लक्ष्मण थारुको सानो झिल्को : सेक्स, युद्ध र जेल

कृष्णराज सर्वहारी

२०७२ साल भदौ २१ गते। नयाँ बानेश्वरको मसाला कटेजमा थारू एराउण्ड दी वर्ल्डले थारू तथा मधेशीहरूले गरेको अन्दोलनबारे एक अन्तक्रिया कार्यक्रम गरेको थियो। लक्ष्मण थारूको थापा गाउँस्थित थारू भिलेज होटलबाट उनी र मसंगै कार्यक्रमका लागि निस्कियौ।

कार्यक्रममा उनले बोलेका कुरा रेकर्ड गरेर हुबहु म आबद्ध अनलाइन मिडिया इण्डिजिनियस भ्वाइस डट कममा अपलोड गरें। त्यसको दुइ दिन लगत्तै भदौ २३ गते भैरहवामा हुने बिरोध सभाको तयारी गर्दै गर्दा टीकापुर घटनामा संग्लग्न भएको आरोपमा उनलाई गिरफ्तार गरिएको समाचार आयो। उनको गिरफ्तारीको समाचारको पहिलो ब्रेक थु्र पनि शायद इण्डिजिनियस भ्वाइस डट कमले नै गर्‍यो।

लक्ष्मण थारूसंगको मेरो चिनजान त्यति लामो होइन। उनी माओवादी पार्टी परित्याग गरी संयुक्त थारू राष्ट्रिय मुक्ति मोर्चा बनाएर सर्वत्र चर्चामा थिए। सोही मोर्चाको २०६५ जेठ २७ गते बाल जनता उच्च मावि, बनगाउँ दाङदेउखुरीमा राष्ट्रिय सम्मेलन थियो। सम्मेलनले मोर्चालाई थरुहट स्वायत्त राज्य परिषदमा परिणत गर्‍यो। हो, त्यही कार्यक्रममा उनीसंग पहिलो चिनाजानी भएको थियो। यी ७ बर्षमा उनको जीवनमा धेरै उतार चढाव आएको छ। उनको जीवनमा कैयो घुम्टी आएका छन्। ती सबै दस्तावेज पुस्तकको रूप लिन सक्छ।

सानो झिल्को

यो पुस्तक लक्ष्मण थारूको सानो झिल्को हो। भर्भराउँदो आगो बल्न अझै बाँकी छ। पुस्तकमा उनी आफू किन भएँ माओवादी भन्ने खुलासा त गरेका छन्। तर किन छाडे माओवादी त्यो पाटो अनुत्तरित छ। उनले मंगलसेन आक्रमणको बयान त गरेका छन्। तर त्यस्ता थुप्रै आक्रमणको बयान उनको मनभित्रै कैद छ। थरुहट तराई पार्टी गठन गरी उचाइ लिइरहेको बेला उनी किन एकाएक छिरे मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) मा? किन दुइ दुइपल्ट चुनाव हारे? टीकापुर घटनामा गिरफ्तार गरिएका उनी लगायत २२ जनाको रिहाइको पहल किन पार्टी सरकारमा हुँदा समेत भएन? यस्ता प्रश्नको उत्तर पुस्तकमा भेटिन्न।

Laxman Tharu Book- Sex- War And Jailपुस्तकमा उनको बालापनको मार्मिक बयान छ। एसएलसी दिनेबेला समेत मजदुरी गर्नु परेको तीतो यथार्थ छ। डेरामा साबुन किन्ने पैसा समेत नहुँदा साथीहरूको साबुन प्रयोग गरेबापत उनीहरूको जुठो भाँडा माझेको ब्यथा छ। जनयुद्धमा म्याक्सी लगाएर प्रहरीको आँखा छलेर भागेको रोमाञ्चक कथा छ। थरुहट/थारूवान आन्दोलन उचाइ लिन नसकेकोमा चित्त दुःखाइ छ। कारागारका कैदीहरूको यौनकुण्ठाको वर्णन छ। विदेशी युवतीसंगको प्रेम कथाले भरिएको यस पुस्तकको साइक्लोन शीर्षकको निवन्धले धेरै युवाहरूको ढुकढुकी बढाउनेछ। पुस्तकले नेता लक्ष्मण थारूलाई लेखकको रूपमा उभ्याएको छ। उनको जेल जीवन छोट्टियोस्। तर जति दिन जेल बस्लान्। जेल बसाइमा थप अनुभूति लेख्दै जाऊन्, यो सानो कृतिले मात्रै उनलाई चिनाउन काफी नभएकोले थप कृति दिदै जाऊन्। शुभकामना।

र, अन्तमा

लक्ष्मण थारू मेरा अभिन्न मित्र हुन्। म एक लेखक हुँ। उनको यो कृतिपछि लेखक मित्रको रूपमा समेत उनलाई स्वागत गर्न पाउँदा निकै खुशी लागेको छ। कारागारभित्र पनि लेखन वातावरण मिलाउने उनका मित्र मण्डलीहरूलाई साधुवाद दिन चाहन्छुँ। साथै, प्रस्तुत कृतिको प्रकाशनको लागि थारू पत्रकार संघ नेपाललाई चयन गरेकोमा संघको अध्यक्षको नाताले लेखकलाई साधुवाद दिन चाहन्छुँ।

(पुनश्चः प्रस्तुत पुस्तक रत्न बुक डिस्ट्रिब्यूटर्स, लुम्बिनी पुस्तक पसल तथा भिजन बुक्स बागबजार काठमाडौमा पाइन्छ। सम्पर्कः ९८५११२१४२६)

 

Leave a Reply

Your email address will not be published.