कपिलवस्तुमा सुरु भयो खिचडी महोत्सव

Kapilbastu Maghi Mahotsawसरिता थारु/कपिलवस्तु।

‘हम्मन सस्कृती हम्मन पहिचान, थारु कला संस्कृति बचयना हम्मन अभियान’ नारासहित कपिलवस्तुको वाणगंगा नगरपालिका ७ हथौसामा शनिबारदेखि छैठौं कपिलवस्तु माघी (खिचडी) महोत्सव सुरु भएको छ। थारुको जातीय पहिचान, भाषा, संस्कृति, कला र भेषभुषा जोगाउन महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ।

आफ्नै भाषा र संस्कृतिको धनी मानिने थारु जातिको अस्तित्व जगेर्ना गर्न विगत ५ वर्षदेखि कपिलवस्तुका थारु समुदाय संगठित भइ महोत्सव आयोजना गर्दै आएका छन्। महोत्सवको उद्‍घाटन थारु कल्याणकारीणी सभाका केन्द्रीय महामन्त्री आमिरीले गरे। उनले माघी महोत्सवले लोप हुन लागेको थारु संस्कृतिलाई जगेर्ना गरेको बताए। संस्कृति संरक्षणको लागि सबैजना आ-आफ्नो ठाउँबाट जागरुक हुनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा आदिवासी जनजाती महासघं समन्वय परिषदका केन्द्रीय उपाध्यक्ष डन्दु शेर्पा ढोक्प्याले युवा पुस्ताले माघीको महत्व बिर्सिँदै गएकाले अबका नयाँ पुस्तामा संस्कृति हस्तान्त्रण गर्न आवश्यक रहेको औंल्याए।

कार्यक्रममा कपिलबस्तु क्षेत्र नं. १ का सांसद बलराम अधिकारी, विश्रामप्रसाद थारु, नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, एनेकपा माओवादीका द्रोणराज सुवेदी, नेकपा माओवादीका संघ प्रसाद थारुले महोत्सव सफलताको सुभकामना दिए।

महोत्सवमा थारुको खाना ढिकरी, घोंगी, गेङ्टा, सिधरा, बरिया, फुलौरी, चटनीलगायतका परिकारहरु राखिएका छन्। यस्तै महोत्सवमा थारुको आफ्नै भेषभुषा, पहिरनले जातीय पहिचान झल्काएको छ।

माघ ४ गतेसम्म चल्ने महोत्सवमा थारु संस्कृति, भेषभुषासहित झुमरा, झर्रा, मयुर, लाठीजस्ता गीत, नृत्यको विशेष प्रस्तुति छ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति तथा रेकर्डिङ नृत्यद्वारा दर्शकलाई मनोरञ्जन प्रदान गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

महोत्सव जागृति युवा क्लबको आयोजना, वाणगंगा नगरपालिकाको सहयोजना, थारु कल्याणकारिणी सभा कपिलवस्तुको संयोजन, नेपाल आदिबासी जनजाति महासंघ समन्वय परिषद कपिलवस्तुको संरक्षण, जिल्ला विकास समितl कपिलबस्तुको सहयोग र जिल्ला प्रशासन कार्यालय कपिलबस्तुको सहकार्यमा सञ्चालन भएको हो।

Leave a Reply

Your email address will not be published.