बाबुरामको नयाँ शक्ति नयाँ बोतलमा पुरानो रक्सीजस्तो : लेखी

Lekhi

इन्द्रकुमार चौधरी/झापा

नागरिक समाजवादी पार्टीका केन्द्रीय संयोजक राजकुमार लेखीले बैशाखको पहिलो हप्तादेखि आन्दोलनको घोषणा गरेका छन्। शुक्रबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा लेखीले विभेदमा परेकालाई संविधानका केही धाराहरुले झन् विभेदमा पारेका कारण आन्दोलन घोषणा गर्नु परेको बताएका हुन्।
संयोजक लेखीले आन्दोलन कालो संविधानविरुद्धको अभियान भएको ठोकुवा गरे। ‘सरकारले अपूरो संविधान बनाएको छ’, उनले भने, ‘संविधानले नेपालका उत्पीडित, दलित, आदिवासी, जनजाति, मधेशी, मुस्लिम तथा महिलाको साझा र अपनत्व भावना समेट्न सकेको छैन।’ नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष समेत रहेका लेखीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्तिको घोर आलोचना गरेका छन्। उनले भट्टराई नेतृत्वको पार्टी ढोंगी र जनता विरोधी रहेको उल्लेख गरे। डा. भट्टराई नेतृत्वको पार्टी नयाँ बोतलमा पुरानो रक्सी मात्रै हो,’ लेखीले भने।

संयोजक लेखीले आन्दोलनरत सबै साना ठूला पार्टीलाई सहकार्य गरेर अघि बढ्न आह्वान गरेका छन्। उनले भारतले गरेको नाकाबन्दी तथा कृत्रिम अभाव ओली नेतृत्वको सरकारको गैरजिम्मेवारीपन रहेको ठोकुवा गरे। उनले ओली सरकारले कमिशनखोरहरुलाई बढावा दिएका कारण कृत्रिम अभाव सिर्जना भएको बताए।

उनले आफ्नो पार्टी सबै जाति, वर्ग तथा धर्म सम्प्रदायको रहेको बताएका छन्। ५२ जनाको केन्द्रीय समिति रहेको पार्टीले चैतभरि सबै जिल्लामा पार्टी विस्तार गर्ने र आन्दोलनलाई सँगसँगै अगाडि बढाउने बताए।

पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता राज थारु, केन्द्रीय सदस्य चन्द्रकिशोर चौधरी, पुरन चौधरी, थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष पुष्पलाल चौधरी, सचिव हरि चौधरी, कोषाध्यक्ष मोतीलाल चौधरी, पूर्व केन्द्रीय सदस्य श्रीप्रसाद चौधरी, सल्लाहकार तेजनारायण चौधरी, हरिनारायण चौधरीलगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published.