प्रहरी सुरक्षासहित एक टोली बुधबार बिहान नेपालगन्जको बेलासपुरस्थित एउटा सुविधायुक्त घरमा पुग्यो। १३ वर्षीया कम्लरी रीता चौधरी बाहिरै काम गरिरहेकी थिइन्। टोलीले उनलाई उद्धार गर्न खोज्यो तर मालिकले दिएनन्। उद्धार टोली र कम्लरी मालिकबीच एक घन्टा विवाद चल्यो। अन्ततः टोली त्यत्तिकै फर्कियो।
उक्त घर कुनै सामान्य व्यक्तिको नभएर सरकारी निकायकै जिम्मेवार व्यक्तिको थियो। राष्ट्र बैंक नेपालगन्जका जिम्मेवार कर्मचारी गणेशबहादुर मल्लको घर (प्रहरी निरीक्षक भरतसिंह राठौरको ससुराली) मा कम्लरी बसेकी रीतालाई उद्धार गर्न नदिन आफन्तले रोकेका थिए। अरुलाई कानुनको पालना गर्न सिकाउनेले कानुनविपरीत आफैँ कम्लरी राखेको गल्ती स्वीकार्न उनीहरु तयार भएनन्।
उद्धार टोलीसँग वादविवाद गर्दै प्रहरी निरीक्षक राठौरकी पत्नी विन्दुले रीतालाई आफैँले ल्याएर माइती घरमा कम्लरी राखेको स्पष्टोक्ति दिँदै कसैले उठाएर लैजान नपाउने चेतावनी दिइन्। उनी पनि नेपाल सरकारको व्यावसायिक तथा सिप विकास तालिम केन्द्र नेपालगन्जकी प्रशिक्षक हुन्। प्रहरी निरिक्षककी पत्नीका अगाडि उद्धार टोलीमा सहभागी प्रहरी, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिको केही जोड चलेन।
यस्तै कठिनाइका कारण बेलसापुरकी अनिता राणाको घरमा बसेकी कम्लरी मिट्ठु चौधरीलाई पनि टोलीले बुधबार उद्धार गर्न सकेन। मिट्ठुका घर मालिक पनि सरकारी कर्मचारी हुन्। आफ्नो पति राष्ट्रसेवक कर्मचारी भएको भन्दै कुनै पनि हालतमा कम्लरीलाई लैजान नदिने अडान लिएपछि उद्धार टोली रित्तो हात फर्कियो। घर मालिकाका अनुसार रीता र मिट्ठु अभिभावकविहीन हुन्। रझेना घर भएका उनीहरू सानै उमेरदेखि कम्लरी बसेका। आफन्तको सहयोगमा मल्ल र राणाको घरमा आइपुगेका रहेछन्।
यी दुई घटनाले जिल्लामा कम्लरीको उद्धार गर्न निकै कठिनाइ रहेको पुष्टि गरेको छ। सरकारी निकायका जिम्मेवार व्यक्तिले नै आफ्ना घरमा कानुनविपरीत कम्लरी राख्ने गरेको पाइएको छ। कर्मचारीका कारण कम्लरीको उद्धारमा कठिनाइ भएको उद्धारकर्मीको गुनासो छ। सरकारले २०७० असार १३ गते कम्लरीमुक्त भएको घोषणा गरेको थियो।
मुक्त कम्लरीको संयुक्त संघर्ष समिति र सरकारबीच २०७० जेठ २४ गते १० बुँदे सम्झौतापश्चात भएको घोषणा अहिलेसम्म औपचारिकतामै सीमित छ। कम्लरीमुक्त घोषणा गरे पनि सरकारले सहमतिका बुँदा पालना नगर्दा कम्लरी राख्ने व्यक्तिको मनोबल झनै बढेको मुक्त कम्लरी विकास मञ्च बाँकेकी अध्यक्ष दिलकुमारी थारुले बताइन्।
जिल्लामा कम्लरीको संख्या कति छ, यसको यकिन तथ्यांक छैन। सम्बद्ध स्रोतका अनुसार सदरमुकाम नेपालगन्ज र ग्रामीण क्षेत्रमा कम्लरी राख्ने प्रचलन यथावत छ। मञ्चले हालै संकलन गरेको तथ्यांकअनुसार विभिन्न ठाउँमा ४९ जना कम्लरीको पहिचान भएको छ। सोही पहिचानका आधारमा मञ्चले विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाको सहकार्यमा बुधबारबाट उद्धार कार्य सुरु गरेको अध्यक्ष थारुले बताइन्। टोलीले पहिलो दिन नेपालगन्जको धम्बोझीस्थित नारायण रावलको घरबाट १० वर्षीया कम्लरी सुमित्रा चौधरीलाई उद्धार गरेको छ। टिटिहिरिया निवासी सुमित्रा दुई वर्षदेखि कम्लरी बस्दै आएकी थिइन्।
नागरिक दैनिकबाट साभार