थाकसद्वारा १७ बुँदे घोषणा पत्र जारी, नाकाबन्दी र राजमार्गकेन्द्रीत आन्दोलन गर्ने

tha ka sa, Nawalparasi 01नवलपरासीमा भएको थारु कल्याणकारिणी सभाको दुई दिने राष्ट्रिय भेलाले १७ बुँदे घोषणा पत्र जारी गरेको छ। विगत ८४ दिनदेखि जारी थारु आन्दोलन उपलब्धिमूलक र शान्तिपूर्ण रहेको बताउँदै सभाले आन्दोलनलाई थप सशक्त बनाउने बताएको छ।

अबको आन्दोलन सीमा र राजमार्ग केन्द्रीत

सभाले अबको आन्दोलन सीमा र राजमार्गकेन्द्रीत गर्ने बताएको छ। भेलाले जारी गरेको घोषणा पत्रमा सिंहदरवारका शासकहरुलाई दबाब दिन सीमानामा नाकाबन्दीका कार्यक्रम गर्नुका साथै राजमार्ग केन्द्रीत आन्दोलन गर्ने उल्लेख छ। भेलाले पूर्वघोषित बन्द, आमहड्ताल जारी राख्नेसमेत घोषणा पत्रमा उल्लेख छ।

थारु सभासद्लाई वार्ता टोलीमा नराख्ने

भेलाले सरकारसँग गरिने वार्तामा सरकारमा सहभागी थारु सभासद्हरुलाई नराख्ने निर्णयसमेत गरेको छ। एमाले सरकार यसअघिका सरकारजस्तै थारु-थरुहट विरोधी भएको बताउँदै सभाले एमाले सरकारमा सहभागी थारु सभासद्हरुलाई वार्तामा नराख्ने घोषणा पत्रमा उल्लेख छ। सभाले सरकारमा सहभागी थारु सभासद्हरुले गरेको वार्ता थारु कल्याणकारिणी सभाले नमान्ने समेत बताएको छ। संविधानसभा विघटनसँगै थारु सभासद् संघर्ष समितिको औचित्यसमेत नरहेको घोषणा पत्रमा उल्लेख छ।

tha ka sa, Nawalparasi 02धनिरामलाई सक्रिय भूमिका खेल्न आग्रह गरिने

टीकापुर घटनामा संलग्न रहेको भन्दै पक्राउ पुर्जी जारी भएसँगै गुमनाम भएका थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीलाई आन्दोलनमा सशक्तरुपले लाग्न अनुरोध गर्ने भएको छ। सत्र बुँदे घोषणा पत्रमा अध्यक्ष चौधरीलाई आन्दोलनमा सक्रिय भूमिका खेल्न अनुरोध गरिने उल्लेख छ। चौधरी थारुवान/थरुहट संयुक्त संघर्ष समितिका संयोजक पनि हुन्। सभाले संयुक्त संघर्ष समितिको बैठक एक हप्ताभित्र बोलाउन मागसमेत गरेको छ।

आन्दोलनरत मोर्चाहरुसँग एकता गर्ने

भेलाले आन्दोलनरत अन्य मोर्चाहरुसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग यसअघि नै सहकार्य गरेर अघि बढेको सभाले अन्य आन्दोलनरत मोर्चाहरुसँग पनि सहकार्य गरेर अघि बढ्ने जारी घोषणा पत्रमा उल्लेख छ।

मेची-महाकाली जागरण अभियान चलाउने

भेलाले मेची महाकाली जनजागरण अभियानसमेत चलाउने भएको छ। सात प्रदेशको सीमाङ्कन खाका फेरि पनि हरेक जिल्ला र गाँउमा जलाउने निर्णय गर्दै भेलाले जनजागरण अभियान चलाउने भएको हो। त्यसका निम्ति सभाले दुई वटा टोली जिल्ला जिल्लामा खटाउने भएको छ।

पक्राउ परेकाहरुको रिहाइ माग

टीकापुर घटनाका दोषी सुरक्षाकर्मीहरुलाई कारबाहीको माग गरिएको छ। दिनदहाडै थारुका घरमा आगजनी र तोडफोड भएको बताउँदै क्षतिपूर्तिको मागसहित संलग्न सुरक्षाकर्मीमाथि कारबाही गर्न भेलाले माग गरेको छ। भेलाले अध्यक्ष चौधरीसहित टीकापुर घटनामा लगाइएको झुटा मुद्दा खारेज गर्न माग गरेको छ। भेलाले पक्राउ परेका सबैलाई रिहाइ गर्न मागसमेत गरेको छ।

भेलाले वर्तमान सरकारले वार्ताको लागि गरेको पत्राचार सकरात्मक रहेको बताउँदै औपचारिक वार्ताको लागि थारु आन्दोलनकारीहरुले पेस गरेको सात बुँदे पत्रअनुसार वातावरण बनाउनुपर्ने माग गरेको छ। सभाले आन्दोलनको क्रममा सहादत प्राप्त गरेकालाई सहिद घोषणा र राहत उपलब्ध गराउनुपर्ने माग गरेको छ। थारु आयोगलाई संवैधानिक आयोग बनाउनुपर्ने माग गर्दै सभाले थारु आन्दोलनलाई दमन गर्ने केही सञ्चार माध्यम, मानव अधिकारवादी र दलका नेताहरुविरुद्ध भन्डाफोर गर्ने जारी घोषणा पत्रमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published.