भलमन्साहरुलाई अनुरोध

dil bdr chaudharyदिलबहादुर चौधरी

भलमन्सा शब्दको अर्थ खोज्ने हो भने भद्र, लगातार राम्रो काममा लागिरहने लगनशील मान्छे भनी जनाउँदछ (भ–भद्र, ल–लगनशील, मन्सा–मान्छे) । भलमन्सालाई गाउँको सर्बमान्य ब्यक्तिको रुपमा मानिन्छ । गाउँको झैं झगडा, किचलोलाई मिलाउनेदेखि लिएर गाउँलाई राम्रो, सुसंस्कृत बनाउने काम पनि भलमन्साको काँधमा हुन्छ । तर पछिल्लो समयमा गाउँका कतिपय युवाहरु नटेर्ने, भलमन्साको निर्देशनमा नचल्ने गरेका र राज्यले समन्यायको सिद्धान्तमा नचलेको कारण भलमन्साहरुलाई चुनौती थपिएको छ । फेरि पनि थारु गाउँमा भलमन्साहरुको मूल्य मान्यतामा खासै कमी आएको छैन र आउनु पनि हुँदैन ।

भलमन्सा पद जत्तिको वजनदार छ, त्यत्तिकै वजनदार भलमन्सा पनि हुन आवश्यक छ । समस्यादेखि चाडपर्वप्रति जागरुक हुन आवश्यक छ । थारुहरुको नयाँं बर्ष, होरी, गुरिया, कृष्ण जन्म अष्टमी, दशैं, देवारी, जितिया, सामाचकेवा, माघ, शिरुवा सबैको निश्चित तिथिमिति छ । खास गरी तिथिमितिमा गडबड हुनेमा कहिलेकाहीं अतवारी हो । निश्चित दिन नहुने र अलिक दिनसम्म चल्ने पर्बमा चिरैं÷चरैं पर्ब पर्दछ । एक दुई बर्षदेखि अतवारीमा पनि एकरुपता आएको हामी पाएका छौं । चिरैंबारेको आम थारु समुदायको बुझाईमा एकरुपता आउन सकेको छैन । त्यसकारण यसमा पनि एकरुपता हुन आवश्यक छ ।

धर्मको आधारमा संस्कार र संस्कृतिको जन्म भएको हुन्छ । संस्कृतिबारे तर्क, बितर्क गर्न जान्नेहरु, बखान गर्न जान्नेहरु संसारभरीका मानिसहरुलाई आफ्नो संस्कृति बिक्री गरिरहेका हुन्छन् । आफ्नो संस्कृतिको महत्व नजान्नेहरु, तर्क बितर्क गर्न नजान्नेहरु संस्कृतिलाई लोप गराइरहेका हुन्छन् । थारुहरुको तमाम संस्कृति यसरी नै हराउँदै गएको अबस्था छ । चिरैं बारेको सही बुझाई भएन भने यसप्रति पनि मानिसहरुको बिरक्ति जाग्न सक्छ र समस्या आउन सक्छ । तसर्थ यसमा सबैको ध्यान जान आवश्यक छ ।

सो त चिरै त्यौहार, चैत महिनाको ओजरीया (शुक्लपक्ष) को जुनसुकै दिन मनाए पनि अपराध मानिँदैन । फेरि पनि गुरुवाहरु, बुद्धिजीविहरु, जानकारहरुका अनुसार चैत महिनाको ओजरीया (चैत महिनाभित्रै) को अन्तिममा शुक्रबार परोस् वा सोमबार, त्यो नै थारुहरुको चिरैं÷चरैं हो । अपबादको रुपमा यी दिन परेनन् वा चैत महिना नै नाघ्न पुग्यो भने कुनै बर्ष अन्य दिन वा महिना रोज्ने हो, नभए त चैत नै चिरैं त्यौहारको महिना हो । चिरैं मनाउँदा रानाथारुहरु सोमबार र बृहस्पतिबारलाई बढी महत्व दिन्छन् भने चौधरी थारुहरु सोमबार, शुक्रबारलाई बढी महत्व दिन्छन् । यथार्थ यही हो । तर एकदशकदेखि कतिपय थारु गाउँमा बैशाख १ गतेका दिन चिरैं÷चरैं पर्ब मनाउन थालेका छन् । यसो गर्नुको मूलकारण बैशाख १ गते नेपाल सरकारले नयाँ बर्ष भनी बिदा दिने गरेको र नयाँ बर्षले पनि थारुहरुलाई गाँजेकोले हो । एउटै खर्चमा चिरैं र नयाँ बर्ष पार होस् भन्ने मान्यता अनुरुप बैशाख १ गतेलाई कतिपय गाउँलेहरु चिरैं पर्बको रुपमा रोज्न पुगेका हुन् । यसले संस्कृतिको अवमूल्यन हुन्छ भन्ने कुरालाई कमैले हेक्का राखिरहेका छन् । यसले भावी पुस्तामा बैशाख १ गते चिरैं पर्दछ भन्ने गलत बुझाईको बिकास हुन बेर छैन । यसको लागि मुख्य दोषी को हो ? हामी होइनौं र ! तसर्थ चैत महिनामा मनाउने पर्ब बैशाखमा पुर्याउने काम गरी संस्कृतिलाई तोडमरोड नगरौं, थारु नागरिक समाज कैलाली हार्दिक अनुरोध गर्दछ ।

थारु नागरिक समाज, कैलाली

Leave a Reply

Your email address will not be published.