कृष्णराज सर्वहारी
मितिः १८ बैशाख २०७३, शनिवार। समयः करीब बिहान ९ बजे। अनुसन्धानको गहिराईमा घोत्लिएको थिएँ। एउटा फोनले डिस्टर्ब गर्यो‐ हेलो अंकल, म लक्ष्मण थारुको छोरा। बुवाको किताब २० थान बीर अस्पतालमा ल्याइदिनुपर्यो। उहाँ यहाँ भर्ना हुनु भएको छ ।
रुघाले थलिएको म कहीं निस्किने मुडमा थिइनँ। तर लक्ष्मण थारुलाई भेटको बेवास्ता गर्न मेरो मनले मानेन। किनकी केन्द्रिय कारागारमा भेट्न उनलाई केही गाह्रो छ। म नेता लक्ष्मण थारुलाई होइन कि लेखक लक्ष्मण थारुलाई भेट्न निस्किएँ। २०७२ माघीको अवसरमा प्रकाशित उनको पुस्तक सेक्स, युद्ध र जेल अहिले चर्चामा छ, जुन यो पंक्तिकारले सम्पादन गरेको थियो। जेल बसाईमा उनले मकहाँ अर्को पुस्तकको पाण्डुलिपि पनि पठाइसकेका छन्।
लक्ष्मणले माँगे जतिको किताब मकहाँ नभएकोले बेच्न दिइएको भिजन बुक्स, बागबजारको चक्कर काटें। पसले बाहिर गएका रहेछन्। माँगे जतिको किताब पसलमा पनि थिएन। उनले गोदामबाट किताब ल्याउन एक घण्टाको समय सीमा माँगे। त्यो समयको परिपूर्तिको लागि बागबजारस्थित होटल हार्दिकतिर लागें, जहाँ नेपाली लेखक संघको छैठौ अधिवेशन चलिरहेको थियो। प्रदेश प्रदेशका लेखक निर्विरोध हुने कसरत गर्दै थिए। मलाई कसैका लागि भोट माँग्नु पनि थिएन। त्यसैले, कार्यक्रममा धेरै समय अलमल गरिनँ। सेक्स, युद्ध र जेल किताब हातमा परेपछि बागबजारबाट बीर अस्पतालतिर लागें।
बीर अस्पतालको पेइङ मेडिकल वार्ड, बेड नं १०, जहाँ लक्ष्मण थारुको दुबै गोडामा तथा बाँया हातमा हतकडी लगाइएको थियो। दाँया हातले कुनै किताब अड्याएर सुतेरै लक्ष्मण पढ्नमा निमग्न थिए। मेरो उपस्थितिपछि किताब थन्क्याएर वार्तालापमा लागे। उनी पेट दुख्ने, टाउको दुख्ने समस्याबाट ग्रस्त छन्। मृगौलामा केही खराबी भएको हो कि भन्ने शंका छ। चेकजाँच जारी छ। जेलमा बसेर पनि उनलाई पार्टीको धेरै चिन्ता छ। नहोस् पनि कसरी। उनी सम्बद्ध दल मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) को अधिवेशन यही बैशाख १९ देखि २१ गतेसम्म बिराटनगरमा हुँदैछ। उनी पार्टीको राजनीतिक समितिका सदस्य समेत छन्। मधेशी शव्दले पार्टी संकुचित भएकोले पार्टीको नाम फेर्नुपर्ने प्रस्ताव सर्वप्रथम लक्ष्मण थारुले नै ल्याएका थिए। त्यसबेला पार्टीको नाम फेरिए धेरैले पार्टी छाड्न सक्ने भएकाले नाम यथावत राख्नुपर्ने भनेर कोकोहोलो मच्चिएको थियो। अहिलेको अधिवेशनबाट पार्टीको नाम फेरिदैछ। विडम्वना, जसको बिहे उसैले देख्न नपाई भनेझैं कारागारमा कैद लक्ष्मण थारुले अधिवेशनमा उपस्थिति जनाउन पाएनन्। उनले सहकर्मीलाई मंजुरीनामा दिएर महासचिवमा लड्ने मनस्थिति बनाएको सुनाए। केन्द्रिय सदस्य भएकोले उनी स्वतः महाधिवेशन प्रतिनिधि हुन्। निर्वाचन समितिले स्वीकारेमा महासचिव उम्मेद्वार हुन सक्छन्। हारजीत अर्को पाटो हो।
माघ २६ गते धनगढी कारागारबाट केन्द्रिय कारागार, सुन्धारा सारिएका लक्ष्मण थारुलाई सबैभन्दा बढी दुःख लागेको छ, आफ्नै पार्टीका केन्द्रिय पदाधिकारी भेटघाट गर्न नआएकोमा। धनगढीमा पार्टीका केन्द्रिय पदाधिकारीलाई भेट गर्न जान गाह्रो हुनु स्वाभाविकै हो। तर काठमाडौमा थुप्रिएका नेताहरुलाई एकछिन कारागार भेट गर्न जाँदामा केही बिग्रिने होइन। जसले पार्टीपंक्तिलाई पहाडसम्म उकाले। कैलाली, कंचनपुरमा पार्टीको खाम्बो गाडे। उनैलाई पार्टीले दुःखको बेला नहेर्नु कत्तिको विडम्वना। टीकापुरको घटना सरकारबाट सम्बोधन गर्नु साटो झनझन मुद्धाको गाँठो कसिदै छ। बाह्रैमास सरकारमा रहने मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का केन्द्रिय अध्यक्ष बिजयकुमार गच्छदारले केही समय पहिले टीकापुरको घटनाका कैदीहरुलाई कारागारमै सम्बोधन गर्दै भनेका थिए‐ तपाईहरु निर्दोष हुनुहुन्छ, नआत्तिनुहोला, तपाई राजनीतिक बन्दीहरु चाँडै छुट्नुहुन्छ।
तर गच्छदारको सम्बोधन भूइमा खस्न नपाउँदै टीकापुर घटनामा मुछिएका थप बन्दीहरु गिरफ्तार गरिए। तर गिरफ्तारीपछि गच्छदारको थप सम्बोधन आएन। शायद उनले देखावटी बोलेका थिए कि? होइन भने उनको बोली उनी सरकारमै रहेका गृहमंत्रीले धोती लगाइदिदा किन चुपचाप? यसैगरी टीकापुर घटनाको नाममा कार्यकर्ता गिरफ्तार गरिए आफूले सरकार छाड्ने सम्मको चेतावनी उनले किन दिन सकेनन्? गच्छदारलाई कुर्सी प्यारो छ। र, त कार्यकर्ता असुरक्षित भए पनि कुर्सी छाड्ने चेतावनी दिन सक्दैनन्।
करीब डेढ घण्टाको भेटघाटमा लक्ष्मण एकपल्ट शौचालय गए। उनको खुट्टाको नेल खोलियो। हातको हतकडी खोलेर सिक्रीले बाँधिएको अवस्थामा प्रहरीले डोर्याउँदै शौचालय लगेर ल्याए। एकछिन साथीसंग कुरा गर्छु खुट्टाको नेल नलाउनुस् भन्दा पनि प्रहरीले नसुनेझैं गरे। त्यस्तो अवस्थामा म त्यहाँ धेरैबेर अडिन सक्ने मनस्थिति बनाउन सकिनँ।