त्यहाँ मानिसहरुको चहलपहल पनि। गाउँभरीको भान्सा एकै ठाउँमा भएकाले जताततैबाट आएको खानाको मिठो बास्नाले ठूलै भोज भतेर जस्तो लाग्ने। यो दृश्य हो, कैलालीको रतनपुर स्थित बसन्ता वनमा मनाइएको भजहर पर्वको। वडा नम्बर ४, ८ र ९ भुईयाँफाँटा गाउँबासीले बसन्ता जङ्गलमा बड्का (ठूलो) भजहर पर्व मनाएका हुन।
गाउँमा कुनै किसिमको आपत विपद् नआओस भनेर हरेक वर्ष थारु समुदायले यो पर्व मनाउने गरेको बताइएको छ। भजहर पर्वमा विधि विधान पूर्वक पूजाआजा गरेमा गाउँघरमा रोगव्याधी नलाग्ने, सङ्कट हट्ने जनविश्वास रहेको छ। तर, यस किसिमको विश्वास कतिसम्मको सत्य हो, कसैले भन्न पनि सकेका छैनन्। उनीहरु विश्वास भने गर्दै आएका छन्।
गाउँका गुरुवा रामु चौधरीले रोगव्याधी, संकट निवारण तथा निकासीका लागि भजहर पर्व मनाउने गरेको बताए। उनले भने, ‘यो पर्वमा विशेष पूजा गरिन्छ। भजहर मनाएमा गाउँघरमा संकट आउँदैन।’ बड्का भजहर पर्व सात वा पाँच दिनसम्म गाउँभन्दा बाहिरै बसेर मनाउने चलन रहे पनि हिजोआज परिमार्जन गरेर एक दिन पनि मनाउने गरेको उनले बताए। गुरुवाकै सल्लाहमा भुईयाँफाँटाबासीले पनि एक दिन भजहर पर्व मनाएका हुन।
भजहर पर्व कहिलेदेखि मनाउन थालिएको हो भन्ने बारे यकिन तिथिमिति छैन। तर, पुर्खादेखि नै यो पर्व मनाउने चलन रहेको गुरुवा चौधरीले दाबी गरे।
बड्का भजहर गाउँभन्दा टाढा रहेको जङ्गलमा गएर मनाउने चलन छ। पर्व अवधि भरी घरभन्दा बाहिर खाना पकाएर बाहिरै खाने चलन रहेको स्थानीय सुभागीदेवी चौधरीले बताइन्। उनले यो पर्वमा विभिन्न खेल खेल्ने, नाचगान गर्ने र बाटो छेकेर बटुवासंग निश्चित आर्थिक उठाउने चलन रहेको सुनाइन्। भजहर पर्व अवधिभरी बटुवाहरुबाट लिएको उक्त रकम सामाजिक कार्यमा खर्च गर्ने चलन छ।
भजहरमा गाउँभरीकै भान्सामा मिठा-मिठा परिकार पाक्ने गरेको छ। गुरुवाले विशेष पूजा गरिसकेपछि मात्रै ती परिकार खान पाईन्छ। बरिया, माछा, मासु समेत खाने गरिएको बताइएको छ।
पूर्वजहरुले नै यस्तो पर्व मनाउने रीति बनाएकाले भजहर पर्व मनाउने गरेको भुईयाँफाँटाका भलमन्सा पतिराम चौधरीले बताए। उनले भने, ‘यसमा गरिने नित्यकर्म सबै गुरुवाको सल्लाह अनुसार नै हुने गर्छ। भजहरमा प्राकृतिक पूजा हुन्छ। यो पूजा गरेमा कुनै पनि दैवीय विपत्ती गाउँमा नआउने जनविश्वास छ।’
भजहर पर्व मनाउनुको उद्देश्य जे जस्तो रहे पनि यसले गाउँघरमा एकताको सन्देश भने छरेको छ। एकै आमाका सन्तानले अंश बण्डा गरेर छुट्टाछुट्टै भान्सा बनाउने परिपाटी कायम रहेको थारु समुदायमा भजहरका बेला एकै ठाउँमा खाना पाक्नुले आपसी सम्बन्ध बढ्न गएको छ।
यो पर्वमा आपसी वैमनस्य भुलेर सबै एकै ठाउँमा रमाउने गरेको सरस्वती युवा क्लब भुईयाँफाँटाका अध्यक्ष चेतराम दहितले बताए। उनले भने, ‘यो पर्वमा महिलाहरु छुट्टै र हामी युवाहरुले पनि छुट्टै विभिन्न खेल खेलेर रमाउने गरेका छौं। यसले रमाइलोका साथै मेलमिलापमा सहयोग गरेको छ।’
थारुहरुले चिरै र बड्का गरी दुई किसिमको भजहर पर्व मनाउने गरेका छन्। चिरै भजहर महिला तथा युवतीले मात्रै मनाउने चलन रहेको छ भने बड्का भजहर पर्व महिला, पुरुष सबै मिलेर मनाउने गरेको स्थानीय फूलकुमारी चौधरीले जानकारी दिइन्। यो पर्व पश्चिमका थारुहरुबीच चलन चल्तीमा छ।