मधेस समस्या समाधान नगरे प्रधानमन्त्रीको भारत भ्रमण सफल हुँदैन : महतो

Rajendra Mahatoसदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस समस्या समाधान गरेर भारत गएमात्रै भ्रमण सफल हुने दाबी गरेका छन् । ‘प्रधानमन्त्रीको भारत यात्रा यसै छाडेर फलदायी हुँदैन,’ काठमाडौंमा शनिबार भएको साक्षात्कारमा महतोले भारतीय जनताको समर्थन मधेस आन्दोलनमा रहेको दाबी गर्दै भने, ‘मधेस आन्दोलन समाधान गर्ने संकेत गरेर भ्रमणमा गए भारतीय जनताको सद्भाव पाउँछन् ।’

महतोले भारत विरोधी भावनाले नेपालको भलो नहुने भन्दै चीनसहितका मुलुकहरुले नेपालमा सहयोग गर्नु सकारात्मक भएकोले त्यसलाई अन्यथा रुपमा नबुझ्न आग्रह गरे ।

सीमांकन गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यादेशमा मधेसमा दुई प्रदेश हुने छ भनि लेख्नु पर्ने अडान आफूहरुको नभएको महतोले बताए ।

मधेस आन्दोलन जारी रहेकोले अहिले केवल स्वरुप परिवर्तन मात्रै भएको उल्लेख गरेका महतोले अहिलेको यो महत्वपूर्ण समय सदुपयोग गरेर मधेस समस्याको समाधान खोज्नु पर्ने धारणा राख्दै नभए चैत्र बैशाखमा घनघोर आन्दोलन हुने चेतावनी दिए ।

महतोले वीरगञ्ज नाकामात्रै बन्द गरेर सरकारलाई दवाव नपरेकोले त्यसलाई निरन्तरता दिइरहनु आवश्यक नभएको भन्दै मधेसी मोर्चाले आफूलाई कारवाही गरेको कुरा मिडियाबाजी मात्रै भएको बताए ।

उनले भने, ‘कुन नेताले के भने मलाई थाहा छैन । मिडियामा कारबाही भएको हो । मोर्चाले कारवाही गरेको छैन । सचेत गराउने भन्ने कुरा मोर्चाको आन्तरिक कुरा हो ।’

Leave a Reply

Your email address will not be published.