हे प्राण प्रिय,
न्यानो माया र अगाध सम्झना
पत्थर भन्थे सबै मेरो मनलाई, बालुवाझैँ कणकण बनायौँ।।
काँडा देख्थे सबै मेरो जीवनलाई, गुलाबझैँ पत्रपत्र बनायौँ।।।
प्रिय, तिम्रो र मेरो भेटघाट नभएको नि धेरै भयो है। भेटघाट नभए पनि अधुनिक युगमा सञ्चार र प्रविधिको अधिकतम प्रयोग गरिरहँदा तिमी र म पनि अछुतो त कहाँ छौँ र। मोबाइलबाट प्रत्येक दिन गफिँदा आराम कुलताको जानकारी त भइहाल्छ र पनि यो विशेष पत्रमार्फत आराम रहेको र आरामै होला भन्ने अपेक्षा गर्दै यो पत्र तिम्रो नाममा समर्पित गर्दै कोरेको छु। स्विकार ल प्रिय…
जीवनको पच्चिस बसन्त नि पार भएछौ। तिमीलाई विवाहको लागि पारिवारिक दबाब अउँछ होला। तर, हेर न हामीलाई अझै विवाहको लागि परिपक्व नै भएका छैनौजस्तो लाग्छ। प्रिय, हामी सँगै पढ्ने सँगै प्रेम जोडी बनेकाहरु कति त विवाह बन्धनमा बाँधिएछन् हगि। अ साँच्ची एउटा जोडी जसले तिम्रो र मेरो मिलन गराउनमा महत्वपूर्ण भुमिका खेलेथे नि, बिचरा! उनीहरुको त जातै नमिलेको भनेर परिवारका सदस्यहरु सम्बन्ध अस्विकारेको कारण बिछोड भएको खबर सुन्दा कस्तो नमज्जा लगेको थियो।
परम्परावादी र आधुनिकताबीच हामी कस्तो नमज्जाले पिल्सिएका छौ है प्रिय। त्यसो त हाम्रो जोडीको पनि उस्तै त छ नि व्यथा। तिमी कता म कता। सूचना प्रविधिको यति विकास नहुँदो हो त हामी पनि महिनौ कुरेर पत्रको जवाफ पाउँथ्यौ अनि फेरि अर्को महिनासम्म उही प्रतीक्षा गर्ने कार्य दोहोर्याउथ्यौँ होला है। हामी अलि ढिला जन्मिएको नि ठीकै भयो। प्रविधिको भरपुर प्रयोगले तिम्रो र मेरो दूरी नजिकसरह बनाइदिएको छ। चाहेकै बेला यादका प्यास मेटाउन सक्छौं। हामी कति भाग्यमानी है।
प्रिय, मलाई मेरो प्रेमप्रति यति गर्व लाग्छ कि अरु दौतरीहरुको प्रेमीहरुले शंका गरेको देख्दा आफ्नो प्रेमप्रति अविश्वास गरेको देख्दा लाग्छ म यो संसारका धेरै प्रेमिकाभन्दा भग्यमानी रहेछु। जसले तिमीजस्तो प्रेमी पाएको छु। समाजका मानिहरुले तिमीलाई सुनाउँदै भन्छन् होला है- सबै विवाह गरेर छोराछोरी पाइसके तिमीचाहिँ कहिले गर्ने नि? तिम्रा दौतरीहरुले आफ्ना प्रेमिकासँग गरेका प्रेमलापका कथा सुनाउँदा तिमीलाई कति डाहा लाग्दा हो है। तिम्रो घर परिवारमा मेरोबारेमा कुरा हुँदा सानैदेखि राजनीति र समाजमा वकालत गरेर हिँड्ने घरभित्रको काम केही नजान्ने कसरी तेरो घर चल्छ, कस्तो केटीसँग सम्बन्ध गाँस्न पुगेछ भन्दा पनि तिमी कहिल्यै मेरो उद्देश्य र मेरो कामप्रति गुनासो गरेनौँ। यस्तो अवस्थासम्म नि तिमीले मलाई सधैँ ऊर्जा दिन्छौँ। तिमीले यो समाजका महिलाहरुको प्रतिनिधि हौ जसले महिलाहरुलाई न्याय दिलाउनका लागि लडिरहेको छ, तिमी अझै लड्नुपर्छ भन्छौँ।
प्रिय कहिले काहीँ म कति निस्ठुरी प्रेमिका रहेछुजस्तो नि लाग्छ। तिम्रा नि रहर होलान् प्रेमिका सँग घुम्ने, तर तिमी घुम्ने समय माग्दा तिम्री यो प्रेमिका सामाजका कूरितीहरुलाई कसरी यो समाजबाट हटाउने भन्दै गाउँ गाउँ घुम्न निस्किन्छे। तिमीले आफ्ना सम्पूर्ण इच्छा थाँती राखी मेरो अभियान अघि बढाउने ऊर्जा दिँदै अनुमति दिन्छौँ। तिमीले मसँग प्रेमिल गफ गर्ने भन्दै फोन गर्दा म दिनभरी भएको राजनीतिक विषयमाथिको बिश्लेषण सुनाउँदा सुनिदिन्छौँ। अरु भए झुर र अरोमान्टिक प्रेमिका भन्थे होलान्। तर तिमीले मलाई थप सल्लाह सुझाव दिन्छौँ, तिम्रो र मेरा जीवनका प्रत्येक पाइला पाइलामा तिमी ऊर्जाको रुप लिन्छौँ। तर म भने तिमीलाई कहिल्यै एउटा असल प्रेमिकाको भूमिका खेलिन कि? तर तिमी गुनासो कहिल्यै गरेनौँ तिमी कति माहान छौँ प्रिय।
हाम्रो जोडी पनि कस्तो अचम्मको है। न पेसा मिल्छ, न स्वभाव मिल्छ, केवल मिल्छ त मन। तिम्रो मनको भावना मैले र मेरो मनको भवना तिमीले बुझेरै त होला है प्रिय हाम्रो प्रेम सम्बन्ध टिकेको। सबैका प्रेमीहरु सहर पस्छन् तर तिम्रो प्रेमिका सहर पसिन्। तिमी गाउँ घरका मानिस लाई जनचेतना जगाउँदै होस्टे मा हैँसे गरिरहँदा तिम्री प्रेमीका सहरमा आफ्ना समुदायको पहिचानका लागि राजनीतिक लडाइँ लडिरहेकी हुन्छे। तिमी गाउँका किसानलाई बिउबाली कसरी लगाउने भनेर सिकाइरहँदा तिम्री प्रेमिका आफ्नो च्याम्बरमा बसेर न्यायबाट वञ्चित भएकालाई न्याय कसरी पाउने भनेर उपाय बताइरहेकी हुन्छे।
तिमी गाउँको विकासका निमित्त चौतारीमा बसेर पैरबी गरिरहँदा तिम्री प्रेमिका अदालतमा उभिएर समाजका अन्यायीहरुविरुद्ध बहस पैरबी गरिरहेकी हुन्छे। तिमी प्रेमीका भन्दा कोषौ टाढा भएर यादले सताउँदाको विडम्बना, अनि सँगै बसेर गफ गर्न नपाउँदाको सकस, केवल माया अनि अगाध प्रेमले भरिपूर्ण सम्झना अरुसँग बाँडेको कुरा सुनाउँदा म प्रेमीले धोका दिएका, अनि श्रीमानले दुःख दिएर सहनै नसक्ने भएरकाहरु पारिवारवाट दुर्व्यवहार गरिएकाहरुकाको उद्धारका निमित्त म मुद्दा लेखिरहको हुन्छु। तिमी पनि त यही समाजको पुरुष हौ। तैपनि उत्साहित हुँदै मलाई उचित तर्कहरु सिकाउँछौँ। अरुका नजरमा हामी दुई फरक धार अलग बाटोमा हिँडेका दुई व्यक्ति कहिल्यै मिल्नै नसक्ने असम्भव जस्तो देखिए पनि हामी आज अगाध माया अनि अटुट विश्वासका कारण एक छौँ।
तिमीजस्तो मेरा धेरै दौतरीहरुको श्रीमान र प्रेमीहरु भैदिएको भए मजस्तै धेरै महिलाहरु राजनीतिक र सामाजिक कार्यमा आफ्नो योगदानहरु दिन पाउथे होलान्। आफूभित्र भएका सिर्जनात्मकता देखाउन पाउँथे, अनि त है हामी महिलाहरु पनि संविधानले दिएको स्तन्त्रताको हक बराबरीको हकको सुनिश्चित भएको अनुभव गर्न पाउँथिम म जस्तै हे हे!! तर सोँचेजस्तो कहाँ हुन्छ र जीवन। सबै तिमीजस्तै बुझक्की अनि मजस्तै भाग्यमानी प्रेमीका कहाँ हुन्छन।
हे प्रिय हामीले धेरै त्याग गरेको छौँ। केवल हाम्रो समाजको लागि आफ्नो समुदायको पहिचानका निमित्त अनि उचित अधिकारका लागि तर अझै सुन्ने पक्षले सुनुवाई गरेको छैन। लडाइँ जारी छ। लैला र मजनुले आफ्नो इतिहास अगाध मायाका लागी रचे। तिम्रो र मेरो प्रेमको इतिहास हाम्रो समुदायको पहिचान प्राप्तिका निमित्त रच्नुपर्छ। प्रेमको परिभाषाअनुसार हामी प्रेमी प्रेमीका बन्न नसकौला, गुलाब दिवसका दिन गुलब पाठाउन नसकौला, प्रणय दिवसका दिन तिमीसँग डेटिङ जान नसकुला तर प्रिय यो त सबैले गर्छन्। हाम्रा पनि प्रेमिल दिनहरु अवश्य आउनेछन्। तर पहिचान गुम्यो भने भावी सन्नतीहरुले हामीलाई सराप्नेछन्। तिमी त सब कुरा बुझ्छौ नि है। तिम्री प्रेमिकाले सहरबाट पहिचान र अधिकारको लडाइँ जितेर अवश्य आउनेछिन्। प्रतिक्षा गर्नु है। अरु वर्षझैँ यसपालीको प्रणय दिवस पनि तिमी गाउँमा अनि म सहरमा एक्ला एक्लै मनाउ है प्रिय। जति टाढा भए पनि तिम्रो लागि मेरो मुटुको सात पत्रभित्र सम्म पनि तिमीले नै बास गरिरहेका छौँ। मैले फेर्ने प्रत्येक सासमा तिमी नै तिमी छौँ। एक दिन पक्कै अउनेछ सँगै प्रणय दिवस मनाउने, प्रेमलापमा डुबुल्की मार्दै केवल तिमी र म। प्रिय यसपालीको प्रणय दिवसको लागी मेरो तर्फबाट हृदयभित्रबाट उत्पादित यही शब्द पुञ्जहरु उपहारस्वरुप स्वीकार्नु है।
उही तिम्री प्रेमिका
गिता दृष्टि
कंचनपुर
हालः काठमाडौँ