तराईका पहाडे, थारू र मधिसे

Kamal_Kioiralaकमल कोइराला

म ७७ वर्षपहिले तराई जिल्ला मोरङको विराटनगर बजारमा १९९५ वैशाखमा जन्मेको हुँ। मेरा पिता मातृकाप्रसाद कोइराला पनि एक सय तीन वर्षअघि १९६९ साल (सन् १९१२) मा विराटनगरमै जन्मिनुभएको हो।  मेरो बाबुपट्टिका बाजे कृष्णप्रसाद कोइराला पनि सिन्धुलीबाट जनकपुर हुँदै पहिले मोरङको सदरमुकाम रंगेली र त्यसपछि विराटनगर बसाइँ सर्नुभएको हो। म मोरङे पहाडे हुँ।

मेरो आमाको जन्म पनि सप्तरीको छपकी गाउँमा भएको हो। मेरो आमापट्टिका बाजे चन्द्रविनोद पोखरेलको जन्म पनि सप्तरीमै भएको हो। उनका पुर्खा सप्तरीका बिर्तावाल थिए।
काठमाडौँ बसाइँ सरेका पोखरेलहरूको र मेरो आमाको भनाइअनुसार पोखरेलहरूले सप्तरीको बिर्ता पाउने कारण फ्रेन्च शासन रहेको ब्रिटिस भूभागमाझ रहेको फ्रान्सको अधीनको चन्द्रनगर (फ्रेन्च इन्कलेभ) बाट बन्दुक र गोली गट्ठा मुर्दा बनाएर मलामी बनी बंगाल र बिहारका जंगलमाझ रहेका गाउँहरू पार गर्दै पृथ्वीनारायण शाहलाई पुर्‍याएको थियो।

काठमाडौँ बसाइँ सरेका चन्द्रविनोदका वंशज टेकचन्द्र पोखरेलकहाँ मैले धेरै पुराना फोटाहरूमा छपकीको चन्द्रविनोदको हबेली र त्यसको अगाडि हात्ती–घोडा रहेको देख्छु। अर्को फोटोमा चन्द्रविनोद आफ्ना भाइ र छोराहरूका साथ फ्रेन्च सैनिक युनिफर्म लगाएर खिचाएको फोटो पनि देखेको छु। तर अब त्यो हबेली र हात्तीहरू पाल्ने पुरानो जमानाको वैभवको ठूलो भाग छपकीको जग्गा-जमिन कोसीको कटानले आफ्नो गर्भमा विलिन गरिसकेको छ।

तैपनि छपकी गाउँ छँदैछ। तर सप्तरी मेरो आमाको पुर्खाहरूका पालाभन्दा पहिले शाह राजा पृथ्वीनारायण शाहले एकीकरण गर्नुभन्दा पनि पहिले मकवानी राजाहरूकै पालामा उनीहरूको राज्यअन्तर्गत थियो। त्यहाँको मालपोत उठाउने हाकिम थारू थिए भन्ने सन् १७२६ को अप्रिल १३ (१७८३ साल वैशाख १) मा रनपाल चौधरीका नाम महाराजा महिपति सेनले गरिदिएको स्याहमोहर (कालो मोहर) बाट प्रमाणित हुन्छ।

(द पन्जियार कलेक्सन फिफ्टी रोयल डकुमेन्टस एडिटेड बाइ गेसिले क्राउस्कोफ एन्ड पमेला डेउएल मेयर पेज ११५) त्यसको ५० वर्षपछि सप्तरीको मालपोत उठाउने हाकिमका रूपमा सन् १७७६ (१८३३ साल) मा महाराजा प्रतापसिंह शाहले हेम चौधरीका नाममा गरेको लालमोहरबाट देखिन्छ। हेम चौधरी सम्भवतः रनपाल चौधरीका वंशज थिए।

पृथ्वीनारायण शाहले मकवानपुर र चौदन्डी (सप्तरी र उदयपुर) एकीकरण गरेपछि चौदण्डीका राजा कर्णसेनप्रति बफादार हेम चौधरी मुग्लान भागेछन्। पृथ्वीनारायण शाहपछि उनका छोरा प्रतापसिंह शाह नेपालका राज भए। उनले हेम चौधरीलाई फेरि सप्तरीको मालपोत उठाउने हाकिम नियुक्त गर्दा लेखिएको लालमोहरमा श्री हेम चौधरी भनी सम्बोधन गरिएको छ। यो मात्र एउटा यस्तो लालमोहर छ, जसमा तराईका प्रजा थारूको नामको अगाडि श्री लेखिएको छ।

त्यो लालमोहरमा लेखिएको छ, ‘हिजो मकवानीको निमक पायाको थियो र त्यो मुलुक हाम्रो अम्बल हुँदा निमक हलालि गर्ना निमित्त भोगलान गयाको थियिस आज हाम्रा सुवाका बोलाउँदा आफ्नो बुनियादि जग्गह हाम्रा कदम समजिकन आइस… आफ्ना बुनियादि जग्गाहको जिमिदारी गर. जसो गरी मुलुक आवाद असुल हुंछ सोही गरः।’

त्यो लालमोहरमा एउटा पनि पूर्णबिराम चिन्ह छैन र कहीँकहीँ फुलस्टपको चिन्ह थोप्लो छ। यस प्रकार के देखिन्छ भने पुरानो सप्तरी (त्यस समयको सिरहासमेत एउटै जिल्ला) को सुब्बा पहाडे तर जमिनदार र हात्तीसारका हाकिम थारूहरू थिए।

पछिपछि पहाडे सुब्बाका साथ गएका आसेपासे पहाडेहरू लप्टन, खरदार, नौसिन्दा इत्यादि पनि जमिनदार हुन थाले। जंगल धेरै थियो। थारूहरूको आफ्नै जमिन थियो। पछि मुग्लानतिरबाट पनि जंगल आबाद गरेर उब्जाउ खेत बनाउन र बस्न मुग्लानतिरबाट पनि रैतीहरू बसाउन थालियो।

कति जंगली अवस्था थियो भने कोसी नदीकिनारबाट मात्रै कुनै-कुनै वर्ष तीन सयसम्म जंगली हात्ती र हात्तीका छावाहरू समातिन्थे। यो कुरामा कुनै पनि प्रकारले शंका हामीलाई छैन कि नेपालको तराईको सबैभन्दा ठूलो जनसंख्या पृथ्वीनारायण शाहको एकीकरण र पछि पनि थारूकै थियो।

दुई सय वर्ष जतिअघि सन् १८१९ मा प्रकाशित तर १८१४ मै लिखित फ्रान्सिस बुचानन हेमिल्टनको ‘यान एकाउन्ट अफ द किङडम अफ नेपाल’ पेज १६४ देखि १६९ पढ्दा उनी स्पष्ट लेख्छन्, ‘समतल भूभागमा थारू जात आफ्ना तौरतरिकामा मोरङका गनगाईहरूसँग मिल्दाजुत्दा छन् र जनसंख्याको सबैभन्दा ठूलो भाग छन्।’ यिनीहरू पछि अशुद्ध भावरहरू र त्यसपछि सैनिक र कृषक जातका ब्राह्मणहरू र अनिवारहरू जो कुनै समय यस देशका सार्वभौमसत्ताधारी थिए र बाँतरहरू पनि छन्।

तल्ला पहाडहरू (चुरे) मा लिम्बूहरूको एउटा हाँगो, मगर, राजपुत वा खसहरू छन्। मगरहरूले भर्खर बसोबास थालेका हुन्। सायद मगरहरू पृथ्वीनारायणको जितपछि पुगे । सप्तरीतिरका त्यस्तो स्थिति थियो अनि महोत्तरी (अहिलेको धनुषासहित) को अवस्था दुई सय वर्ष पहिले के थियो ? हेमिल्टन आफ्नो त्यसै पुस्तकको पेज १६९ मा लेख्छन्, ‘समतल भूभागको जनसंख्या मुख्य रूपले थारू र अनिवारको छ।’त्यसअघि त झन् यस भेगको राजा नै द्रोइणवार (दनुवार) थिए।
किनभने काठमाडौँ भक्तपुरको राजदरबार आउनुअघि मैथिली, बंगाली र नेवारीको प्राचीन समय एउटै लेखन स्क्रिप्ट थियो। विद्यापति मैथिली, नेवारी र बंगाली तीनवटै भाषाका प्राचीन कवि मानिन्छन्। विद्यापति (जन्म सन् १३५२ मृत्यु १४४८) अल्लादिन खिलजीले उनको राजालाई कैद गरेपछि दनुवार राजा रहेको ठाउँ महोत्तरी पुगे र त्यसपछि भक्तपुर आए।

उनको मालसिरी आज पनि दसैँ प्रारम्भ हुँदा काठमाडौँ, भक्तपुर र पाटनमा बजाइन्छ। प्राचीन भक्तपुर राज्य, काठमाडौँ र पाटनको पनि मल्ल राजाहरूको दरबारी झापा मैथिली थियो। तर प्रजाको भाषा नेवारी बोलचाल थियो। भन्छन्-प्राचीन मैथिली साहित्यको सबैभन्दा ठूलो भण्डार पनि आज काठमाडौँको अभिलेखालयमा छ।

सप्तरी र महोत्तरीका मकवानी र शाह राजाहरूले थारूहरूलाई गरिदिएको स्याहमोहर र लालमोहरहरूको एउटा सानो झलक हामीले देख्यौँ। तर रौतहट, पर्सा, बाराको के हालत थियो दुई सय वर्ष पहिले ? वीरगन्ज नाम वीरशमशेरका पालामा सर्वप्रथम प्रयोग भएको हो।

आजको भारतको गोरखपुर डागरडिहा, विनायकपुर प्रगन्ना इत्यादिको मालपोतको हाकिम दयाराम महतोलाई सन् १७९६ (१८५३ साल फसली १२०४) मा पृथ्वीपाल सेनले गरिदिएको स्याहमोहर छ। पछि-पछि जब नेपालको सिमाना खुम्चियो थारू जात पनि खुम्चिँदै नेपाली राज्यमै बसाइँ सरे।

दाङतिरको त मेरा बुद्धिजीवी मित्र महेश चौधरीको पुस्तक नै छ। महोत्तरी पडरिया, सिरहाका मसिलाल चौधरीलाई दिएको लालमोहर छ।बाराको त झन् पृथ्वीनारायण शाहभन्दा पहिले दिग्बन्धन सेनले बलिराम थारूलाई जागिर गरिदिएको स्याहमोहर सन् १७६० को छ।

दुई सय पैँतालीस वर्षअघिको कागज छ। दिग्बन्धन सेन मकवानपुरका अन्तिम राजा थिए। आजभन्दा ठीक दुई सय वर्षअघि सन् १८१५ (१८७१ साल) मा पर्साको कृष्ण चौधरी, रनजित चौधरीहरूलाई राजेन्द्रविक्रम शाहले गरिदिएका स्याहमोहर र लालमोहरहरू छन्।

आजभन्दा दुई सय आठ वर्षपहिले चितवन (चितौन) का तेतु गुराउलाई गीर्वाणयुद्धले सन् १८०७ (१८६४ साल) गरिदिएका कागजहरू छन्। यस प्रकार के देखिन्छ भन्ने हाम्रा आजका नेपाली कांग्रेसहरूका प्रधानमन्त्री सुशील कोइराला साथै एमालेका वर्तमानका नेताहरू, एमाओवादीका प्रचण्ड र बाबुरामसमेत भई नरेन्द्र मोदीको तुष्टीकरणका लागि चुरे, पहाड र हिमालसँग चटक्कै चुँडालेर भारतसँग खुला सिमाना रहेको नेपालमा अर्को भित्री सुपर इनर बफर नेपाल र भारतमाझ खडा गरिदिए।

तर प्रान्त नं २ को अतीत र इतिहास के रहेछ हामीले द पन्जियार कलेक्सन फिफ्टी रोयल डकुमेन्टस् १७२६ टु १९७१ बाट झलक पाउँछौँ। थारूहरूले इतिहास लेखेनन्। नेपाली गोर्खालीले इतिहास लेखे।

अब तराईको नयाँ इतिहास भारतको रिसर्च एन्ड एनलाइसिस विङको डिपार्टमेन्ट अफ म्यालेसियस इनडोक्ट्रिनेसन शाखाले लेख्दैछ, जसअनुसार राजेन्द्र महतो मार्का हिजोका भारतीय र आजको नेपालका नागरिक नेपालको तराईका धरतीपुत्र हुन्।

अन्नपूर्णपोष्टबाट

Leave a Reply

Your email address will not be published.