विवाहित पुरुषसँग बिहे गर्दिन भन्दै अनिताकुमारी चौधरी प्रहरीको शरणमा

Hindu-Marriage-Actसुनसरीको छिटाहा गाविस–४ की एक किशोरीले आफ्नो बुबा–आमाले आफूलाई गुमराहामा पारेर विवाहित केटासँग विवाह गराउन खोजेको भन्दै सुरक्षाको लागि प्रहरीको शरण मागेकी छन्। छिटाहा–४ की २० वर्षीया अनिताकुमारी चौधरीले जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी गर्दै सो विवाह रोकाई शान्तिसुरक्षा कायम गर्न माग गरेकी छन् ।

अनिताले आफ्नै बुबा गङ्गालाल चौधरीले आफनो इच्छा विपरीत चिमडी–२ का श्रवण चौधरीसँग विवाह गर्न लागेको र केटा विवाहित भएको साथै शारीरिक रुपमा अपाङ्गतासमेत रहेको थाहा पाएर आफूले उजुरी गर्न आएको चौधरीको उजुरीपत्रमा उल्लेख गरिएको छ ।

चौधरीका अनुसार घरमा आफूलाई दबाब दिएर फागुन १७ गते रातिको लगनमा सोही केटासँग विवाह गराउने दुष्प्रयास भएकाले प्रशासनमा उजुरी दिएको हो । प्रशासनमा उजुरी दिँदै विवाह गर्न नमानेपछि आफूलाई कुटपिटसमेत गरेको गुनासो गरेकी छन् । चौधरीले आफूले सक्षम जीवनसाथी चाहेकाले श्रवणको शारीरिक अस्वस्थता र उनी विवाहित समेत भएकाले विवाह गर्न अस्वीकार गरेको उनका दाजु जयप्रकाश चौधरीले बताए।

अनितालाई विवाहको दबाब बढेपछि दाजु जयप्रकाशको सहयोगमा प्रशासन हुँदै प्रहरीको शरणमा पुगेको स्थानीयवासीले बताएका छन् । आफूले उक्त विवाह अस्वीकार गर्दै समाजमा पुरातन सोचबाट ग्रसित अभिभावकलाई सचेत समेत गराउन यो काम गरेको अनिताले बताइन। आफूले गरिबीको कारण उच्च शिक्षा पढ्न नपाएको पीडासँगै फेरि विवाहित केटासँग विवाह गरेर थप पीडा लिन नचाहेको समेत चौधरीले सञ्चारकर्मी समक्ष पोखेकी छिन् ।

अनिताले आइतबार जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीको सुनुवाइ गर्दै प्रशासनले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन आदेश दिएको छ भने जिल्ला प्रहरीले आजै इलाका प्रहरी कार्यालय छिटाहालाई शान्ति सुरक्षा मिलाउन निर्देशनात्मक आदेश गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.