सीएन थारु
अन्नपूर्ण पोष्टमा बामदेव गौतमको विचारमूलक लेख छाप्याे। उक्त लेखमा बामदेवको निष्कर्ष हो– नेपाल एउटा राज्य हो र नेपाल एकल राष्ट्र हो । त्यसैले नेपाल विगतमा पनि बहुलराष्ट्र थिएन र भविष्यमा पनि हुनेछैन । त्यसलाई प्रमाणित गर्न उहाँले पृथ्वीनारायण शाहको नेपाल एकीकरणलाई राष्ट्र निर्माणको अभियान बुझेको देखिन्छ । नेपालको इतिहासमा पनि त्यही कुरो आजसम्म पढाउँदै आएकाले यस्तो सोच्नु बामदेवजी, आफैंमा गलत होइन । यस प्रकारले भ्रममा परेका नेपालीहरु अन्गिन्ती छन् ।
नेपाल राज्य हो । नेपाल राष्ट्र पनि हो । यो तर्कमा सबै सहमत भएको भन्ने स्थिति अहिले देखिँदैन । नेपाल राज्य भएको राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा सबैले स्वीकार गरिसके । तत्काल यसको विकल्प कसैले खोजेको पक्कै होइन तर नेपाल राष्ट्र पनि हो भन्ने विषयमा असहमति छन् । असहमति जाहेर गर्नेमा स्वयम् विपी कोइरालादेखि पुष्पकमल दाहालसम्म छन् । थारु र मधेसी आन्दोलनकारीले त यसलाई बकबास नै मानेको छ । आन्दोलन उठ्नुभन्दा अगाडिदेखि नै मेरो लगातार बहसमा उठाएको विषयमध्ये यो पनि थियो कि नेपाल वस्तुगतरुपमा नै बहुल राष्ट्रिय राज्य भएकाले यसलाई बहुल राष्ट्रिय राज्य नेपाल परिभाषित गर्नु आवश्यक छ । यसबारे मेरो आफ्नै बुझाइ रहिआएको छ ।
पुष्पकमल दाहालको मत
पुष्पकमल दाहालले तत्कालीन नेकपा (माओवादी)को तेस्रो विस्तारित बैठकमा दस्तावेज प्रस्तुत गर्दा यसरी त्यहाँ उल्लेख गर्नुभयो– ‘ऐतिहासिक भौतिकवादी ढङ्गले हेर्दा नेपालको इतिहासमा के कुरा सजिलै देख्न सकिन्छ भने नेपाली जनता आफ्नो अस्तित्व र विकासका लागि हजारौं वर्षदेखि नै प्राकृतिक कठिनाई एवम् विविध रुपका मानव निर्मित समस्यासँग विविध ढङ्गले संघर्ष गर्दै आएका छन् । आफ्नो प्राकृतिक अर्थतन्त्र एवम् कविलाई संस्कृतिसहित स्वतन्त्रतापूर्वक पहाडका विकट भीरपाखा, पखेरामा जीवनका निमित्त प्रकृतिसँग संघर्ष गरिरहेका सोझा र सरल जाति एकातिर तथा अर्कोतिर पटक–पटक गरी मुख्यतः करिब १००० वर्ष अगाडि उच्च उत्पादन प्रविधि एवम् युद्धकौशलसहित दक्षिणतिरबाट मुस्लिमसँगको लाडाईँमा पराजित भएर यस पहाडी प्रदेशमा प्रवेश गरेका हिन्दू धर्मवालम्बी जातिबीचको अन्तरसंघर्ष र अन्तरघुलनको प्रकृयामा नै आधुनिक नेपालको विकास भएको छ ।” यो विश्लेषणले सटीक ढङ्गले पर्वते राष्ट्रवादको निर्माणसम्बन्धी प्रमाण उजागर गरेको पाइन्छ । पहाडका जनताहरु संघर्षमा हारेको देखिँदैन भन्ने प्रमाण हो किनकि अन्तरघुलन त्यतिबेला सहज बन्छ जब अलग अलग स्वतन्त्र जातिहरुबीच सम्झौतामा संघर्षको अन्त्य हुन्छ । तर थारु समथर भूभागको बासिन्दा भएकाले उनीहरुसँग अन्तरघुलनभन्दा पनि जबरजस्ती बोकाइआएको राष्ट्रियता हो नेपाली राष्ट्रियता । उनीहरुलाई औपनिवेशीकरण गरिएको विषय नै प्रधान देखिन्छ । त्यस्तै समथर भूभागका अन्य मधेसी राष्ट्रियताप्रति समेत हुन पुग्यो । के थारु नेपाल राज्य बन्नुभन्दा अगाडिका राष्ट्र होइनन् ? यसको निर्णय शासक वर्गले दिने होइन स्वयम् थारुले दिने निर्णय हो ।
विपी कोइरालको मत
पृथ्वीनारायण शाहको राज्य विस्तारलाई उहाँले राष्ट्र एकीकरण मान्नु भएन । पृथ्वीनारायण शाह विजेताको मनोविज्ञानले सैनिक बलमार्फत यहाँका स्वतन्त्र राज्यहरुलाई जितेकाले उनीहरुले भूगोललाई मात्र महत्व दिए । जब सुगौली सन्धि सन् १८१६मा सम्पन्न भयो । त्यसपछि मात्र यहाँ अन्तर्राष्ट्रिय सीमा निर्धारण भयो तर दरबारियाहरुको शक्ति संघर्षमा जनताहरुको मौलिक अधिकारको कुनै महत्व नै राखिएन । त्यसकारण २००७ सालको राज्य क्रान्तिले राष्ट्रनिर्माणको ढोका खोलेको विपी कोइरालाले २०२९ साल तरुण अंक २ मा प्रकाशित आफ्ना लेखमा विश्लेषण गर्नुभएको छ । उहाँले राष्ट्रको मूल आधार जनता नै हो र जनताको अधिकार खोसेर राजा महेन्द्रले राष्ट्रवादको खोल आढेको कुरा विस्तारपूर्वक त्यो लेखमा प्रस्तुत गर्नुभएको छ । शायद त्यो लेखको महत्व बुझेर नै इसमता जस्तो अनलाइनले साभार गरेको हुनुपर्छ । त्यसकारण बामदेवको लेखमार्फत् उजागर गर्न खोजेका तर्कहरु विपीकोइरालाको सटिक विश्लेषण अगाडि फिक्का देखिन्छन् । अहिले पनि नेपाललाई राष्ट्र निर्माणको प्रक्रियामा अगाडि बढ्न ब्राह्मणवाद हावी देखिएको छ र कुतर्कहरुको खेती गर्दै भ्रम छर्ने काममा कथित विद्वता प्रदर्शन गर्ने गरेको छ ।
मानवशास्त्री डम्बर चेम्जोङको मत
उहाँले राष्ट्रलाई अधिराज्यात्मकताको आधारमा हेर्नुपर्ने जोड दिनुहुन्छ । उहाँका अनुसार नेपाल राज्य हो, देश हो तर राष्ट्र होइन । भाषा, संस्कृति, विशिष्ट जीवनपद्धति, रीतिस्थिति, पूर्खाहरुको विरासतमा राष्ट्र ज्युँदो रहन्छ भने देशको प्रशासन, सुशासनको संयन्त्रमा राज्य जीवन्त रहन्छ । त्यसैले नेपालमा राष्ट्र र पहिचान शब्दको दुरुपयोग गर्दै भ्रम छरिएको छ । खस आर्य र सनातन धर्मजस्तो सामूहिक हिन्दू पहिचानको सर्वाधिक उदात्त पहिचानलाई वर्तमान संविधानमा समावेश गरिएको छ । राज्य संरक्षित भाषा, धर्म, संस्कृति भएका जनसमुदायहरुका लागि एकल राष्ट्रिय राज्य पनि मुक्तिकामी र प्रगतिशिल हुने नै भयो तर राज्य संरक्षित राष्ट्रिय भाषा, संस्कृतिभन्दा फरक जनताहरु अर्थात् पराई जातिको लागि त्यही राज्य औपनिवेशिक ठहरिन्छ । मधेसी एउटा सशक्त राष्ट्र भएको महन्थ ठाकुरको दाबीलाई डम्बर चेम्जोङले समर्थन गर्दै यो लेख नयाँ पत्रिकामा छपाउनु भएको रहेछ । यसको आशय पनि नेपाल बहुलराष्ट्र राज्य नै रहेको मान्यतालाई स्वीकार गरेको हो ।
अन्त्यमा, बामदेवजी स्टालिनको राष्ट्रको परिभाषालाई आधार बनाएर जे तर्क गर्न अग्रसर हुनु भयो त्यसमा पनि उपरोक्त तीन विद्वानहरुको मतको आधारमा हेर्दा नेपाल राज्य बन्नुभन्दा अगाडि यहाँ स्वतन्त्र राज्यहरु भौगोलिकरुपमा रहेको र पृथ्वी नारायण शाहले त लिम्बुवानसँग १८३१ सालमा सम्झौता गरिकन नेपालमा मिलाएको प्रमाणलाई समेत नजर अन्दाज गर्दै महेन्द्रले मुलुकी ऐन २०२१ सालमा संशोधन गरेको विषयलाई राष्ट्रियता सबल पार्ने कदमको रुपमा लिँदा भन्न सकिने आधार देखियो कि बामदेवजी महेन्द्रको अन्धराष्ट्रवादी मान्यताभन्दा पर पुग्न सक्नु भएन । यसबारे विपी कोइरालाको मतले स्पष्ट गरिसकेको छ । अहिले थारुलाई राज्यविहीन राष्ट्र बनाइएको छ र संविधानले थारुको रक्षा गर्नसक्ने ल्याकत राख्दैन । थारु उपरको औपनिवेशिक नीति अब थप सशक्त बनाउने संकेतको रुपमा बामदेवजी निष्कर्ष निकाल्न भएको छ ।
मेरो तर्क त अर्को पनि छ । सनातन वैदिक धर्म र संस्कृतिको ज्ञान निर्माणमा गैर आर्य थारुहरुको पनि योगदान छ । तन्त्र, सिद्धी लगायत टुनासम्बन्धी ज्ञान वेदले अंगीकार गरेर मात्र समृद्ध भएको हो । मात्र तर्कको बलमा उनीहरुले ज्ञानको तहमा जस्तो समृद्धि निर्माण गर्नु भएको होइन । यसले ज्ञान निर्माणमा हाम्रो योगदानको हिस्सा जति छ, त्यो हाम्रो साझेदारीको दावी पनि हो । त्यसैले ज्ञान मिमांशामा प्रत्यक्ष अथवा परोक्ष साझेदारी हुनुको अर्थ त्यसको जगमा निर्माण भएको नेपाल राज्यमा समेत थारु राष्ट्रियताको अलग राजनीतिक इकाइको आधारमा साझेदारी हुनु परेको छ । अब यहाँका शासक वर्ग पन्छेर भाग्ने ठाउँ छैन र यसैको लागि राजनीतिक सम्झौता नयाँ ढङ्गले गर्न जरुरी छ । हामी यसको लागि तयार छौं तर यो पनि स्वीकार गर्ने ठाउँ पाइएन भने विद्रोह गर्ने प्राकृतिक अधिकार सुरक्षित छ । त्यसबखत राज्यले चाहे विखण्डनकारी भनोस् कि सम्प्रदायिक भनोस् अथवा राष्ट्रदोही हामी प्रतिरोध गरेर आउनेछौं । बामदेवजी त्यस दिन आफ्नो निष्कर्षमा पुनःविचार गर्नुहुनेछ अथवा हामी नयाँ बाटो तय गरिसकेको हुनेछौं । कोशी र कर्णालीमा त्यसबखत निकै पानी बगी सकेको हुनेछ र हाम्रो आँखाको पानी आँसुको रुपमा बग्ने छैन ।