हुलाकी राजमार्ग निर्माण समयमै सकाउने सरकारको घोषणा

सरकारले यातायात सेवामा लगानी बढाउँदै सडक, रेल र यातायातको पाँचवर्षे रणनीतिक योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आव २०७३-७४ को सरकारको नीति तथा कार्यक्रममा यस्तो प्राथमिकता दिइएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यही वैशाख ५ गते यो रणनीतिक योजना सार्वजनिक गरेको थियो । जसअन्तर्गत एक लेनमा सञ्चालन भएका सडकलाई दुई लेनमा स्तरोन्नति गरिने कामलाई प्राथमिकता दिइने भएको छ ।

पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–बुटवल खण्डलाई आगामी आवबाट चार लेनको द्रूत मार्ग विस्तार आरम्भ गरिने कार्यक्रममा उल्लेख छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्गलाई कालोपत्रे र पुल निर्माणलाई प्राथमिकतामा पारिएको छ ।

यस्तै हुलाकी राजमार्गलाई तोकिएको समयमा सम्पन्न गरिनेछ । सेती–महाकाली राजमार्गलगायत उत्तरी र दक्षिणी सीमाका व्यापारिक नाकाहरु जोड्ने सडकको शीघ्र निर्माणलाई प्राथमिकता दिइने कार्यक्रमलाई पनि प्राथमिकता दिइने छ ।

काठमाडौँ–निजगढ दु्रतमार्ग आव २०७३-७४ बाट सुरु गरिने भएको छ । उपत्यकाको सडक विस्तारलाई तीव्रता दिइनेछ । ठूला सहरका सडक विस्तारलाई पनि अघि बढाइने भएको छ । अहिलेसम्म सडक सञ्जालले नछोएका डोल्पा र हुम्ला एवम् सडक सञ्जालसँग नजोडिएका प्राविधिक र प्राकृतिक दृष्टिले असम्भव नहुने गाविसमा पनि दुई वर्षभित्रमा सडक पु¥याउने सरकारको लक्ष्य छ ।

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण योजनालाई अघि बढाइने भएको छ । रसुवागढी–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन दुई वर्षमा तयार गरी निर्माण कार्य आरम्भ गरिने महत्वाकांक्षी योजनासमेत कार्यक्रममा उल्लेख छ । किमाथाङ्का, रसुवागढी र अरनिको राजमार्गको स्तरोन्नति गरिने कार्यक्रम चीनसँग सम्झौता भएबमोजिम पारवहन सुविधा प्राप्त गर्न सम्पन्न गरिने भएको छ ।

आगामी आवमा देशभरका तुइनलाई विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिसक्ने कार्यक्रम पनि अघि सारिएको छ । सवारी साधनको नम्बरप्लेटलाई इम्बोस्ड नम्बरमा र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लाई स्मार्टकार्डमा परिवर्तन गर्ने कामलाई पनि प्राथमिकता दिइने छ ।

मध्यपहाडी र हुलाकी राजमार्गमा अप्टिकल फाइबर बिच्छ्याउने काम सुरु गरिनेछ । राष्ट्रिय गौरवका आयोजनाको प्राविधिक परीक्षणको व्यवस्था हुने नीति तथा कार्यक्रममा उल्लेख छ । रासस

Leave a Reply

Your email address will not be published.