भूकम्पमा ज्यान गुमाएकी सुजिता चौधरीको नाममा ट्रष्ट

Sujita Chaudhary

गत वैशाखको भूकम्पमा परी ज्यान गुमाएकी शिक्षक सुजिता चौधरीको नाममा ट्रष्ट स्थापना गरिएको छ। सामुदायिक विद्यालयको पठन पाठनमा सुधार गर्न शुरु अभियानमा संलग्न भएर सिन्धुपाल्चोकमा कृयाशिल चौधरीको वैशाख १२ को भूकम्पमा परी निधन भएको थियो। उनको नाममा टिच फर नेपालले ट्रष्ट स्थापना गरेको हो।
उक्त ट्रष्ट मार्फत सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरु मध्ये २ जनालाई एसएलसी पछिको अध्ययनका लागि छात्रवृत्ति दिईने छ। यसैगरी सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना र वार्षिक रुपमा विज्ञान प्रदर्शनी प्रतियोगिता गर्ने संस्थाका प्रमुख कार्यकारी शिशिर खनालले बताए। विद्यालयमा पुस्तकालय र खेलकुदका माध्यामबाट विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने योजना समेत रहेको उनले बताए। टिच फर नेपालले यो बर्षका लागि छनौट गरेको स्वयंम सेवकहरुको परिचयात्मक तथा स्वागत कार्यक्रमका अवसरमा मंगलबार ट्रष्टको घोषणा गरेको हो।

संस्थाले चौधरीको परिवारलाई दिएको कदर पत्र शिक्षाविद् डा. मनप्रसाद वाग्लेले उनकी दिदी सुभेच्छा चौधरीलाई हस्तान्तरण गरे। कदर पत्र लिदैं चौधरीले सामुदायिक शिक्षा सुधारका लागि आफ्नी बहिनीले पुरा गर्न बाँकी सपना पुरा गर्न संस्था र आउँदा स्वयंम सेवकहरुले ध्यान दिने अपेक्षा गरिन्। उनको नाममा स्थापना भएको ट्रष्टमा आर्थिक सहयोग गर्न चाहनेलाई संस्थाले आह्वान समेत गरेको छ।

चौधरी सिन्धुपाल्चोकको खत्रीथोकमा रहेको भिमसेन माध्यमिक विद्यालयमा स्वयम् सेवकका रुपमा कृयाशिल थिइन्। उदयपुरकी सुजिता चौधरी सन् २०१४ की फेलो हुन्। यो बर्ष फेलो हुन ईच्छुक ५ सय ५५ वटा आवेदनबाट ४५ जना छनौट गरिएको खनालले बताए। यी छनौट भएकाहरुलाई अब ६ हप्ता सम्म सामुदायिक शिक्षा सुधारका उपाय बारे बन्द प्रशिक्षण दिईने छ। उनीहरु विज्ञान, स्वास्थ्य, शिक्षा, व्यवस्थापन, कानून र समाज सेवा जस्ता विभिन्न विषयमा अध्ययनरत हुन्।

विक्रम सम्वत २०७० वैशाखबाट ललितपुरका विभिन्न १६ विद्यालयहरूबाट सुरू भएको अभियान अहिले सिन्धुपाल्चोक र धनुषा समेत ३२ विद्यालयमा पुगेको छ। ३३ जना फेलोबाट सुरू भएको अभियानमा अहिले ८६ जना फेलोहरू आवद्ध छन्। यसबाट ६ हजार विद्यार्थीले पठन पाठन गरिरहेका संस्थाले जनाएको छ। आगामी बर्षदेखि करिब सय जना शिक्षकबाट ७ हजार जति विद्यार्थीलाई पठन पाठन गर्ने योजना रहेको खनालले बताए। कार्यक्रममा संस्थाका फेलोहरु कृयाशिल विद्यालयका विद्यार्थीले विभिन्न प्रस्तुती देखाएका थिए। उनीहरुले बनाएका शैक्षिक सामग्रीको समेत प्रदर्शनी गरिएको थियो।

कार्यक्रममा शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवारले आफू बेचिएर पनि कसरी समाजमा पुर्नस्थापित हुन सकेँ भन्ने बारेमा बताएकी थिईन्। उनको जिन्दगीको संघर्ष र सफलताका कथाले स्वयम् सेवकहरुमा थप उर्जा मिल्ने अपेक्षा साथ उनको अनुभव सुनाउन आग्रह गरेको खनालले बताए। कार्यक्रममा यस अघिका स्वयम् सेवकले गाउँ गाउँमा जाँदा भोगेका अनुभव र उनीहरुले पढाउन शुरु गरेपछि भएको फरकका बारेमा विद्यार्थीले अनुभव सुनाएका थिए। –इडियु खबरबाट

Leave a Reply

Your email address will not be published.