थरुहट कार्यकर्ताद्वारा जीपमा आगजनी

jeep-on-fire_kailali_tharuhat_606541129

कैलालीको भजनी-त्रिशक्ति नगरपालिका-९ बसन्ता जैविक मार्गमा थरुहटका कार्यकर्ताले आइतबार एक जीपमा आगजनी गरेका छन्। वातावरणको क्षेत्रमा काम गर्ने इसीमोड नामक संस्थाले भाडामा लिएको से१च १०४६ नम्बरको स्कारपियो जीपमा आइतबार विहान १० बजेतिर थरुहटका कार्यकर्ताले आगो लगाएका हुन्। आगजनीबाट गाडीको बडी र सिटहरु जलेका छन। प्रहरीले गाडीको ४५ प्रतिशत भाग जलेको जनाएको छ।

तीन दिन अघि इसीमोडले कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ का रविन्द्र बोगटीकी श्रीमती समुन्द्रा देउवा बोगटीको नाममा रहेको उक्त जीप भाडामा लिएका थिए।

वनरक्षकको सुरक्षासहित आइतबार विहान पहलमानपुर सेक्टर वन कार्यालयबाट विहान बसन्ता जैविक मार्गतर्फ हिँडेका उनीहरु सडक छेउमा गाडी रोकेर जंगल छिरेको अवस्थामा मोटरसाईलमा आएका पाँचजना थरुहटका कार्यकर्ताले आगो लगाएका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए।

आगो लगाएको आरोपमा प्रहरीले स्थानीय फुलराम थारुसहितका पाँच जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ। प्रहरीले आजगनीको मुख्य योजनाकारको पनि पहिचान भइसकेर खोजी कार्य भइरहेको जनाएको छ।

शनिबारबाट थरुहट-थारुवान संयुक्त संघर्ष समितिले शिक्षा र स्वास्थ्य बाहेको क्षेत्रमा अनिश्चितकालिन आम हड्तालको घोषणा गरेको थियो। यद्यपि बन्दको असर कैलाली कञ्चनपुरका खासै परेको छैन। आइतबार पनि कैलालीमा बजारहरु खुला रहे भने सरकारी कार्यालयहरु पनि खुलेका थिए।

Leave a Reply

Your email address will not be published.