मुसाको मासु कति सुरक्षित ?

musaलखन चौधरी / कैलाली
पश्चिम नेपालको थारू समुदायमा मुसाको मासु खाने प्रचलन उहिल्यैदखि चल्दै आएको छ । तर प्रमुख परिकार मध्ये एक मानिने मुसाको परिकार अब कतिको सुरक्षित तथा खान योग्य छ ? भन्ने कुरा बहसमा तानिएको छ । पछिल्लो समय सुदूरपश्चिमाञ्चल क्षेत्रमा मुसाबाट सर्ने ’स्कर्ब टाइफस“ नामको रोगको सङ्क्रमणको समस्या बढ्दै गएपछि सबैको ध्यान केन्द्रीत भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक शिवदत्त भट्टका अनुसार विगत पाँच/छ महिनायता यस क्षेत्रमा यो रोगको सङ्क्रमणबाट ५६ जना बिरामी भएकोमा तीन जनाको मृत्यु भएको छ । यो रोगबाट मृत्यु हुनेमध्ये एकजना जनस्वास्थ्य कार्यालय कैलालीका कर्मचारी पनि रहेको तथ्य वाहिर आएपछि मुसाको परिकार बनाई उपभोग गर्ने समुदायलाई सोच्न बाध्य बनाएको छ ।

सेती अञ्चल अस्पताल धनगढीका अनुसार उपियाँ, उडुस लागेको मुसाले मानिसलाई टोक्दा यो रोग सर्ने गर्दछ । रोग लागेपछि बिरामीको आँखा रातो हुने, धेरै ज्वरो आउने, हात खुट्टा दुःख्ने भई समयमै उपचार नपाएमा किड्नी, कलेजोमा असर पार्नुका साथै, रक्तसञ्चार प्रणालीमा जटिलता उत्पन्न गराउने बताइएको छ । समयमै उपचार भएमा रोगको उपचार सम्भव भए पनि उपचार पाउन नसक्नेको विभिन्न जटिलता उत्पन्न भई मृत्युसमेत हुन सक्ने बताइएको छ ।

यस क्षेत्रका डडेलधुरा, बैतडी, अछाम, दार्चुला, डोटी जिल्लाको तुलनामा कैलाली, कञ्चनपुर जिल्लामा यो रोगको समस्या बढी देखिएको बताइएको छ । डा. शुभेषराज कायस्थ नेतृत्वको चिकित्सकको टोलीले गएको साउन, भदौ र असोजमा तीन महिना लगाएर यो रोगबारे अध्ययन अनुसन्धान गरेको थियो ।

मुसाले टोक्दा रोग सर्ने भएता पनि पशु रोग विशेषज्ञहरु मासुलाई राम्ररी पकाएर खाँदा रोग नसर्ने बताएका छन् । जिल्ला पशु सेवा कार्यालय कैलालीका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डिकरदेव भट्टले मानिसको रगत संग मुसाको रगत प्रत्यक्ष सम्पर्कमा आएमा रोग सर्ने जानकारी दिए । तर राम्ररी पकाएर खाँदा भने नसर्ने उनको भनाई छ । मुसाको काँचो मासु तथा रोगी र घाउ खटिरा भएका मुसाको मासु भने नखानु नै बृद्धिमानी हुने चिकित्सक भट्टको सुझाव छ ।

Leave a Reply

Your email address will not be published.