दिल्लीमा जमेका दंगाली कमल

Kamal Chaudharyकृष्णराज सर्वहारी

यही फागुन ९ देखि १७ गते सम्म नागरिक समाजको एक टोली पूर्व सभासद दमननाथ ढुंगानाको नेतृत्वमा दिल्ली पुगेको थियो। टोलीले विभिन्न दलका करीब १६ जना सभासद, प्रमुख दलका नेता, नेपालका लागि भारतीय पूर्व राजदुत तथा विदेश सचिव एस जयशंकरसँग भेटघाट गरेको थियो। त्यसबारे कुनैबेला अर्को लेखमा वर्णन गरुलाँ। यस आलेखमा भने दिल्लीमा भेटिएका एक दंगालीबारे चर्चा गर्न गइरहेको छुँ। 

दिल्लीमा हाम्रो टोलीको बसाई मानसिंह रोडस्थित होटल ताजमा थियो। सरकारी भ्रमणमा विदेशीको टोली नेपालमा आउँदा होटल सोल्टीमा बसालिन्थ्यो, जसमा राजाको लगानी छ। राजगद्धी गए पनि सरकारी भ्रमणमा आउने विदेशी टोली अझै पनि प्रायः त्यही होटलमा बस्छ। जसको सबै बिल सरकारले तिर्छ। दिल्लीको होटेल ताज पनि सरकारी पाहुना बसाल्ने थलो रहेछ। हामी नेपालका लागि पूर्व राजपुत जयन्तप्रसाद महानिर्देशक रहेको रक्षा अध्ययन एवम् विश्लेषण संस्थान (आइडिएसए) संस्थाको सरकारी पाहुना थियौँ।

हाम्रो खाना होटल ताज भित्रको विभिन्न रेष्टुरेण्टमध्ये मचानमा तोकिएको थियो। खाना सर्भको लागि त्यहाँ कञ्चनपुरका एक नेपाली भेटिएका थिए। एक दिन सहायक टोली नेता विजय कर्णले भने– सधैँ मचानमा कति खाने साथीहरु। हामी सरकारी पाहुना भएपछि यहाँ रहेको जुन पनि भान्सामा पस्न सक्छौँ। जिब्रोको स्वाद फेरौँ। त्यसपछि एकदिन जापानी, अर्को दिन चाइनिज रेष्टुरेन्टमा गयौँ।

चाइनिज रेष्टुरेन्टमा शुरुमा दिइएको सुप नुनिलो थियो। पछि मंगाइएको चाउमीन पनि त्यस्तै। हामीले सर्भिस ब्वाइसंग गुनासौँ गर्‍यौँ। उसले भन्यो- ‘यहाँका चीफ सेफ नेपाली हएँ। मै उनको बुला डेटा हुँ। अपने भाषामे आपलोग सम्झाइए।’ सेफ आए। परिचय गर्‍यौँ। उनी त दाङका कमल थापा रहेछन्। म दंगालीलाई उनी होटल ताजको प्रमुख सेफ रहेकोमा खुशी नलाग्ने कुरै थिएन। तुलसीपुर नपा–६, गाइदारका ४२ वर्षे थापा विगत २२ वर्षदेखि लगातार ताजको चाइनिज रेष्टुरेन्टमा कार्यरत रहेछन्। ग्राहक आउने समय भएकाले उनीसंग अरु दिन कुरा गर्ने निधो गरियो।

मैले कमलको फोन नम्बर टिपेको थिएँ। तर मसंग इण्डियाको नम्बर थिएन। पासपोर्ट नबनाएकोले मैले इन्डियाको सिम बनाउन पाइँन। पासपोर्ट नहुँदा ताज होटलको बसाइ पनि झण्डै खुस्किएको थियो। सेफ थापासँग कुरा गर्न २ दिन लगातार जाँदा पनि भेट भएनँ। उनी एकदिन गुडगाँव बिहेको पार्टीमा खाना बनाउन गएका रहेछन्। अर्को दिन बिदामा बसेका रहेछन्। नेपाल फर्किने अन्तिम दिनको अघिल्लो रात १० बजे उनको चाइनिज रेष्टुरेन्टमा छिँरे। हामीले करीब ४५ मिनेट भालकुसारी गर्‍यौँ। उनले भने– के गर्नु सर, तपाईहरु बसेको कोठामा जाने अनुमति हामीलाई छैन। फेरि यहाँ कति खेर ग्राहक आउने हुन्। छाड्न पनि नमिल्ने। त्यसैले चाहेर पनि भेट्न सकिनँ।

मैले यहाँ आउँदा ताकाको सम्झनाको पोको खोल्न भनेपछि कमलले दिल्लीको आफ्नो पृष्ठभूमि खोल्न थाले– २२ वर्ष अघि यहाँ आउँदा  मेरो तनखा भारु १५ सय थियो। अहिले भारु ५० हजार भएको छ। अहिले यही रेष्टुराँमा आफनै भतिजालाई ओजेटी गराउन ल्याएको छुँ। ऊ पनि पछि म जस्तै सेफ बन्ला कि। लक्का जवान जिन्दगी यहीँ दिल्लीमा गुजारियो। सबै बालबच्चा यही पढे, हुर्के। जेठी छोरीको बाँके शमसेरगञ्जमा बिहे गर्दिएको छुँ। मन त आफ्नै गाउँठाउँ दाङमै रेष्टुरेन्ट चलाउने हो नि। तर के गर्नु। ग्यास छैन, तेल छैन, पेट्रोल छैन। कसरी होटेल चलाउनु। त्यसैले यतै रमाउन बाध्य छुँ। पैसा जोगाएर सानो मकान पनि यहाँको लक्ष्मीनारायण टोलमा बनाएको छुँ।

कमलले एकै सासमा सुनाएको उनको कथाले म प्रभावित हुनु स्वाभाविक थियो। बसोबासको समेत जुगाड गरेको सुन्दा राम्रै सफलता हात पारेछन्, बुढाले भन्ने लाग्यो। उनी भन्दै गए– सोमबार विदा हुन्छ मेरो। श्रीमती दांगमै घर सम्हालिरहेकोले बिदाको दिन नुहाइ धुवाइमा समय बित्छ। अरु दिन बिहान ११ बजेदेखि ड्युटी शुरु हुन्छ। साँझ ४ देखि ७ बजे विश्रामको समय तोकिएको छ। फेरि बेलुकी ७ देखि साढे १२ बजे रातीसम्म ड्युटी हुन्छ। यहाँ नेपालीका विभिन्न संगठन छन्। तर म कुनैमा पनि आबद्ध छैन। मलाई यहाँ काम नै पूजा भएको छ।

कमलका छोरा आमा, हजुरआमा सँगै दाङको घरमा बस्छन्। छोरो तुलसीपुरको गोर्खा बोर्डिङ स्कूलमा ८ कक्षामा पढिरहेको छ। उनकी छोरीले प्लस टु सकाएकी छन्। त्यसो त कमलका दाजु तोया थापा ३२ वर्षदेखि दिल्लीको कनाट प्यालेस स्थित क्यूवा रेष्टुरेन्टमा सेफ छन्। उनले नै कमललाई दिल्ली ल्याएका रहेछन्।

कमलका अनुसार होटेल ताजमा कार्यरत करीब १ हजार कर्मचारी मध्ये ६० जना नेपाली छन्। एकजना क्यासमा सहायक एकाउन्टेन्टपछि सबैभन्दा ठूलो पोष्टमा उनी नै छन्। होटल ताजको चितवनमा चाँडै शाखा खुल्दैछ। व्यवस्थापनले चितवन जाने मुड बनाउनु है भनिसकेको छ। तर उनलाई दिल्लीमै मन बसेको छ। भन्छन्– नेपालका सबैजसो मन्त्री, सचिव यही आएर बस्छन्। मेरो खानको तारिफ गर्छ्रन्। मलाई यसैमा सन्तुष्टि छ।

कमलकी छोरी रेविकाले बुवाको बारेमा केही लेख्ने भन्नु हुन्थ्यो। लेख्नु भन्ने कि नाइ? भनेर मलाई तारन्तार फोन गरिन्। आफनो लेखन क्षमतामा ह्रास हुँदै गएकोमा लज्जित हुँदै रेविकालाई लेखनी मार्फत् चाँडै भेट हुने जानकारी दिएँ। रेविकाले पक्कै पनि यो लेख फेला पारिन् होला भन्ने आशा छ।

Leave a Reply

Your email address will not be published.