बिराटनगरमा सुरु भयो फोरम लोकतान्त्रिक महाधिवेशन

Bijay Kumar Gachhadar

सत्तारुढ फोरम लोकतान्त्रिकको पहिलो महाधिवेशन सोमबार विराटनगरमा सुरु हुँदैछ । बेग्लै पार्टी बनेको साढे ६ वर्षपछि महाधिवेशन हुन लागेको हो । तीन दिने महाधिवेशनले पार्टीको विधान, राजनीतिक र संगठनसम्बन्धी प्रस्ताव तथा नयाँ नेतृत्व चयन गर्ने छ । सबै तयारी पूरा भएको उपप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिए । सहिद मैदानमा उद्घाटन हुने महाधिवेशनको बन्द सत्र जैन भवनमा हुनेछ ।

महाधिवेशनमा देशभरका ४२ भन्दा बढी जिल्लाबाट दुई हजार पाँच सय प्रतिनिधि तथा पाँच सय पर्यवेक्षकको सहभागिता रहने उक्त पार्टीका सांसद पवनकुमार सारडाले बताए ।

महाधिवेशनका एजेन्डा तय गर्न आइतबार दिनभर केन्द्रीय समिति बैठक बसेको थियो । एजेन्डा र प्रस्तावलाई अन्तिम रूप दिन साँझ आठ बजेदेखि फेरि केन्द्रीय समिति बैठक बसेको थियो । महाधिवेशनले पार्टीको विधान पारित गर्नेछ । यस्तै, केन्द्रीय समितिले अन्तिम रूप दिने राजनीतिक र सांगठनिक प्रतिवेदनलाई महाधिवेशनमा प्रस्तुत गरिने उपाध्यक्ष जितेन्द्र देवले बताए । हाल पार्टीको संरचनागत स्वरूपमा केन्द्रीय कार्यालय, राजनीतिक समिति र केन्द्रीय समिति छन् । सयवटा भ्रातृ संगठन रहेको पार्टीले जनाएको छ । वडा, गाउँ र नगर समिति तथा क्षेत्रीय र जिल्ला समिति तल्ला संरचना छन् । महाधिवेशनले पार्टीको संरचनालाई संघीयताको स्वरूपसँग मिल्ने गरी बनाउने जनाइएको छ ।

सांगठनिक स्वरूपअनुसार साधारण सदस्य र सक्रिय सदस्य तल्लो तहमा छन् । हाल ८० हजारभन्दा बढी सक्रिय सदस्य रहेको र उक्त संख्या बढ्ने क्रममा रहेको दाबी उक्त पार्टीको छ । पार्टीलाई राष्ट्रिय स्वरूप दिइने भएपछि विभिन्न पार्टीबाट प्रवेशको संख्या बढेको उपाध्यक्ष मोहम्मद मोसिम सिद्दिकीले बताए ।

मधेसकेन्द्रित दलका रूपमा चिनिएको पार्टीलाई मुलुकका सबै क्षेत्रको प्रतिनिधित्व समेटदै बृहत् रूप दिने उद्देश्यले महाधिवेशनबाट नाम परिवर्तन गर्ने सम्भावना छ । नाम टुंगो भइनसकेको स्रोतले जनायो । अध्यक्ष गच्छदारले आइतबार आयोजित पत्रकार सम्मेलनमा पनि त्यसको संकेत गरे । ‘पार्टीलाई हिमाल, पहाड, मधेस सबै ठाउँमा स्वीकार्य बनाउने गरी नाम राख्ने भन्ने सल्लाह छ,’ उनले भने । परिवर्तन, संशोधन या हालकै नामलाई राखेर अघि बढ्ने भन्ने देशभरका प्रतिनिधिको सल्लाहमा टुंगो लाग्ने गच्छदारले बताए ।

Leave a Reply

Your email address will not be published.