सबैभन्दा भ्रष्ट नेता र कर्मचारी, दोस्रोमा प्रहरी, वकिल र तेस्रोमा न्यायाधीश

nepali-noteशासनसत्ताको केन्द्रबिन्दुमा रहेका राजनीतिकर्मी (नेता–कार्यकर्ता) र निजामती कर्मचारीबाटै मुलुकमा सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको एक अध्ययनले औंल्याएको छ। नागरिक दैनिकअन्तर्गत रिसर्च ब्युरो (एनआरबी) ले मुलुकका ३३ जिल्लाका १ हजार ७० जना विभिन्न क्षेत्रका नागरिकबीच गरेको सर्वेक्षणले राजनीतिकर्मी र सरकारी कर्मचारी सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त रहेको देखाएको हो। नेता र कर्मचारीपछि शान्ति–सुरक्षाको जिम्मेवारी लिएका प्रहरी दोस्रो नम्बरका भ्रष्टाचारी हुन्। अध्ययन नतिजाले न्यायसम्पादन क्षेत्रका न्यायाधीश र उनीहरुलाई न्यायकर्ममा सघाउने वकिललाई तेस्रो नम्बरमा भ्रष्ट देखाएको छ।

सर्वेक्षणमा समावेश भएकाहरुले चौथो नम्बरमा समाजसेवाको पगरी गुथेका गैरसरकारी संस्थामा कार्यरत एनजिओकर्मीलाई औंल्याए। अझ आश्चर्य त पाँचौं स्थानमा ती व्यक्ति भ्रष्ट देखिए जो भ्रष्टाचार नियन्त्रण क्षेत्रकै जिम्मेवार निकायमा कार्यरत छन्।

सर्वेक्षणमा भाग लिनेहरूको धारणाले मुलुकको कार्यपालिका, न्यायपालिका र भ्रष्टाचार नियन्त्रण–नियमन निकाय नै जनताका नजरमा प्रमुख भ्रष्टाचारी रहेछन् भन्ने देखाएको छ ।

सर्वेक्षणबाट प्राप्त तथ्यांकमा राजनीतिकर्मीलाई ८४ प्रतिशतले भ्रष्टाचारी भनेका छन् भने सरकारी कर्मचारीलाई ८२ प्रतिशत । प्रहरीलाई भ्रष्टाचारी भन्नेहरू ६१ प्रतिशत छन् ।

वकिल र न्यायाधीशलाई भ्रष्टाचारी भन्नेहरू क्रमशः ३६ र ३७ प्रतिशत छन् । एनजिओकर्मीमाथि औंला ठड्याउने ३२ प्रतिशत छन् भने भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायका अधिकारीलाई २७ प्रतिशतले अधिक भ्रष्टाचारी औंल्याएका छन् ।

राजनीतिकर्मी र सरकारी कर्मचारीलाई भ्रष्टाचारीको आरोप लगाउनेहरूको संख्यामा २ प्रतिशत मात्र अन्तर छ । अझ न्यायाधीश र वकिलमा त एक प्रतिशत मात्र ।

नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published.