घोराही २ गुलरियाकी रीता चौधरीमाथि एसिड प्रहार भएको एक साता भयो। उनी अहिले नेपालगन्जमा उपचाररत छिन्। प्रारम्भिक चरणमा एसिडले खाएको बाह्य छालाको मात्रै अपरेसन भएको उनको स्वास्थ्यमा परेको असरको अझै एकिन भइसकेको छैन।
उपचारमा संलग्न कोहलपुर मेडिकल कलेजका डा. विनोद कर्णका अनुसार अर्को चरणको अप्रेसनबाट मात्रै एसिडले शरीरको भित्री भाग कतिसम्म जलेको भन्ने थाहा हुनेछ। दोस्रो चरणको अपरेसन सम्भवतः बिहीबार हुनेछ। पसलमा ग्राहक बनेर एसिड छ्यापेका अपराधी को हो? सातादिनसम्म टुंगो लागिसकेको छैन। प्रहरी भन्छ, ‘हामी नजिक छौं।’
अर्कातिर रीताको उपचारमा आर्थिक समस्या छ। उपचारमा कति खर्च लाग्ने भन्ने टुंगो छैन। उनका श्रीमान मोतीलालले सरसापटबाटै उपचार खर्चको जोहो गरिरहेको बताउँछन्।
एसिड प्रहारजस्तो जघन्य अपराध। त्यो पनि एक महिलामाथि। हाल अस्पतालको बेडबाटै उपचार र न्याय खोजिरहेकी रीता ‘अधिकारवादी’को चर्का नारा लगाउनेको नजरभन्दा अधिक टाढा छिन्। एसिड प्रहारजस्तो जघन्य अपराध हुँदासमेत रीताको समस्याप्रति चासो देखाउन दाङको कुनै अधिकारवादी अगाडि आउन सकेका छैनन्। घटना भएको दोस्रो दिन घटनाको निन्दा गर्दै बाँडिएको प्रेस विज्ञप्तिबाटै अधिकारवादी भनाउँदाले आफ्नो सम्पूर्ण दोष कटाउन खोजे।
विज्ञप्ति जारी गरेरै एसिडले जलेको रीताको अनुहारमा मलम बन्न खोज्नेहरु अहिले उनको स्वास्थ्य अवस्थाबारे बेखबर छन्। जिल्लामा अधिकारको नारा लगाउनेहरु कसैलाई पनि उनको अवस्थाबारे जानकारी छैन। ‘हामीहरुले विज्ञप्ति प्रकाशित गरेर घटनाको निन्दा गरेका हौं,’ महिला अधिकारवादी रचना सुवेदीले भनिन्, ‘त्यसपछि के–के भयो, म पनि सदरमुकाम बाहिर छु।’
ओरेक नेपाल हिंसामा परेका महिलाको न्यायका लागि आफूलाई पहरेदार ठान्ने संस्था हो। यो संस्थालाई एक सातादेखि अस्पतालको बेडमा थलिएकी रीताका बारेमा कुनै सुर्ता वा जानकारी लिनु छैन। तर, बुधबार घोराहीमा एक कार्यक्रम गरेर वर्षभरि आफूले गरेका ‘उत्कृष्ट’ कामहरु प्रस्तुत गरेर वाहवाही कमाउँदै थियो। ‘हामीहरुले वर्षभरि गरेका कामको समीक्षा गर्दैछौं,’ संस्थाकी दाङ प्रमुख तुलसा गिरीले नागरिकसँग भनिन्। महिला अधिकारका क्षेत्रमा गरिएका कार्यक्रमको फेहरिस्त प्रस्तुत गरेर कार्यक्रममा सहभागीलाई दंग पार्ने तयारीमा रहेकी तुलसा एसिड आक्रमणबाट घाइते रीताको अवस्थाबारे सोध्नेबित्तिकै हच्किइन्। रीताको स्वास्थ्य अवस्थाबारे बेखबर उनले भनिन्, ‘हामीहरुले उहाँसँग सम्पर्क गर्न कोसिस गरिरहेका छौं।’ कहिलेदेखि सम्पर्कको प्रयास गरिरहनुभएको छ? उनले टार्न खोज्दै भनिन्, ‘घरपरिवारको नम्बर खोजिराछौं, पाउन सकेका छैनौं।’
उनले पनि घटना भएको भोलिपल्ट निकालिएको धेरै संस्थाको सामूहिक विज्ञप्तिलाई रीताको न्यायका लागि महŒवपूर्ण कार्य भनेर प्रस्तुत भइन्। ‘हामीहरुले घटनाको विरोधमा विज्ञप्ति प्रकाशित पनि गर्यांहै,’ उनले भनिन्, ‘फोन नम्बरै पत्ता नलागेपछि हामीहरुले उहाँको अवस्थाबारे जानकारी लिन पाएका छैनौं।’
जिल्लामा महिला अधिकारका चर्का नारा लगाउने संस्था दर्जन छन्। औपचारिक कार्यक्रममा यस्ता संघसंस्थाका प्रतिनिधि महिला अधिकार क्षेत्रका हस्तीका रुपमा आफूलाई उभ्याउँछन्। तर एसिडले एक महिला जल्दा भने कुनै पनि संघसंस्थाका ‘हस्ती’ महिला अधिकारका पक्षमा उभिन सकेका छैनन्। महिला अधिकारका चर्का नारा लगाउने यस्ता संस्था एसिड प्रहार जस्तो भयानक घटनामा मौन बस्नुले उनीहरुको नियत प्रष्टै हुन्छ। यस्तैमध्येको अर्को महिला अधिकारवादीको ठूलो संस्था महिला रक्षकहरुको सञ्जाल पनि एसिड घटनाबारे मौन छ। उसले पनि विज्ञप्तिमा सहीछाप गर्नुबाहेक रीताको घाउमा मलम बन्ने साहस देखाउन सकेको छैन।
तथापि उनीहरुले बुझेकै छन्, एसिड घटना जघन्य अपराध हो। मानव अधिकार उल्लंघनको ठूलो घटना हो।
‘त्यो घटना मानव अधिकार हननको ठूलो घटना हो,’ मानव अधिकार राष्ट्रिय सञ्जालका संयोजक केशवकुमार शर्माले भने, ‘त्यस्ता अपराधीलाई कानुनको दायरामा ल्याएर कडा कारबाही गरिनुपर्छ।’ उनले दोषीलाई कारबाहीमा ल्याउनका लागि आफूले प्रशासनसँग समन्वय गरिरहेको बताए।
संघसंस्था मात्र होइनन्, महिला अधिकारकै लागि यहाँ रहेका सरकारी कार्यालयसमेत रीताको अवस्थाबारे बेखबर छन्। महिला तथा बालबालिकाको न्यायका लागि स्थापित महिला तथा बालबालिका कार्यालयले रीताको अवस्थाबारे कुनै जानकारी नरहेको बतायो। हाल ती महिलाको अनुसन्धान प्रहरीले गरिरहेकाले त्यो घटनामा आफू बोल्न नमिल्ने कार्यालय प्रमुख श्रीधर ज्ञवालीले बताए। ‘त्यो केस प्रहरीले हेरिरहेकाले हामीहरु बोल्न मिल्दैन, प्रहरीले घटना अनुसन्धान गरिरहेकाले हामीहरुले चासो नदिएको हो,’ उनले भने, ‘उहाँको अहिलेको अवस्था के–कस्तो हो, त्यो पनि हामीहरुको जानकारीमा छैन।’
न त आर्थिक समस्याबीच भइरहेको उपचारमै महिला तथा बालबालिका कार्यालय सहयोगी बन्न सक्ने कार्यालय बताउँछ। कार्यालयमा आर्थिक रकमको अभाव रहेको जनाउँदै उनले भने, ‘मैले उपचारका लागि सहयोग गर्ने कि भनेर कार्यालयमा प्रस्ताव राखेको थिएँ, तर लेखापाल सरले पैसा छैन भन्ने सुनाउनुभयो, त्यसकारण अहिले सहयोग गर्न सक्ने अवस्था पनि छैन।’
उता, नेपालगन्जमा उपचाररत रीताको स्वास्थ्य अवस्था बुझ्न अहिलेसम्म संघसंस्था पुग्न सकेका छैनन्। अहिलेसम्म संस्थाका प्रतिनिधि बताउने तीनजना मात्रै आएको बताउँदै रीताका श्रीमान मोतीले भने, ‘दाङबाट त झन् कोही पनि आएका छैनन्।’
यति ठूलो विपदमा आफ्नो सहारा कोही पनि बन्न नसकेकोमा दुःख व्यक्त गर्दै उनले भने, ‘दुःख परेका बेला कसले हेर्छ र?’
एक संस्थाले बेहोरिदियो अपरेसन खर्च
रीताको अपरेसनमा लागेको खर्च बाँके कोहलपुरस्थित एक संस्थाले बेहोरिदिएको छ। अग्नि हिंसा पीडित नेपाल नामक संस्थाले रीताको अपरेसन क्रममा लागेको १५ हजार ७ सय ५० रुपैयाँको बिल अस्पताललाई तिरिदिएको हो। ‘उपचार खर्चमा समस्या भन्ने समाचार बाहिर आएपछि उहाँलाई भेटेरै अपरेसन खर्चको बिल तिरिदिएका हौं,’ संस्थाका सुरेन्द्रदीप कार्कीले टेलिफोनमा भने, ‘उहाँलाई अन्य उपचार खर्चको सहयोगका लागि पनि पहल गर्ने सोचमा छौं।’ रीताको उपचारमा आर्थिक समस्या भएको समाचार नागरिकले मंगलबार छापेको थियो।
देवेन्द्र बस्नेत/नागरिक दैनिक