थरुहट आन्दोलन कमजोर हुनुका आठ कारण [विचार]

Sitaram Chaudharyसिताराम थारु

अहिलेको नयाँ संविधानमा थारु, मधेसी जनजाति दलित, मुश्लिमहरुको अधिकार नयाँ संविधानमा नसमेटिएको कारणले गर्दा महिनौंदेखि थरुहटबासीहरु आन्दोलनमा थिए। यसरी महिनौं दिन बितिसक्दा पनि राज्यले थारुहरुको आन्दोलन बेवास्ता गर्दै गयो। बरु झुस्स सुर्खेत र बाग्लुङ्गमा भएको आन्दोलन समर्थन गर्दै नयाँ संविधानमा उनीहरुको मुद्दालाई उल्लेख गरियो। तर ‘थारुहरुको माग जायज छ’ भन्दाभन्दै बेवास्ता गरिँदै लगियो। जब टिकापुरको घटना घट्यो त्यसपछि थरुहट आन्दोलन एकाएक चर्चामा आयो। राज्यले एक पक्षीय थारुलाई दोषी देखाई थारुमाथि उग्र दमनमा उत्र्यो, थरुहट विरोधीहरु आन्दोलनलाई कसरी तुहाउने भन्ने खेलमा लागे। यसरी विभिन्न कारणले गर्दा थरुहट आन्दोलन दिनानुदिन कमजोर हुँदै गयो।

थरुहट आन्दोलन कमजोर हुनुका कारण

योजनाविहीन नेतृत्व

२०७२ को थरुहट आन्दोलन केन्द्रमा योजनामा भएको आन्दोलन थिएन। केन्द्रले थरुहट/थारुवान संयुक्त संर्घष समिति गठन गर्नुभन्दा पहिल्यै कैलालीमा थरुहट/थारुवान संयुक्त संर्घष समिति गठन गरी आन्दोलनमा होमिसकेका थिए। तर पछि ब्यापक जनता र थारु युवा विद्यार्थीहरुको दबाबका कारण जबरजस केन्द्रमा थरुहट/थारुवान संयुक्त संर्घष समिति गठन गर्न बाध्य भए। आन्दोलन गर्नुपर्छ भन्ने सोच सबैमा थियो तर आन्दोलन कसरी लैजाने? कसरी सशक्त बनाउने? आन्दोलनलाई कसरी सेफ ल्यान्डिङ गर्ने? त्यो योजना बनाउने र सोच्ने कसैलाई फुर्सद भएन। पहिला पहिला हाम्रा पुर्खाले भन्थे- ‘धेरै विरालो भयो भने मुसा मार्न सक्दैनन्’ आज थरुहट/थारुवान संयुक्त संर्घष समितिभित्र जबर्जस ४ वटा संयोजक त बनाइयो तर चारैवटा संयोजक एक अर्काको मुख ताक्दैमा दिन बित्यो। समयमा बैठक बसी ठोस योजना बनाउन नसकेको कारणले गर्दा आन्दोलन भाड्ने तत्वहरु खेल्ने मौका पाए र आन्दोलनलाई कमजोर बनाउँदै लगे।

चेतनाको अभाव

थरुहट आन्दोलन कमजोर हुनु भनेको अर्को कारण चेतनाको अभाव हो। धेरै जसो आन्दोलनकारीलाई आफू आन्दोलनमा सहभागी भएको कारण नै थाहा हुँदैन। कसैको उस्काहट वा कसैको लैलहैमा लागेर आन्दोलनमा सहभागी हुन्छन् तर आफू कुन उद्देश्यले आन्दोलनमा सहभागी भए आफैँसँग जवाफ छैन। अझसम्म नेतृत्व वर्गले गाउँ गाउँमा थरुहट आन्दोलन गर्नुको उद्देश्य जनतामाझ पुर्‍याउन सकेका छैनन् जसले गर्दा थरुहट पक्षधर आन्दोलनकारीहरुले वैचारिक प्रतिवाद गर्न एकदमै कठिन भैरहेको छ। जबसम्म आन्दोलनकारीलाई थरुहट आन्दोलनबारे चेतना हुँदैन तबसम्म उनीहरुलाई भित्रि मनदेखि आन्दोलन गर्न जोस आउँदैन।

असुरक्षित महसुश

भादौ ७ गते जब टिकापुरको घटना घट्यो। थरुहट आन्दोलन एकाएक चर्चामा आयो। राज्य एकलौटी एकपक्षीय ढंगबाट त्यहाँका थारुलाई छानीछानी उग्र दमन गर्नमा उत्र्यो। तर विडम्बना हाम्रा थारु नेताहरु एकमत भएर लड्न सकेनन्। हाम्रा थारु अगुवाहरु जिम्मेवारीबाट भागिएकाले त्यहाँका सर्वसाधारण थारुले निक्कै पीडा भोग्नु पर्‍यो। त्यस क्षेत्रका थारुहरु हजारौंको संख्यामा भारततिर विस्थापित भए। धेरै थारुहरु जेल परे र अझ यो दमन रोकिएको छैन। विस्थापित घर आउन सकेका छैनन्। घाइतेहरु औषधी उपचार गराउन सकेको छैनन्। कर्फ्यूको समयमा अखण्ड पक्षधरले राज्यको आडमा थारुको घर छानीछानी जलाइयो तर राज्य मौन भएर बस्यो/बसेको छ। पीडितहरुले क्षतिपूर्ति पाउन सकेका छैनन्। आज केही अवसरवादीहरुले आन्दोलनकारीलाई बन्धकीमा राखेर सत्तामा बसिरेहेका छन्। कायर भएर कोही मुसाजस्तै दुलोमा पसेका छन् अनि कोही ब्यक्तिगत स्वार्थमा भौँतारिरहेका छन्। जनता आफ्नै नेतृत्वबाट असुरक्षित महसुस गर्दैछन्। यिनै कारणले थरुहट आन्दोलन कमजोर बन्दैछ।

बाहुनबादी चिन्तन

बाहुनवादी भन्नाले मानिसको निरंकुश प्रवृत्ति हो। जुन हरेक जातिभित्र विद्यमान हुन्छ। हाम्रा थारु समाजमा पनि बाहुनवादी चिन्तन मानसिकताले ग्रस्त भएका ब्यक्तिहरु छन्। जो सोझा जनतालाई प्रयोग गरेर आफ्नो सिँढी बनाउँछन्। जब उनीहरु सत्तामा पुग्छन् त्यसपछि आफनै समाजलाई बिर्सन थाल्छन्। आफ्नै समाज, संस्कृति र पहिचानका मुद्दालाई बिर्सिँदै आफूलाई त्यस समाज र जनताभन्दा फरक महसुस गर्न थाल्छन्। जनतासँग आत्मीयता बढाउनुको साटो दूरीको बिज रोप्न थाल्छन्। समाजको विकासभन्दा ब्यक्तिगत विकास कसरी गर्ने? यो समाजलाई कसरी मुठ्ठीमा पारिराख्ने? कसरी सत्तामा टिकिराख्ने? मात्रै सोच्ने गर्छन्। जुन समाजको लागि दुर्भाग्य हुन जान्छ। आज यस्तै चरित्र र प्रवृत्ति भएको ब्यक्तिहरुले गर्दा थरुहट आन्दोलन दिनप्रतिदिन कमजोर बन्दैछ।

आर्थिक कमजोरी

थरुहट आन्दोलन कमजोर हुनको अर्को कारण आर्थिक पाटो पनि हो। आन्दोलन गर्दा कहाँ कतिखेर के हुन्छ कसैलाई थाहा हुँदैन। यो देशको दुर्भाग्य भनौँ शान्तिपूर्ण आन्दोलनलाई आन्दोलन नदेख्ने यहाँका शासकले उत्पीडनमा परेका गरिब जनतालाई बल प्रयोग गरी आन्दोलनकारीलाई घाइते बनाउनेदेखि ज्यान लिनेसम्म काम गर्छन्। यसरी आन्दोलनमा हजारौंको संख्यामा आन्दोलनकारीहरु घाइते हुने, अपाङ्ग हुने, औषधि उपचार नपाएर मृत्यु हुने, जेल भोग्नुपर्ने हुन्छ। आज यसको एकल बोझ उही आन्दोलनकारीहरुको परिवारहरुले मात्र भोगत्नु परिरहेको छ। यसरी राज्य र आफ्नै नेतृत्वकर्ताबाट ठगिएका आन्दोलनकारी आर्थिक र मानसिकरुपमा एकदमै कमजोर भए। आन्दोलनकारीहरु कमजोर हुनु भनेको थरुहट आन्दोलन कमजोर हुनु हो।

नेतृत्व स्वीकार्न सकस

हाम्रा थारुहरुमा सबभन्दा ठूलो कमजोरी भनेको थारुले थारुको नेतृत्व पचाउन नसक्नु नै हो। थारुको पीडा एउटै छ, मुद्दा एजेण्डा एउटै छ तर हिँड्ने बाटो यति फरक छ कि उनीहरु आफ्नै बाटोमा हिँड्दा हिँड्दै गन्तब्य नपुगी बिलाउँछन्। एउटा थारु नेताले सही एजेण्डा उठाउँदा अर्को थारु नेतालाई अपच भैरहेको हुन्छ। गिराउन पछार्न खेलमा लागि हाल्छन्। एउटा गैर थारुले थारुको मुद्दा उठायो भने ऊ क्रान्तिकारी। तर उही मुद्दा थारु नेताले उठायो भने विखण्डनकारी। गलत वा सही के हो जजमेन्ट हामी जनताले पनि छुट्याउन सक्नुपर्छ। यसरी जानीजानी थारुले थारुको खुट्टा तान्ने प्रवृतिले गर्दा थरुहट आन्दोलनमा ठूलो असर परेको हो।

पार्टीभन्दा माथि उठ्नै गाह्रो

थरुहट आन्दोलन कमजोर हुनुको अर्को कारण थारु नेताहरु पार्टीभन्दा माथि उठ्न नसक्नु नै हो। हाम्रा थारु नेताहरु पार्टीको लागिमात्र नेता भए, जातिको लागि नेता भएको देखिएन। पार्टीको अन्धभक्त भएको कारणले गर्दा अहिलेको नयाँ संविधानमा आफ्नो जाति, वर्ग समुदायको लागि कुनै किसिमको महत्वपूर्ण भूमिका खेल्न सकेनन्। पहिलो संविधान सभामा आदिवासी जनजातिहरुको लागि ककस बनाएका थिए। जुन संविधान निर्माण प्रक्रियामा एकदमै महत्वपूर्ण भूमिका खेलेको थियो। तर दोस्रो संविधानसभामा शासकहरुले ककस जन्मिन नदिँदै कुल्ची दिए। अर्कोतिर थारु सभासदहरु बल्लतल्ल थारु ककस बनाए तर विडम्बना सभासदको छर्की उही शासक नेताहरुको हातमा भएकाले प्रभावकारी भूमिका खेल्न दिएनन्। हाम्रा थारु नेताहरुको पार्टीमा झोलबोक्वा मात्रै हैसियत भएकाले गर्दा थरुहट आन्दोलनले उठाएको असली मुद्दालाई पन्छाएर पार्टीको गुलामी गर्नमा लागे। जुन थरुहट आन्दोलनको लागि दूर्भाग्य हुन पुग्यो।

जनताको दबाब पुगेन

थरुहट आन्दोलन कमजोर हुनु भनेको अर्को कारण जनताको कमजोर दबाब हो। नेताहरुको मनमानी र जनताहरुको एकबोली हुन नसकेकाले आज कोही कुर्सीमा लिप्त भए, कोही पार्टी खोल्नमा लागे, कोही ब्यक्तिगत स्वार्थमा लागे भने कोही डरले मुसाजस्तै दुलोभित्र पसे। यसरी नेताहरु छिन्न भिन्न भएको देख्दा जनतामा विश्वास घट्दै गयो। नेताहरु विभाजित भएको कारणले गर्दा नेताका कार्यकर्ताहरु पनि विभाजित हुन पुगे। विभाजित भएको कारणले गर्दा थारु नेताहरुलाई झकझकाउने, दबाब दिने जनता नै भएनन्। यही कमजोर दबाबको कारण थरुहट आन्दोलन कमजोर बन्यो।

अन्त्यमा,

थरुहट आन्दोलन अहिलेको विभेद्कारी संविधानविरुद्ध, उत्पीडन शोषण दमनविरुद्ध, थारुलाई दोस्रो दर्जाको रुपमा सोच्ने राज्यविरुद्ध, हजारौं सहिदको सपना लत्याएकोविरुद्धमा थियो भने आज हामी किन थकित हुँदैछ? किन हामी आफ्नो जिम्मेवारीबाट भाग्दैछौं? साँच्चै हामीले शासकलाई आत्मसर्मरपण गरेको हो? यदि होइन भने हामी हाम्रो छोराछोरीलाई बलिदानी गर्नबाट बचाउनुपर्छ। अब युवा जाग्नुपर्छ, सम्पूर्ण उत्पीडित जनता जाग्नुपर्छ। विगतका कमजोरीलाई सच्याएर यो कालो संविधानविरुद्ध, पहिचान, आत्मसम्मान र अधिकारको लागि शासकविरुद्ध अब नेपालमा आँधीबेरी आउने गरी ठूलो वार या पारको आन्दोलन गर्नुपर्छ। परिवर्तनको लागि लड्नुपर्छ। लड्नुपर्छ।

लेखक बर्दियाली थारु विकास मञ्च काठमाडौंका अध्यक्ष हुन्।

5 thoughts on “थरुहट आन्दोलन कमजोर हुनुका आठ कारण [विचार]

  1. सिताराम चौधरीले लेख्नु भएको थरुहट आन्दोलन कमजोर हुनु ८ कारण विषयक लेख पठनीय एवम् मननीय छ । यसका लागि लेखकलाई धेरै धेरै धन्यवाद छ । यस लेखको विषयमा सम्पादक र लेखकलाई मेरो तर्फबाट सल्लाह सुझाव दिन चाहन्छु ।
    १) पहिलो कुरा थरुहट आन्दोलन केन्द्रबाट घोषणा हुनु भन्दा पहिला कैलाली बाट शुभारम्भ भएको पक्कै हो तर थरुहट÷थारुवान संयुक्त संघर्ष समितिको नामबाट भएको होइन, थरुहट संयुक्त संघर्ष समिति कैलालीको नाम बाट भएको हो ।
    २) दोस्रो कुरा शिर्षक आठ कारण भनिएको छ तर सब हेडिङमा सात कारण फरक भएको छ सम्पादक को दृष्टि पुग्न सकिएको देखिएन ।
    ३) तेस्रो कुरा चेतनाको कारण त्यत्ति सान्दर्भिक भएन मलाई लाग्छ अहिले थारु सुमदायमा धेरै राजनीतिक चेतनाको स्तर निकै बढीसकेको छ । धेरैले थरुहटको माग मुद्दा, सवालका बारेमा बुझेका छन् । केन्द्रीकृत र एकात्मक संरचनामा चल्ने राजनीतिक दलको नेतृत्व गरिहेका ब्राह्मणवादी सोंच चिन्तन प्रवृति बोकेका नेताकहरुको हैकमवादी कार्यशैलीको भुक्तभोगी छन तर पनि चेतेका छैनन् । देखेका छन्, बुझेका छन् तर के गर्नु बुझेर बुझ पचाउदा रहेछन् । यसर्थ व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठ्न नसकेको भनी उल्लेख गर्दा राम्रो हुने थियो ।
    ४) चौथो कुरा लेखक महोदयले योजना बिहिन आन्दोलन भनाई प्रति म सहमत छैन । किन की थरुहट÷थारुवान संयुक्त संघर्ष समितिको आन्दोलनको योजना, माग मुद्दा स्पष्ट छन् तर यसलाई कार्यान्वयन गर्न गराउन प्रभावकारी भूमिका खेल्न नसकेको, आन्दोलन चेनअफ कमाण्डमा हुन नसकेको, नेतृत्व बिच सहअस्तित्व स्वीकार्न नसकेको भनी उल्लेख गर्दा राम्रो हुने थियो ।

    मिन राज चौधरी

  2. संसार परिवर्तन गर्न पहिला आफू परिवर्तन हुन जरुरी छ।
    हैन भने सम्भव छैन्।

  3. Madan Ji laae Dhanyabaad. Aaj yakal prayasle http://www.tharuwan.com lae agaadi badhaudai thaaru samudayako mudda yajenda lagayat thuprai pahichaan lae ujaagar gardai lagnu bhayako ma. sabai sanga aagraha chha http://www.tharuwan.com sabaiko sajaha website ho yaslae jibanta raakhunu parchha agaadi badhaaunu parchha tasartha yaslae financial rupma sahayog garidina huna pani anurodh chha.

  4. सीता रामजी हजुरको सोचाईको लेख एकदमै प्रशंसानिय पठनिय एवं चेतना मुलक लेख छ ।
    यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
    हजुरको लेखमा हजुरले थारुहत आन्दोलन थारु जनताको दबाबको कमि कमजोरी र चेतनाको अभाव देखाउनु भएको छ
    तर मलाइ लाग्छ थारुहत आन्दोलनमा थारुहरु रणभुमीमा एकदम सहासपुण दबाबपुर्ण जंगको मैदानमा उत्रीएक थिए र उनिहरुलाइ थाहा थियो कि हामी आफ्नो ह र अधिकार र पहिचानको लागि लडि रहेका छौ भनेर ।
    अनि थारुहतका नेताहरुले थारुहत जनतामा दबाब र चेतनाको अभाव कसरी देखे?
    थारुहत आन्दोलन सफल नहुनको मुल कारण थारुहत नेताहरुको कमि कमजोरीहरु हो जब कि थारु जनताहरु आफ्नो ज्यानको वास्ता नगरी ज्यान जोखिममा हालेर ज्यानको बाजि लगाइ सरकार संग आन्दोलन गरि जुझी रहेका थिए त्यस बेला थारुहतका आफ्ना कुर्सीमा लिप्त भएर आ -आफ्नो ब्यक्तिगत स्वार्थमा रहि आफ्नो कर्तव्य भुले ।
    अनि कसरी थारुहत आन्दोलन सफल हुन्छ ।
    २०७२/५/७ टिकापुर कैलालीमा घतेको घटना एकदमै दुखदायक थियो त्यस घटनामा (कसले के गुमाए न ?)कतिले जीवन गुमाए कति जेलमा गए कतिको घरमा आगजनी भो तर यसको क्षतिपूर्ति पीडितका परिवारलाई थारुहतका नेताहरुले दिलाउन सकि रहेका छैनन् उता जेल परेका थारुहत पार्टीका साथीहरुलाइ रिहाइ पनि गराउन सकि रहेक छैनन् ।
    सीता रामजी तपाइँ आफै सोचेर भन्नुस ।
    यस्ता धोङी मक्कर नेताहरुले के थारुहत आन्दोलन सफल बनाउन सक्छन् त ?

Leave a Reply

Your email address will not be published.