‘फोहोरी राजनीति र घुसखोरी कर्मचारीतन्त्रमा आमूल परिवर्तन जरुरी छ’

बर्दियाली थारु विकास मञ्चका अध्यक्ष हुन् सीताराम चौधरी । उनी थारु समाजका निकै सक्रिय युवा हुन् । थारु आन्दोलन, कमलरी आन्दोलन, विद्यार्थी आन्दोललगायत समाजिक कार्यमा उनी सक्रियरुपमा आफ्नो उपस्थिति जनाउँदै आएका छन् । उनै सीताराम थारुसँग गरिएको कुराकानी पढ्नुस्ः

नयाँ संविधानलाई कसरी लिनु भएको छ ?
हामीले बुझ्नैपर्ने कुरा के हो भने नेपाली जनताले यस्तै किसिमको संविधानको परिकल्पना गरेका त होइनन् ? अहिले मैले देखेको नाम मात्रको गणतन्त्र, नाम मात्रको संघीयता, नाम मात्रको धर्म निरपेक्ष, समानुपातिक समावेशीलाई त्यही एक दुई ठाउँमा ठग्ने मनसायले उल्लेख गरेका छन् । त्यसैले यो संविधान विभेदकारी छ । खासगरी उत्पीडनमा परेका जनतालाई विभेद गरेको छ । जनताले अर्थपूर्ण र ब्यवहारिक महसुस हुने संविधान खोजेका हुन् ।

९० प्रतिशत वा भनौं बहुमतले पास गरेको संविधान कसरी विभेदकारी हुन्छ ?
तपाईँले जुन ९० प्रतिशतको कुरा गर्दै हुनुहुन्छ, यो नै मेरो विश्लेषणमा गलत छ । ९० प्रतिशतको जुन नेताहरुले धाक लगाइरााखेका छन् त्यो नै विभेदपूर्ण छ । स्पष्ट छ ९० प्रतिशत जनताको भोटले बनेको संविधान होइन । संविधान सभामा खसेको मत भनेको ६८.३ प्रतिशत हो, त्यस्तै ६९.८ प्रतिशत समानुपातिकमा भोट खस्यो । भनेपछि ३१.७ प्रतिशत लगभग ३२ प्रतिशत नेपाली जनताले भोटै हालेनन् । त्यसमध्ये ३५.१ प्रतिशत जनता निरक्षर छन् जसलाई संविधान सभाको ‘स’ पनि थाहा छैन । २३.९ प्रतिशत नेपाली जनता अझ गरिबीको रेखामूनी छन् जसलाई न संविधानसँग मतलब छ न सरकारसँग । उनीहरुको मतलब भनेको कसरी भोको पेटलाई भर्न सकिन्छ त्यही सबभन्दा ठुलो चिन्ता छ । बाँकी ९ प्रतिशत भनेको चाकरी गर्ने ब्यापारी, ठेकेदार, जागिरे, पार्टीका अन्धभक्त कार्यकर्ताले प्रयोग गरेका हुन् भने यो संविधान कसरी ९० प्रतिशत नेपाली जनताको सहमति मान्ने ? जनताले आफूखुसी स्वतन्त्र आत्मनिर्णयसहितको भोट हालेको देख्दैनन्, यसर्थ यो ९० प्रतिशतको ढोंगी प्रचारबाजी छ । यो नै गलत हो । यदि ९० प्रतिशत जनताको सहमतिमा बनेको संविधान हो भने आधाभन्दा बढी जनता किन सडकमा छन् ? किन आन्दोलन गर्दैछन् ?

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । साँच्चै थारुका माग सरकारले किन सम्बोधन गर्दैन ?
विगतमा गरिएको सहमतिलाई सरकारले पटक पटक लत्याइएको छ । जसका कारण संघर्ष समितिले आन्दोलन गर्न बाध्य भयो । दोस्रो कुरा सरकार सुन्ने र नसुन्ने कुरा खासगरी ३ वटा कुरामा भर पर्छ । पहिलो कुरो आन्दोलनकारीले उठाइएको माग जायज छ कि छैन ? दोस्रो कुरा आन्दोलनकारीलाई जनस्तरबाट कतिको सहयोग छ ? र, अन्तिम भनेको सरकारको नियत कस्तो छ ? यी तीन कुरामा भर पर्छ ।

थारु मधेसी जनताको माग के हो ?
थारु मधेसी जनताको ठूलो चाहाना नै छैन । उनीहरुको चाहना भनेको हामी पनि यो देशको जिम्मेवारी नागरिक हौँ, नेपाली हौँ यसर्थ नेपाली महसुस हुन दिनुस् भन्ने मात्रै हो । एउटै बगैँचाका साझा फुलबारी हौं भने संगै फुल्न दिनुस् भन्ने मात्रै हो ।

थारुहरुको मधेसीसँग कस्तो सहकार्य हो ?
आन्दोलनको क्रममा हाम्रो माग मुद्दा मिल्ने जुनसुकै मोर्चासँग सहकार्य हुन सक्छ । यसर्थ मधेसी मोर्चासँग सहकार्य हुन सक्दैन भन्ने कुरा गलत हो । हामी हाम्रो साझा मुद्दाका लागि संयुक्त रुपमा आन्दोलन गर्दै आएका छौं । ती साझा माग मुद्दाका लागि अगामी दिनमा पनि सहभार्य हुन्छ ।

टिकापुर घटनापछि आन्दोलन एकाएक सेलायो नि ?
हो, घटनापछि टिकापुर क्षेत्र एकदम तनावपूर्ण र कष्टकर बन्यो । राज्य एकपक्षीय ढंगबाट त्यहाँका जनतामाथि दमनमा उत्रयो । मिडिया एकपक्षीय ढंगबाट समाचार सम्प्रेषण भयो । आम जनता उही बुझे जे मिडियामा सुने । हजारौँका संख्यामा त्यहाँका स्थानीय भूमिपुत्र थारुहरु भारततिर विस्थापित भए । निर्दोष जनतालाई जेल थुन्ने, मुद्दा लगाउने, समय समयमा प्रशासनबाट धरपकट गर्ने कार्यले त्यहाँका जनता असुरक्षित महसुस गरिरहेका छन् । यो राज्यको अर्को घटना निम्त्याउने प्रवृत्ति हो । बन्दुकको नालले शान्ति स्थापित हुँदैन, यो राज्यले बुझ्नुपर्छ ।

टिकापुर घटनालाई कसरी विश्लेषण गर्नु हुन्छ ?
टिकापुर घटना दुःखद घटना हो, जुन नघट्नुपर्ने थियो । यो घटनाले नेपाली जनतामाझमा ठूलो प्रश्न खडा गरेको छ । यो घटना घट्नु पछाडिका कारणतिर कसैको ध्यान गएको छैन । तपाईँ हामी अनुसन्धान विश्लेषण गरौं यस्तो अमानवीय घटना किन घट्न पुग्यो ? भकुण्डोमा हावा भर्दै गयो भने के हुन्छ ? टिकापुर घटना पनि यही भकुण्डोसँग जोडिएको छ । यसको प्रमुख दोषी राज्य हो ।

पहिचानविरोधी, आन्दालनविरोधीलाई भौतिक कारबाही गर्न पछि हट्नु हुन्न रे । राजनीतिमा यस्तो चरित्र सुहाउँछ ?
यो प्रश्न अलि मिलेन कि । म नेता होइन, सामाजप्रति उत्तरदायी भएको मान्छे हुँ । अहिले पनि बर्दियाली थारु विकास मञ्चको अध्यक्ष भएर काम गर्दैछु । तर परिस्थिति कहिले काहीँ यस्तो भइदिन्छ कि सामाजिक मद्दा राजनितिक मुद्दासँगै जोडिएर आइदिन्छ । त्यही परिस्थितिअनुसार चलेको मात्रै हो । कोही आफ्नो ब्यक्तिगत स्वार्थको लागि पूरै समाजलाई नोक्सान पु¥याउने काम गर्छ भने त्यसको विरोध हामीले गर्नुपर्छ ।

थारु युवाको अगुवाको रुपमा चिनिनुहुन्छ । थारु युवा र समुदायले तपाईँबाट के अपेक्षा गर्ने ?
हाम्रो समाजले मसँग मात्र आशा रोखेका छैनन्् । अहिलेका सबै जुझारु युवा पिढीहरुसँग ठूलो आशा राखेको छ । हामीले आ आफ्नो ठाउँबाट सकेजति गर्ने हो । अहिलेको युवा वर्गलाई मैले के भन्न चाहन्छु भने तपाईँ आफ्नो जीवनको ५ प्रतिशत मात्र समाजिक कार्यमा समय दिनुस् हाम्रो समाज आफैँ परिवर्तन हुन्छ ।

के भयो भने समग्र नेपालीको जित हुन्छ ?
मैले देखेको यो देशलाई दुइटा तत्वले बिगारेका छन् । एउटा फोहोरी राजनीति र अर्को घुसखोर कर्मचारीतन्त्र । अबको पिढीले यस्ता गलत प्रवृत्तिलाई आमूल परिवर्तन गर्नुपर्छ । दोस्रो कुरा सिंहदरबारका मन्त्रालयहरुमा झुण्ड्याइएको नामावलीलाई जबसम्म तपाईँ हामीले परिवर्तन गर्न सक्दैनौँ, तबसम्म यो देशको राष्ट्रियता अखण्डाता बलियो हुँदैन । राज्य कति विभेदकारी छ, त्यहीबाट स्पष्ट हुन्छ । यसर्थ राज्यले बुझ्नुपर्ने प्रमुख कुरा के हो भने त्यो बोर्डमा भएका नामलाई समावेशी बनाउने कि फेरी उही एकात्मक शासन ब्यवस्था ल्याउने ? उत्पीडनमा परेका जाति वर्ग समुदायलाई राज्यको मूलधारमा ल्याउने कि फेरि बन्दुक बोकाउन बाध्य बनाउने ? यो राज्यको हातमा छ । अब जनता शान्ति चाहन्छन्, विकास चाहन्छन्, अपनत्व र भाइचारा चाहन्छन् । जुन राज्यले बेलैमा बुझ्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published.