मधेसी मोर्चाले राष्ट्रपतिको निर्वाचन बहिष्कार गर्ने

Madhesi Morchaप्रधानमन्त्री निर्वाचनमा सहभागिता जनाएपछि चौतर्फी आलोचनाको सामना गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राष्ट्रपति निर्वाचनमा भने भाग नलिने भएको छ। नयाँ संविधान बहिष्कार गरेको मोर्चाले त्यही संविधानको प्रावधान अनुसार प्रधानमन्त्रीको निर्वाचनमा सहभागिता जनाएपछि चौतर्फी आलोचना भएको थियो।

‘प्रधानमन्त्रीको निर्वाचनमा भाग लिनु त्रुटि भएको निष्कर्षसहित मोर्चाले सभामुख र उपसभामुखको निर्वाचनमा पनि भाग लिएको थिएन,’ सद्भावना महासचिव मनिषकुमार सुमनले भने,’अब हामी पुन त्यस्तो गल्ती दोहोर्याउने पक्षमा छैनौं। मोर्चाका अध्यक्षहरुले आपसी सहमतिमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गर्नु भएको छ।’

मोर्चाले निर्वाचनमा भाग नलिने र उम्मेदवारी नदिने सहमति गरेको सुमनले जनाए। संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले राष्ट्रपति निर्वाचनमा भाग लिने नलिने बारे मोर्चाले औपचारिक कुनै निर्णय नगरेको जनाए। ‘अहिले मोर्चाका अधिकांश नेता बाहिर जिल्लामा हुनुहुन्छ,’ राउतले भने,’राष्ट्रपतिको निर्वाचनमा मोर्चाले भाग लिने भए औपचारिक निर्णय हुन्थ्यो, त्यसैले अब मोर्चाले निर्वाचनमा भाग लिँदैन।’

प्रधानमन्त्रीजस्तो कार्यकारी पद राष्ट्रपतिको नभएकाले मोर्चाको प्राथमिकतामा नहरहेको उनले जनाए । ‘संधिवानमा आफ्ना अधिकार स्थापित नभएको भन्दै जनता महिनौंदेखि सडकमा रहेका छन,’ उनले भने,’त्यस्तो अवस्थामा नेताहरु त्यही संविधान अनुसार हुने निर्वाचनमा सहभागी हुँदा जनतामा नराम्रो सन्देश जाने तथा त्यसले आन्दोलनलाई असर गर्ने हुँदा मोर्चाका नेता त्यसप्रति सचेत छन्।’

तमलोपा महामन्त्री जितेन्द्र सोनलले मोर्चाको ध्यान सरकार निर्माणमा नभएको भन्दै विगतमा राज्यसँग भएको सहमति कार्यान्वयन नै आफूहरुको पहिलो प्राथमिकता भएको बताए। ‘हामीले संविधान स्वीकार गरेको वा नगरेको भन्दा पनि मोर्चा सरकार गठन भन्दा टाढा रहेको छ,’ उनले भने,’ विगतमा राज्यसँग भएको सहमति कार्यान्वयन नै अहिले मोर्चाको मुख्य माग हो। त्यही कार्यान्वयन गराउने दिशामा हामी अगाडि बढेका छौं ।’

Leave a Reply

Your email address will not be published.