सप्तरीमा जनआक्रोश बढ्यो, नापी कार्यालयको गाडीमा आगजनी, कांग्रेस कार्यालयमा पनि प्रयास

rajbiraj-polliceसोमबार दिनभर आक्रोशित रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले निषेधाज्ञा तोड्दै साँझ सप्तरीको राजविराजस्थित नापी शाखा कार्यालयको गाडीमा आगजनी गरेका छन्। कार्यालयभित्रै पार्किङ गरी राखेको बा१झ ३४०९ नंको गाडीमा मोर्चाका कार्यकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ। आगजनीबाट गाडी पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ। यस्तै, आन्दोलनकारीले राजविराजमै रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा समेत आगजनीको प्रयास भएको सो कार्यालयले जनाएको छ।

कार्यालयमा मोर्चाका कार्यकर्ताले तोडफोड गरी आगजनीको प्रयास गरेको प्रहरीले जनाएको छ। यता प्रहरीको विशेष सुरक्षाका कारण आगो लगाउनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै, सप्तरीको तिलाठीस्थित बेल्ही भन्सार कार्यालय राजविराजमा आन्दोलनरत मधेसी मोर्चाले आज आगजनीको प्रयास गरेको छ।

जिल्लाका विभिन्न ठाउँमा आन्दोलनकारी र प्रहरीबीच झडपमा मृत्यु भएको आक्रोसमा सप्तरी प्रशासनले लगाएको निषेधाज्ञालाई तोडेर प्रदर्शन थालेपछि बेल्ही भन्सार कार्यालयमा आगजनीको प्रयास गरेको प्रहरीले जनाएको छ। सो कार्यालयमा आगजनी र क्षति हुनबाट प्रहरीले जोगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यस्तै सप्तरीको सदरमुकाम राजविराजसहित जिल्लाका विभिन्न ठाउँमा आन्दोलनकारी र प्रहरीबीच आज बिहानैदेखि झडप भइरहेको बताइएको छ। राजविराजस्थित दर्शनचोक, गजेन्द्रचोक, तैतरीगाछी, महावीर चोकमा प्रहरी र आन्दोलकारीबीच झडपको क्रम जारी नै रहेको बुझिएको छ। सो क्रममा प्रहरीले नियन्त्रण गर्नका लागि तीन दर्जन अश्रुग्यास र १० राउण्ड हवाई फायर गरेको जनाएको छ।

यस्तै, राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, बिसनपुर, कदमहा सडकखण्डमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको बताइएको छ। अहिले राजविराजलगायत जिल्लाका विभिन्न स्थानमा मोर्चाका कार्यकर्ताले प्रदर्शन जारी नै राखेका छन् र सो ठाउँमा प्रहरीसमेत परिचालन गरी नियन्त्रणमा लिने प्रयास गरेपनि स्थिति तनावग्रस्त रहेको बताइएको छ।

गत शनिबार पूर्व पश्चिम राजमार्गमा बाटो खुलाउने क्रममा र आइतबार राजविराजमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा गरी प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएको थियो। सो क्रममा भारदहमा १८ वर्षीय वीरेन्द्र राम, रुपनीमा २२ वर्षीय नागेश्वर यादव, राजविराज नगरपालिकामा ३५ वर्षीय दिलीप साह र करेन्ट लागेर शिवशङ्कर दासको मृत्यु भएको थियो। चारै जनाको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको बताइएको छ।

रुपनी र भारदहको झडपमा परी गोली लागेर गम्भीर घाइते भएका करिब एक दर्जनभन्दा बढीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.