महिला फुटबलमा नेपालको दोस्रो जित, दुई पदक थप

Woman Fotball

बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) फुटबल प्रतियोगिता अन्तर्गत आज महिला फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । 

भारतको सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो । नेपालले यसअघि भएको उद्घाटन खेलमा बङ्गलादेशलाई ४–० गोलअन्तरले पराजित गर्दै पहिलो जित दर्ता गराएको थियो ।

नेपाली टोलीका कप्तान अनु लामाले खेलको पहिलो हाफको ३६औँ मिनेटमा सावित्रा भण्डारीले दिएको पासलाई सदुपयोग गर्दै नेपाललाई पहिलो अग्रता दिलाइन् । त्यस्तै नेपालका लागि दोस्रो अग्रता भने नीरु थापाले लिइन् । उनले खेलको ८८औँ मिनेटमा गोल गरेकी थिइन् । नेपालले आफ्नो तेस्रो खेल यही माघ २८ गते आयोजक भारतसँग खेल्नेछ ।

नेपाललाई थप दुई पदक
भारतको अर्काे स्थान सिलाङमा जारी साग खेलकुदअन्तर्गत नेपालले आज थप दुई हात पारेको छ । उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता गुरुङले रजत पदक हात पार्न सफल हुनुभएकोे छ । थप दुई रजत पदकसँगै नेपालको पदक सङ्ख्या पाँच पुगेको छ । तिनमा रजत तीन र कास्यपदक दुई छन् । नेपालले शनिबार रजतसहित तीन पदक प्राप्त गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published.