प्रहरी गोलीले तीनको मृत्यु

Dropati

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र सत्तारुढ एमाले कार्यकर्ताबीच झडपमा प्रहरीको गोलीले बिहीबार तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय द्रोपतीदेवी चौधरी (५८), शिवु माझी (२०) र महादेव ऋषिदेव (२८) छन्। घटनामा १५ जनाभन्दा बढी घाइते छन्।
एमाले भ्रातृसंगठन युवासंघको कार्यक्रम बिथोल्ने क्रममा प्रहरीसँग दोहोरो झडप भएको थियो। कार्यक्रम बिथोल्न मोर्चाका कार्यकर्ता अघि बढेपछि प्रहरीले रोक्ने क्रममा गोली चलाउँदा घटना भएको हो।

कार्यक्रममा सहभागी हुन आएका एमाले कार्यकर्तालाई बाटैमा रोकेपछि दुई समूहबीच त्यसअघि नै झडप सुरु भइसकेको थियो। रंगेली–४, चोपडाकी चौधरीलाई पूजाको प्रसाद खाएर फर्कंदै गर्दा रंगेलीस्थित कालीमन्दिरनजिकै प्रहरीको गोली लागेको र उनको घटनास्थलमै मृत्यु भएको पति कृष्णले जानकारी दिए।

लगत्तै नजिकैको पूर्वी बजार डायनियामा प्रहरीको गोलीले शिवु माझी (२०) को मृत्यु भएको हो। उता, रंगेली झडपमा दायाँ कोखमा गोली लागेका टकुवाका ऋषिदेवको उपचारक्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको थियो।

मोर्चाको एउटा समूहले रंगेली आउँदै गरेका युवा संघ कार्यकर्तालाई डायनियामै रोकेको थियो। रंगेलीको झडपमा चौधरीको मृत्यु भएलगत्तै आक्रोशित कार्यकर्ताले युवा संघ कार्यकर्ताको रोकिराखेको गाडी आगजनी गर्न थालेपछि प्रहरीसँग फेरि झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली माझीलाई लागेको थियो।

रंगेलीको काली मन्दिरनजिकको झडपमा गोली लागेका ऋषिदेवको विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो। गोल्डेन अस्पतालका निर्देशक सनातन मण्डलले कोसी अस्पतालबाट रेफर गरी ल्याइएका ऋषिदेवको उपचारक्रममा मृत्यु भएको बताए।

घाइते एक दर्जन आन्दोलनकारीको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ। अन्यको विराटनगरस्थित कोसी अस्पताल र रंगेलीस्थित जिल्ला अस्पतालमा उपचार जारी छ।

गोल्डेन अस्पतालका अनुसार घाइते धेरैको खुकुरीले शरीरका विभिन्न भाग काटिएको छ। मोरङका सहायक सिडिओ देवीवहादुर भण्डारीले रंगेली घटनामा तीन जनाको गोली लागेर मृत्यु भएको पृष्टि गरे। उनले रंगेलीको स्थिति सुरक्षा काबुमा रहेको बताए।

Leave a Reply

Your email address will not be published.