अबको आन्दोलनले जनतालाई सास्ती हुँदैन : संघीय गठबन्धन

photo madheshiसरकारलाई दवाव दिन आन्दोलनको घोषणा गर्ने तयारीमा रहेको संघीय गठबन्धनले जनतालाई सास्ती नदिने कार्यक्रम गर्ने भएको छ। गठबन्धनको बुधबार बसेको बैठकले आन्दोलका कार्यक्रमलाई अन्तिम रुप दिएपनि सार्वजनिक भने गरेको छैन।
‘बैठकले आन्दोलनका कार्यक्रमलाई अन्तिम रुप दिएको छ,’ सदभावना पार्टीका महासचिव मनिष सुमनले भने ‘भोलि (बिहीबार) बस्ने गठबन्धनको बैठकले कार्यक्रम सार्वजनिक गर्छ।’

वैशाख दोस्रो हप्तादेखि सुरु हुने आन्दोलन जनतालाई सास्ती नहुने प्रकारका रहेको नेताहरुले बताएका छन्।

मंगलबार बसेको बैठकले बुधबार कार्यक्रम सार्वजनिक गर्ने बताएको थियो तर, आज बसेको बैठकले पनि कार्यक्रम सार्वजनिक गर्न सकेन।

‘आजको बैठकमा सहभागीहरुले आन्दोलनका विषमया आ–आफ्नो सुझाव दिनु भएको छ’, गठबन्धनका नेता एवं तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले भने, ‘नेताहरुबाट प्राप्त सुझावलाई भोलि बस्ने बैठकले अन्तिम रुप दिनेछ।’

बैठकमा नेताहरुले विगतमा तराई केन्द्रित आन्दोलन गर्दा तराईका जनताले दुःख पाएको र त्यसले काठमाडौंलाई सोँचेजस्तो प्रभाव नपारेको भन्दै अबको आन्दोलन काठमाडौं केन्द्रित गर्नुपर्ने बताएका थिए। मधेस केन्द्रित कतिपय दलले भने ७५ वटै जिल्लामा आन्दोलन सुरु गर्नुपर्ने प्रस्ताव राखेका थिए।

बिहीबार बस्ने गबठन्धनले भावी आन्दोलनका कार्यक्रम घोषणा गर्ने संभावना रहेको एक नेताले बताए। पहिलो चरणमा जनजागरणका कार्यक्रम गर्ने र जेठको पहिलो साताबाट दबाब मुलक कार्यक्रम संचालन गर्न गठबन्धनको सचिवालयले शीर्ष नेतालाई सुझाव दिइसकेको छ। सबैको भावना समेटेर आन्दोलनका कार्यक्रम घोषणा हुने नेताहरुले बताएका छन्। गठबन्धनमा विभिन्न २५ दल सहभागी छन्।

Leave a Reply

Your email address will not be published.