सन्तोष दहित
हरेक वर्ष माघीमा चयन गरिने महटावा प्रथाको काम सवै थारु गाउँमा सकिएको छ। लोकतान्त्रिक अभ्यासले महटावा चून्ने प्रक्रिया भनिएता पनि पछिल्लो चरणमा सामन्यतया प्रस्तावकै आधारमा महटावा चयन गरिएको छ। अर्थात पहिलाकै महटवालाई नै निरन्तरता दिइएको छ। दुई चार गाउँमा लोकतान्त्रीक अभ्यासले महटावा चयन भएपनि अधिकांस गाउँमा भने वंशकै आधारमा अर्थातम पहिलाकै महटावालाई निरन्तरता दिनेगरि महटावा चयन गरिएको छ।
केही गाउँमा बाहेक सबै थारु गाउँम पहिलाकै महटावालाई नै चयन गरिएको महटावा महासंघ दाङका अध्यक्ष एवम त्रीपुर नगरपालिका १ जलौरा गाउँको महटावा समेतरहेका चन्द्रप्रसाद चौधरीले जानकारी दिए। उनलेभने–’ म ७० वर्षको भइसके अझैपनि म महटावा नै छु, अहिलेको माघीमा पनि गाउँलेले सर्वसम्मत तरिकाले आफुलाई महटावा बनाए।’ ‘बुबाको देहान्तभएपछि गाउँका गरधुर्यापहरुले मलाई महटावा बनाएकाथिए चौधरीले भने–, ‘अहिले महटावामा काम गर्न लागेको ४० वर्षभन्दा बढी भइसेको छ।’ उनको वंशमा बाजे पनि महटावा थिए, बाजेको देहान्त भएपछि उनको बुवा मटहवाँ थिए, अहिले उनि महटावा छन्। फेरि यो माघीबाट उनी मटहवाँ नै भए। अझैपनि थारु गाउँमा महटावा हुने प्रक्रिया बशंजकै आधारमा हुने कुरा उनले स्विकारे। विगतमा राज परिवारमा राजा बनाउदा राजाकोको देहान्त भएपछि राजाको जेठो छोरालाई राजा बनाइन्थ्यो, त्यस्तै नै थारु जातिमा महटावा अशक्त भएको खण्डमा या महटावाको देहान्त भएपछि महाटावाको जेठा छोरालाई महटावा बनाइन्छ। तर अहिले देशमा राजा भने छैनन्, तर थारु गाउँमा भने अझै यो प्रक्रियालाई कायमै रहेको छ।
त्यतिबेला राजाले सिंगो देशको शासन अर्थात सरकार चलाउथे भने महटावाले गाउँका स्थानिय सरकार। तर महटावा शासन भने अलि फरक छ। गाँउको विकासको काममा महटावा आफै खटछन् त्यसैगरि गाँउका झै–झगडा मिलाउनेमा पनि आफै अगाडी सर्छन्, न्यायलयको काम होस या प्रशासनको काम किन नहोस सवै ठाउँमा उहि महटावा नै अगाडी सर्छन। महटावाले गर्ने काम, अधिकारको बारेमा हरेक वर्ष माघीमा छलफल हुन्छ। हरेक वर्ष गाउँका मटहवाँको घरमा छलफल हुन्छ, गाउँको विकासको बारेमा समीक्षा हुन्छ, त्यहि बेला नै गाँउको वार्षिक कार्ययोजना बनाइन्छ, नियम, कानुन त्यो पनि अलिखित रुपमा। त्यहिबेला फेरी एक वर्षको कार्यकालको लागि मटहवाँ बनाइन्छ। लगभग एउटै बंशका आधारमा मटहवाँ चुनिन्छन्, त्यो पनि परिवारको जेठो छोरा, महटावा छोरा नभएको खण्डमा महटावाको भाईलाई महटावा बनाइन्छ।
बंशको आधार महटावा चयन हुनु अर्थात मटहवाँ प्रथा पुर्ख्यौली तथा एउटै घरानामा दोहोरिनुको कारण अरुलाई अनुभव हुदैन, त्यसैले बंशकै आधारमा महटावा चयन भएको देखिन्छ,–महटावा महासंघ दाङका जिल्ला सदस्य एवम घोराही नगरपालिका २ कर्जाहीका लक्ष्मण चौधरी भन्छन्, उनी पनि यही माघ २ गते बिहान बसेको गरधुर्यानहरुको बैठक अर्थात ‘माघी देवानी’ बाट फेरि मटहवाँमा सर्वसम्मत चयन भएका हुन्।
‘माघीको सबैभन्दा महत्वपूर्ण पाटो भनेको महटावा चयन गर्ने हुन्छ, मटहवाको बारेमा छलफल हुन्छ, वर्षभरि उसले गरेको कामको बारेमा समीक्षा हुन्छ, त्यसैगरि गाउँमा भएको सम्पुर्ण कामको लेखाजोपनि हुन्छ, अनि फेरि मटहवाँको लागि प्रस्ताव हुन्छ, उनले भने– ‘उमेरले नसकेमा अर्थात महटावाको देहान्त भएको अवस्थामा उसको जेठो छोराको प्रस्ताव हुन्छ, त्यो पनि सम्भव नभए उसकै खानदानको अर्काेलाई प्रस्ताव हुन्छ तर, सित्तिमित्ति अर्काेले इच्छा गर्दैन।’
महटावाको काम भनेको गाउँको अगुवाई गर्ने, गाउँको विकासको काम गर्ने, झै भगडा भएको बेला मिलाईदिने, दुःख परेकालाई सहयोग गर्ने, देविदेवतालाई पूजापाठ गर्ने लगायत काम हुन्छ लक्ष्मण भन्छन्,– ‘यो एउटा शासन नै हो, सबै गाउँलेले मानेको अनि पत्याएको, महटवा आफैंमा एउटा न्यायालय पनि हो।, मानौ एउटा एक प्रकारको स्थानीय सरकार नै हो ।’ हुनपनि पुलिस प्रशासनकहाँ पुग्नुभन्दा पहिले गाउँघरका झैझगडा, कुलोपानी, घरपरिवारको विवाद अनि अरु मुद्दा मामिलासमेत महटाकहाँ नै जान्छन्। ज्यान मार्ने उद्योगको बाहेक अन्य सबैजसो मुद्दाहरु मटहवाँले सजिलै मिलाइदिन्छन्। गाउँका मटहवाँलाई थारुमात्रै होइन, पहाडेहरुले समेत उत्तिकै मान्छन्। गाउँघरका हरेक महत्वपूर्ण कामका बेला सबैभन्दा पहिला महटावाकै अनुमति लिइन्छ। ‘यो हाम्रो कुनै लिखित कानुनमा चलेको शासन भने हैन’ उनले भने ‘तर, अदालतले दश वर्षसम्म मिलाउन नसकेका मुद्दाहरु हामी मटहवाले दुवै पक्ष खुसी हुनेगरि मनाउँछौँ।’
विगत ६ वर्षदेखि लगातार मटहवाको जिम्मेवारीमा रहँदै आएका लक्ष्मण अहिले ५२ वर्षका भए। यसअघि उनका काकाका छोरालाई मटहवाँ बनाइएको थियो। तर, उनको काम चित्तबुझ्दो नभएपछि फेरि लक्ष्मणलाई नै मटहवाँ बनाइयो। त्यसअघि उनकै बुवा मटहवाँ थिए।
मटहवाँ प्रथा अहिले अलि फेरिएको छ। पहिलेका मटहवाँ थारु गाउँका राजा सरह नै हुन्थे। मटहवाँको घरमा निरन्तर सबै गाउँले पालैपालो बेगारी (निशुल्क काम) गरिदिनुपर्थ्याे। उसको घरको बालीनाली स्याहार्नेदेखि घरको अन्य काममा समेत महटावाको आदेश पालना गर्नुपर्थ्याे। ‘तर, अब यो चलन अलि फेरिएको छ, अब पहिलाको जस्तो जमाना पनि छैन’ उनी भन्छन् ‘अहिले पनि बेगारी त चल्छ तर, गाउँलेहरुको निर्णय अनुसार अब हामीले सबैलाई पारिश्रमिक दिन्छौँ।’
पश्चिम तराईका दाङ, बाके, वर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका गाउँमा रहेका मटहवाँहरु मिलेर बनाएको बडघर, भलमन्सा, मटहवाँ महासंघले पनि अहिले यो महटावा प्रथा र यसले स्थापित गरेका मान्यताहरुलाई संवैधानिक हैसियत दिन सरकारसँग माग गरिरहेको छ। ‘हाम्रा मौलिक संस्कृति अनि संस्कारले स्थापित गरेका मान्यताहरुलाई संवैधानिक हैसियत दिनुपर्छ’ महासंघका केन्द्रीय अध्यक्ष एवम नेपाली काँग्रेस दाङका सांसद डिल्लीबहादुर चौधरी भन्छन् ‘हामीले समानान्तर हैसियतको सरकार चलाएका होइनौँ, परम्परालाई निरन्तरता दिएका हौँ र, यो प्रथाले स्थापित गरेका मान्यताहरुलाई सबै जनताले मानेका छन्।’ उनलेभने–’यतिमात्र नभएर योे परम्परा हाम्रो पहिचानसंग जोडिएको छ, यसको संरक्षण र प्रवद्धन गर्ने भनेको राज्यको दायित्व हो, फेरी यो परम्परालाई थारु गाउँमा बस्ने सवै समुदायका मानिसले पनि मानिदै आएकाछन्, राम्रो भएकोले त सवैले मानेका होलान चौधरीले भने। यदि राम्रो परम्परा र सस्कार राम्रो छैन भने राज्यले गलत छ भनि सावित गर्नु पर्योो, होइन भने यसलाई कुनै पनि हालतमा राज्यले मान्यता दिनुपर्छ चौधरीको भनाई थियो।
अहिले पनि दाङमा मात्र चार सय भन्दा बढि महटावा रहेको अध्यक्ष चौधरीले जानकारी दिए। उनका अनुसार महटावा प्रथालाई मान्यता दिलाउनको लागि यहि चैतको मसान्तमा दाङमा तराईका ६ जिल्लाका करिब तीन हजार भन्दा बढी महटावाहरुको भेला हुदैछ। त्यहि भेलाबाट महटावा प्रथालाई राज्यबाट मान्यता दिलाउनको लागि दबाब दिने त्यतिपनि नभए महटावाहरुको अधिकारको लागि आन्दोलन पनि गर्ने चौधरीको भनाई थियो।