ओली-मोदीले गरे ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको उद्‍घाटन

Oli Modiप्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा ढल्केबर– मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गरेका छन्। भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले स्वीच दबाएर सो प्रसारण लाइनको उद्घाटन गरेका हुन्।
नेपाल विद्युत् प्राधिकरण र भारतको विद्युत् व्यापार निगम लिमिटेड (एनभिभिएन)बीच यही फागुन ३ गते विद्युत् आयातसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो। ऊर्जा मन्त्रालयका सचिव सुमनप्रसाद शर्माको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले र एनभिभिएनका महाप्रबन्धक ए के मग्गुबीच विद्युत् आयातसम्बन्धी द्विपक्षीय सम्झौता भएको थियो।
सो सम्झौतालगत्तै प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ८० मेगावाट विद्युत् थप भएको छ । गत बुधबारदेखि भारतले नेपाललाई थप विद्युत् उपलब्ध गराउन थालेको हो।
हैदरवाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई ढल्केबर– मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको सुदृढीकरण गर्ने र अन्य अन्तरदेशीय प्रसारण लाइन निर्माण गरी थप ६०० मेगावाट विद्युत् उपलब्ध गराउने बताए।
कुशाहा– कटैया, रक्सौल–परवानीपुरजस्ता अन्तरदेशीय प्रसारण लाइनलाई द्रूत गतिमा अगाडि बढाउने लक्ष्य सरकारले राखेको छ। भारतीय प्रधानमन्त्री मोदीले नेपालको तत्कालको ऊर्जा सङ्कटलाई समाधान गर्न भारत सरकार सहयोग गर्न तयार रहेको उल्लेख गरे।
ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मार्फत विद्युत् आयात गर्न लागिएको हो। एनभिभिएनले प्रतियुनिट भारु ३.४४ (रु ५.५०) र प्रसारण लाइन प्रयोग, चुहावट शुल्क रु १.५३ गरी रु ७.०३४ मा विद्युत् उपलब्ध हुने छ।
पावर ट्रान्समिसन कम्पनीले अन्तरदेशीय प्रसारण लाइनको निर्माण यही फागुन १ गते सम्पन्न गरेपछि भारतबाट थप विद्युत् आयात गर्न सहज भएको हो। ढल्केबरमा रहेको प्राधिकरणको क्षमता कम भएका कारण तत्काल थप विद्युत् आयात गर्न नसकिएको हो। अन्तरदेशीय प्रसारण लाइनको क्षमता ४४० केभीको भए पनि सबस्टेशनको क्षमता १३२ केभीको मात्रै भएकाले तत्काल ८० मेगावाट मात्रै विद्युत् आयात गर्न लागिएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक काफ्लेले नेपाल र भारतबीच २०७१ कात्तिक ४ गते भएको विद्युत् व्यापार सम्झौताका आधारमा नै विद्युत् आयात गरिएको जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.