थारुहरु अन्तिम लडाइँको तयारीमा छन् : लेखी

Rajkumar Lekhi

थारु कल्याणकारिणी सभा आन्दोलन परिचालन समितिका संयोजक राजकुमार लेखीले संविधान पुनर्लेखन नभएसम्म थारु समुदायको आन्दोलन नरोकिने बताएका छन्। थारु कल्याणकारिणी सभा चितवनले भरतपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक लेखीले संविधान संशोधन थारु समुदायको माग नभएको स्पष्ट पारे। ‘संविधान संशोधन हाम्रो माग होइन। संविधान पुनर्लेखन हुनुपर्छ,’ उनले भने।

संविधान पुनर्लेखन थारु समुदायको मात्रै नभई मधेसी समुदायको समेत माग भएको उनले बताए। थारु कल्याणकारिणी सभाका सचिवालय सदस्यसमेत रहेका लेखीले राज्य सत्तासँग थारुहरुले अन्तिम लडाइँ लड्ने तयारी गरेको बताए। ‘यो हाम्रो अन्तिम लडाइँ हो। आन्दोलन जीवन मरणसँग जोडिएको छ,’ उनले भने, ‘ त्यसका लागि आन्तरिक तयारीका लागि कात्तिक ८ र ९ गते नवलपरासीको डण्डामा राष्ट्रिय भेला डाकेका छौं।’

थारु समुदायले आफ्नो माग पूरा गराउन हतियार उठाउने पक्षमा नरहेको उनले स्पष्ट पारे। राष्ट्र बिखण्डनको पक्षमा पनि थारु समुदाय नरहेको उनले बताए। ‘शान्तिपूर्ण तरिकाले हामी विद्रोह गछौं। त्यसका लागि थारु समुदाय तयार छन्,’ लेखीले भने।

आन्दोलनरत थारु समुदाय वार्ताका लागि तयार भए पनि वार्ताका नाममा आन्दोलन तुहाउने षड्यन्त्र भइरहेको उनको आरोप थियो। ‘हामी अझैपनि वार्ताकै पक्षमा छौं,’ उनले भने, ‘तर वार्ताको नाममा प्रधानमन्त्रीको अनुहार हेरेर चिया बिस्कुट खानमात्रै जादैनौं।’

वार्ताका लागि थारु समुदाय निकै लचक भएर सात बुँद्धे प्रस्ताव पत्र पठाए पनि सरकार र अन्य राजनीतिक दल गम्भीर नभएको उनले बताए। वार्ताको नाममा आन्दोलन भाँड्ने प्रयास भएकाले थारुसँग वार्ता हुन नसकेको उनले बताए।

उनले अहिलेको सरकारलाई ब्राह्मण एकता परिषदको रुपमा परिभाषित गरे। ब्राह्मणहरुको इच्छा अनुसार अहिलेको सरकार बनेकाले यो सरकारको औचित्य नभएको उनले बताए।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लेखीले सञरचार माध्यमविरुद्ध समेत खनिए। थारु आन्दोलनको विरुद्धमा नेपालका केही सञ्चारमाध्यम लागेको उनको आरोप थियो। ‘थारु आन्दोलनको नाममा भए, नभएका समाचार प्रकाशन/प्रसारण गर्दै आन्दोलनको बदनामी गराउने खेलमा सञ्चारमाध्यम लागेको छ। शान्तिपूर्ण थारुको आन्दोलनलाई हिंसात्मक बनाउने काम गरेकाले त्यस्ता सञ्चारमाध्यमको भण्डाफोर गर्नुपर्छ।’

उनले थारु आयोगको विषयमा नयाँ संविधान स्पष्ट नभएको बताए। संवैधानिक व्यवस्थापन गर्नुपर्ने भए पनि त्यसो gदेखिएको उनले बताए। थारु कल्याणकारिणी सभा चितवनका सभापति विश्राम महतोको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा थारु कल्याणकारिणी सभाका सचिवालय सदस्य रामकृष्ण चौधरी, युवा सभाका केन्द्रीय अध्यक्ष कानुनलाल चौधरी, थारु विद्यार्थीसमाजका वरिष्ठ उपाध्यक्ष शिव चौधरीलगायतका थारु अगुवाहरुको सहभागीता थियो।

Leave a Reply

Your email address will not be published.