२३ वर्षअघि भारतलाई हराउने स्टार देवनारायण चौधरी (भिडियो)

  DevNarayan Chaudhary 02

टेकराज पौडेल/अमेरिका

दक्षिण एसियामा हरेक क्षेत्रमा दादागिरी कायम गर्दै आएको भारतलाई हालै सम्पन्न साग फुटबलको फाइनलमा नेपालले पराजित गर्यो । भारतलाई १ का विरुद्ध २ गोल गरेर नेपालले फुटबलको स्वर्ण पदक जित्यो । यो जितसँगै नेपालमा साग फुटबलमा सहभागी नेपाली टोलीको प्रशंसा भइरहेको छ । त्यसमा पनि सागभरी नै चम्किएका स्ट्राइकर नवयुग श्रेष्ठको त झन् बढी नै प्रशंसा भइरहेको छ । नेपालले २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेको हो । तर २३ वर्षअघि यसैगरी भारतलाई फुटबलमा हराएर स्वर्ण पदक जित्न भूमिका निर्वाह गरेका देवनारायण चौधरी गुमनाम छन् । उनको अहिले कुनै चर्चा परिचर्चासम्म छैन ।
कुनै व्यक्ति, संस्था वा देशको इज्जत बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मानिसको इतिहास यस्तै बेला सम्झिनुपर्ने हुन्छ । विकसित देशमा खेल क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेका महत्वपूर्ण मानिसलाई राज्यले आजीवन सम्मान र श्रद्धा गरेर राख्ने तथा उनीहरुको ज्ञानको उपयोग भावी पुस्तालाई समेत दिने प्रचलन छ । तर दुर्भाग्य भनौं या नियति हाम्रो हाम्रो मुलुकमा खेलकुद क्षेत्रलाई पार्टीका कार्यकर्ता पोषण गर्ने थलोको रुपमा परिणत हुँदै गएको छ । खेलकुदका क्षेत्रमा गरेको योगदानलाई बुझ्ने र सम्झने प्रयाससम्म हुने गरेको छैन । त्यसैका कारण पनि सक्षम युवा खेलाडीहरु विदेश पलायनसमेत हुने गरेका छन् । आफ्नो जिविकोपार्जन गर्न तथा परिवार पाल्नका लागि बाध्य भएर काम खोज्दै विदेशिनुपर्ने बाध्यता खेलाडीमा छ । त्यस्तै बाध्यतामा परेर विदेश भासिनेमा २३ वर्षअघि भारतलाई हराएर स्वर्ण पदक जित्न सहयोग गर्ने एक सफल फुटबल खेलाडी देवनारायण चौधरी पनि हुन् । चौधरी अहिले अमेरिकाको सिकागोमा बस्छन् ।

DevNarayan Chaudhary 04

सागका हिरो
बंगलादेशको ढाकामा सन् १९९३ मा सम्पन्न छैठौ साग खेलकुद प्रतियोगिता नेपालले फुटबलमा स्वर्ण पदक जितेको थियो । हालका प्रमुख प्रशिक्षक राजुकाजी शाक्य नेतृत्वको टोलीमा उपेन्द्रमान सिंह, राजेश थापा, देवनारायण चौधरी, राजेश मानन्धर, उमेश प्रधान, ज्ञानु शेरचन, जीवन लामा, मणी शाह, दिपक अमात्य, बसन्त गुरुङसहितको टिमले नेपाललाई स्वर्ण पदक दिलाएको हो । नेपालले फाइनलमा बाबुमणि नेतृत्वको भारतीय टिमसँग प्रतिस्पर्धा गरेको थियो । खेलको निर्धारित समय २–२ गोलको अवस्थामा सकिन लागेको थियो । त्यही बेला नेपालका गोलकिपर उपेन्द्रमान सिंह बिट भएको अवस्थामा गोल पोस्टको नजिकै भारतीय टिमका बाबुमणिले गोल गर्न खुट्टा बलमा पु¥याउन लागेकै अवस्थामा तिव्र गतिमा आएका देवनारायण चौधरीले दुवै खुट्टाको बीचबाट गोल खोसेपछि खेल बराबरीमा सकिएर टाइब्रेकरको अवस्थामा पुगेको थियो । त्यही कारणले त्यसबेला देवनारायणको खुवै प्रशंसा भएको थियो । अहिलेको नवयुगले जस्तै सम्मान चौधरीले पाएका थिए र सञ्चारमाध्यमले पनि उनको योगदानको निकै प्रशंसा गरेका थिए ।
देवनारायणको खेलप्रति अन्य देशका क्लबहरुले पनि निकै प्रसंशा गरेका थिए । उनलाई बंगलादेश, भारत र मलेसियाका क्लबमा समेत अनुबन्धित भएर खेल्ने अवसर आए । तत्कालीन महेन्द्र पुलिस क्लबका स्थायी जागिरे उनले सन् १९९६ देखि ९८ सम्म भारतको इस्ट बंगाल क्लब, सन् २००० मा बंगलादेशको वारि क्लब, २००१ मा बंगलादेशकै फहरगन्ज क्लब, २००२ मा बंगलादेशकै मोर्डन स्पोर्टस् क्लब र सन् १९९३ को करिब ३ महिना मलेसियाको पलिस क्लबमा अनुबन्धित भएर फुटवल खेले र अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो कौसल देखाए ।
फुटबलमा गोल गर्न धेरै मेहनत गर्नुपर्ने चौधरी सम्झन्छन् । टेक्निक, टिमवर्क र हार्डवर्क नै फुटबल जित्ने उपाय भएको उनको अनुभव छ । अहिलेको नेपाली फुटबल टोलीमा पनि उनले त्यो देखेका छन् । नेपाली फुटबलको राम्रो सम्भावना देखेका चौधरी खेलाडी पलायन हुने त होइनन् भन्नेमा भने चिन्ता व्यक्त गर्दछन् ।
देवनारायणले सन् १९९८ मा विश्व कप प्रि क्वालिफाइड म्याच ओमन र जापानमा खेले भने सन् २००२ मा उज्जेकिस्तान र इराकमासमेत खेल्ने अवसर पाएका थिए । सन् १९९३ मा पाकिस्तानको लाहोरमा भएको सार्क गोल्डकप फुटबलमा चौधरीले नै गरेको गोलमा नेपालले कास्य पदक जितेको थियो । त्यसैगरी सन् १९९९ मा काठमाडौंमा सम्पन्न साग खेलकुद प्रतियोगितामा उनकै नेतृत्वमा रहेको नेपाली टोलीले रजत पदक जितेको थियो । चौधरीले सागको चौथो संस्करणदेखि आठौं संस्करणसम्म खेल्ने अवसर प्राप्त गरेका थिए ।

DevNarayan Chaudhary 03

पुलिस क्लबका देवनारायण
बुवा ठकनलाल र आमा गउदी चौधरीका ३ भाइ छोरामध्ये देवनारायण कान्छा हुन् । मोरङको सिध्रा गाविस–१ मा जन्मिएका देवनारायणका श्रीमती र एक छोरा छन् । देवनारायण सानैदेखि फुटबलमा रुची राख्ने व्यक्ति थिए । गाउँमा सानैदेखि कपडाको बल बनाएर साथीसंगीसँग फुटबल र भलिबल खेल्दै आएका चौधरी गाउँमा हुने स्थानीय प्रतियोगितामा सहभागी हुन्थे । विराटनगरमा आयोजना भएको जिल्लास्तरीय खेलमा फुटबल हेर्न आएका तत्कालिन डिएसपी (जो खेलाडी समेत थिए) रुपकराज शर्माले उनको खेलमा केही नयाँपन देखे । चौधरीको खेलकौशल देखेर लोभिएका डिएसपी शर्माले नै उनलाई काठमाडौं गएर खेल्न सुझाए । स्थानीय प्राध्यापक ध्रुव क्षेत्रीको सिफारिसमा उनी काठमाडौंमा महेन्द्र पुलिस क्लबमा अनुबन्धन हुन पुगे । उनलाई प्रहरीले फुटबल खेल्नकै लागि भर्ना गरेको थियो । उनी सन् १९९० मा भारत मद्रासको केरलामा भएको अन्डर–१९ क्वालिफाइड खेलका लागि छानिए । त्यसपछि उनी सन् १९९१ मा उत्तर कोरिया ओलम्पिक क्वालिफाइटका लागि छनोट भए र खेल्ने अवसर पाए । त्यसैगरी सोही वर्ष श्रीलंकाको कोलम्बोमा भएको पाँचौं साग गेममा समेत उनी सहभागी हुन पुगे ।

DevNarayan Chaudhary

अमेरिका पलायन
सन् १९८९ देखि २००९ सम्म प्रहरी क्लबमा रहेर फुटबल खेलेका चौधरीले पेन्सन आउने बेलामा खेलजीवन त्यागेर अमेरिका भासिए । खेलबाट जीवन धान्न नसकिने निष्कर्षका साथ उनी अमेरिका भासिएका हुन् ।

फुटबलमा गोल गर्न धेरै मेहनत गर्नुपर्ने चौधरी सम्झन्छन् । टेक्निक, टिमवर्क र हार्डवर्क नै फुटबल जित्ने उपाय भएको उनको अनुभव छ । अहिलेको नेपाली फुटबल टोलीमा पनि उनले त्यो देखेका छन् । नेपाली फुटबलको राम्रो सम्भावना देखेका चौधरी खेलाडी पलायन हुने त होइनन् भन्नेमा भने चिन्ता व्यक्त गर्दछन् । खेलाडीलाई राज्यले उचित सम्मान दिए नेपालको फुटबल भविष्य उज्ज्वल रहेको उनको ठहर छ । -दैनिक नेपालबाट साभार

उनीबारे बनाइएको छोटो वृत्तचित्र हेर्नुस्

Leave a Reply

Your email address will not be published.