‘नेपालको तराई तथा यसका भूमिपुत्रहरु’, ‘Hidden Treasures of the Lowland Nepal’ लगायत पुस्तकका लेखक महेश चौधरी नेपालमा मधेस भन्ने भूभाग नै नरहेको तर्क गर्छन्। २०२८ सालमा प्रकाशित थारु भाषाको पहिलो पत्रिका ‘गोचाली’ का सम्पादक रहेका चौधरीले २०६९ सालमा ‘स्थविरहरुको प्राचिन इतिहास र संस्कृति’ शीर्षकमा लेखेको खोजमूलक पुस्तकमा नेपालको दक्षिणी भूभागमा बसोबास गर्ने आदिवासी समुदाय र त्यस क्षेत्रको इतिहासबारे उल्लेख गरेका छन्। पुस्तकमा उनको मुख्य तर्क छ- ‘नेपालमा मधेसीहरु छन् तर मधेस छैन।‘ लेखकका विश्लेषण र मान्यताप्रति तपाईँ सहमत वा सहमत हुन सक्नुहुन्छ। यहाँ पुस्तकको उपसंहार अंशबाट मुख्य बुँदाहरु लेखकको अनुमतिमा साभार गरेका छौः
१) मनुस्मृतिअनुसार मधेसको पूर्वी सीमाना पूर्वको प्रयाग अथवा हालको इलाहावादसम्म बिस्तारित थिययो। प्रयागभन्दा पश्चिमको भाग अथवा दिल्ली वरपरको भागलाई ‘मधेस’ भनिन्थ्यो। तर प्रयागभन्दा पूर्वको भागलाई मधेस भनिदैनथ्यो। यो आधारले हाम्रो देश नेपाल गंगा र यमुना नदीको संगमस्थलमा स्थित प्रयागभन्दा धेरै उत्तर-पूर्वमा स्थित भएकै कारण नेपालको तराई हिमालयको तराई हो, ‘मधेस भूमी’ होइन। तसर्थ प्रयागपूर्वको भागलाई मधेस भन्नु मुर्खता हो।
२) मनुस्मृतिले- ‘पूर्व समुन्द्र र पश्चिम समुन्द्रसम्म र दुबै पर्वतहरु हिमालय तथा विन्ध्याचलको मध्यस्थित प्रदेशलाई विद्वजनहरुले आर्यावर्तहरुको आवर्त (निवास) भन्दछन्’ भनेर हिन्दु धर्मावलम्बीहरुको बसोबासको सीमाना छुट्यायो। यति किल्लाभित्र मात्र आर्यहरु बस्थे, यस भूभागभन्दा बाहिर आनार्यहरु बस्दथे भनेर आर्य र अनार्यहरुको बसोबास स्थानलाई निर्धारण गर्यो। अनुसूची १६ मा विद्याधर महाजनले आफ्नो पुस्तक ‘प्राचिन भारतका इतिहास’ मा- धर्म शास्त्रहरुको युगमा हिन्दुहरुको धर्मका आधारमा सबैभन्दा प्रमाणिक पुस्तक मनुस्मृतिअनसार आर्य संस्कृति यताउता चार प्रदेशमा विभाजित थियो: ब्रह्मावर्त, ब्रह्मर्षिदेव, मध्यदेश र आर्यावर्त। सरस्वती नदी र दृशदवतीको बिचको भागलाई ‘ब्रह्मवर्त’ भन्दथे। कुरुक्षेत्र, पञ्चाल, मत्स्य र सूरसेन राज्यहरुलाई ब्रह्मर्षिदेव देश भन्दथे। हिमालय तथा विन्धेय र सरस्वती तथा प्रयागको बिचको क्षेत्रलाई मध्यदेश भन्दथे। दिल्लीभन्दा पश्चिम दुई पर्वतहरु र दुई समुन्द्रहरुको मध्य अथवा बिचकव प्रदेशलाई आर्यावर्त भन्थे भनेर उल्लेख गरेका छन्। यो आधारले आर्यहरुको निवासस्थलको बिचको भाग अथवा प्रयागभन्दा पश्चिम र सरस्वती नदीभन्दा पूर्व दिल्लीवरीपरीको राज्यलाई ‘मधेस’ भनिन्थ्यो। यसभन्दा पूर्वको गंगा नदीको खुला भागलाई ‘मधेस’ भनिदैनथ्यो, आर्यावर्त भनिन्थ्यो। यो आर्यवर्त गंगा र यमुना नदीको खुल्ला भागमा पूर्व सागर पश्चिम सागरसम्म फेलिएको थियो। त्यतिबेला यातायातको प्रमुख साधन भनेको गंगा-यमुनाको जलमार्ग नै थियो। गंगा-यमुना नदीको खुल्ला भागभन्दा उत्तरतर्फ घनघोर जंगलले ढाकिएको हुनाले वैदिक आर्यहरुको बसोबास गर्न सम्भव थिएन। महाजन पदकालमा कोशल, मगद, काशी, अंग, बज्जी, मल्ल आदि शक्तिशाली राजाहरुको शासन सत्ता प्रयागभन्दा पूर्वमा रहेको र सात गणराज्यहरुमा शाक्यहरुको कपिलवस्तु, कोपिलहरुको रामग्राम, मल्लहरुको कुशीनारा, पल्लहरुको पावा, बुलीहरुको अल्लकप्प र लिच्छिबीहरुको बैशाली गणराज्यहरु अनार्यहरुको हातमा रहेको थियो। किनभे यी सबै राज्य र गणराज्यहरु प्रयागभन्दा पूर्वमा स्थित थिए। यसआधारमा नेपालको तराई भूमि ‘मधेस’ मा पर्ने कुरै आउँदैन।
३) मनुस्मृतिले आर्यहरुको सिमाना उत्तर हिमालय र दक्षिण विन्ध्या पर्वत, पूर्व सागर र पश्चिम सागरबीचको भागलाई ‘आर्यावर्त’ को सिमाना मान्यो, अर्थात आर्यावर्तको बिस्तार गंगा र यमुना नदीको तिरैतिर जंगल नभएको खुल्ला भागमा मात्र बिस्तारित थियो भनेर उल्लेख गरेको छ। उत्तरको गंगा-यमुना नदीको खुल्ला भागभन्दा बाहिर हिमालय अथवा पपर्वतीय तराईको सम्पूर्ण भूभाग जंगलले ढाकिएको थियो। जहाँ अनार्यहरु बस्थे। इतिहासविदहरु डा. आर.सि. मजुम्दार, डा. एच.सि. रायचौधरी र डा. कालीकिणकर दत्त र डा. यमुनालालले कस्मिर, काँगडा, टेहरी, कुमायु, नेपाल, सिक्किम र भुटानका पर्वतीय देशहरु पर्वताश्रायण हुन् भनेका छन्। जुगलकिशोर बौद्ध, कैलेश्वर राय, डा. प्रदीप शालीग्राम मेश्राम, डा. कौशलेन्द्र श्रीवास्तव, विनोदचन्द्र पाण्डे र साथीहरु, मधुकर पीपलायन, पुरुषोत्तम लाल भार्गव, जी.पी. सिंह, डा. विजयकुमार त्रिशरण, रामचन्द्र पाठक, डा. वनवारी लाल सुमन आदिले नेपालको कपिलवस्तु गणराज्य हिमालयको तराईमा पर्छ भनेर स्पष्ट उल्लेख गरेका छन्। तसर्थ नेपाल तराई ‘मधेस’ होइन, हिमालको तराई खण्ड हो।
४) त्रिपिटाका चारे डा. भिक्खु धर्मरक्षितले- दक्षिणमा काशी राष्ट्र र उत्तरमा हिमालयको पहाडी भाग मल्ल जनपद सीमा थियो। आचार्य जुगलकिशोर बौद्धले मल्ल राष्ट्र, बज्जी गणतन्त्र र कोशल राज्यको बिच हिमालयको तराई स्थित थियो। यसैगरि डा. ईश्वरसिंह मढाडले चन्द्रगुप्त मौर्यको वासस्थान पिप्ली वन (चम्पारण) हिमालयमा पर्थ्यो भनेर उल्लेख गरेका छन्। यसआधारमा मल्ल राष्ट्र, बज्जी गणतन्त्र र कोशल राज्यको उत्तरी सिमाना हिमालयको तराई पर्थ्यो, ‘मधेस’ पर्दैनथ्यो। बिहारको चम्पारणसम्म हिमालय मानिन्थ्यो। यसआधारमा नेपाल तराई ‘मधेस’ होइन, हिमालयको तराई हो। यसअर्थ नभएको कुरा ढाँट्ने र अरुको आदिम भूमिलाई मेरो हो भन्नेहरु अतिक्रमणवादी हुन्।
५) भूगोलविदहरु र कानुनविद् प्रकाश वस्तीले जंगबहादुरको पालामा आठ तराई अदालत थियो, प्रम देवशसमसेरका पालामा चार तराई अदालत र प्रम चन्द्र समशेरका पालामा चार तराई बडा हाकिम भएको हुनाले नेपाल तराई ‘मधेस’ होइन, राणाकालभरी नेपालको दक्षिणी भागलाई तराई भनिन्थ्यो।
६) मधेसवादी दलहरुले धर्मशास्त्रहरुको युगका आधारमा नेपाल तराई ‘मधेस’ हो भनेका छन् तर यो युग २१ औँ शताब्दीको युग र धर्मनिरपेक्ष राज्यको युग भएको हुनाले नेपाल तराई हिन्दुहरुकोमात्र बसोबास भएको स्थान होइन। मनुस्मृति हिन्दु धार्मिक कानुनका आधारमा नेपाल तराईमा ‘मधेस’ स्थापना गर्न खोज्नुको तात्पर्य हिन्दु उच्च जातीय शासनको निरन्तरता दिन चाहेको हो। वर्णव्यवस्था (जातपात छुवाछुत) लाई लागू गर्न चाहेको हो र दलित तथा महिलालाई सधैँ दास बनाएर राख्ने मनोवृत्तिको उपज हो। जयप्रकाश गुप्ताले हिन्दु जात समूहमात्र मधेसी हुन् भनेक छन्। तसर्थ नेपाल तराई यहाँका आदिवासी जनजातिहरुको आदिम भूमि हो साथै वर्तमान अवस्थामा यहाँ प्रकृतिपूजक र बुद्धमार्गी आदिवासी जनजातिहरु, हिन्दुहरु, इस्लामहरु, क्रिस्चियनहरु, शिखहरु तथा अन्य धर्मावलम्बीहरुको बसोबास भएको हुनाले नेपाल तराईमा भारतको मधेसबाट बसाइँ सरी आएका हिन्दु जात समूहको एकलौटी भूमि हुन सक्दैन। बरु दोस्रो जनआन्दोलन २०६२/६३ भन्दा पहिले नेपाल अधिराज्यको संविधान २०४७ ले नेपाललाई हिन्दु राष्ट्र घोषणा गरेको हुनाले नेपाल तराई मात्र होइन सम्पुर्ण नेपाल देशलाई आर्यावर्त भनेर स्विकार गर्न सकिन्छ तर अहिले अन्तरिम संविधानले धर्म निरपेक्ष राज्य घोषणा गरेको अवस्थामा तराईलाई मधेस भनेर स्वीकार गर्न सकिँदैन।
७) मधेस शब्दले मध्य भागलाई बुझाउँछ। चीन र भारत दुई विशाल देशहरुबीचको मध्य भाग नेपाल राष्ट्र ‘मधेस’ हो। नेपालको मधेस काठमाडौं हो। तर दक्षिणको तराई भागलाई मध्यभाग (मधेस) भन्नेहरु दृष्टिविहीनहरु हुन्।
८) ‘तराई-मधेस’ शब्द एकआपसका पर्यायवाची शब्द होइनन्। ‘तराई’ शब्दले भूधरातलको स्वरुप दल र सिमसार क्षेत्रलाई दर्शाउँछ भने मधेस शब्दले कुनै स्थानको स्थिति वा मध्यभागलाई दर्शाउँछ। नेपालको भित्री तराई खण्ड यदि दुई पहाडबीच उत्तर-दक्षिण पहाड र पूर्व-पश्चिम खुल्ला भएको भए ‘मधेस’ भन्न सकिन्थ्यो तर यी उपत्यकाहरु चारैतिर पहाडले घेरिएको हुनाले तराई र मधेस शब्द अगाडि भित्री विशेषण लगाउनैपर्ने आवश्यकता महसुस भएको हुनाले भित्री तराई अथवा भित्री मधेस भनिएको हो। नेपाललाई मधेसका नाममा राजनीति गर्ने मधेसवादी दलहरुको स्वार्थ पूर्तीका लागि नेपाल तराईको नामाकारण ‘तराई-मधेस’ को स्वरुपमा स्विकार गर्न सकिँदैन। यसै गरि यदि ‘भित्री मधेस’ को बाह्य भागलाई बाह्य मधेस मान्ने हो भने दक्षिणको तराई खण्डलाई मात्र ‘बाह्य मधेस’ मान्न सकिँदैन, उत्तरको पहाडी भाग लगायत यसको पूर्व, पश्चिम र दक्षिणसमेतको सबै दिशाको भूभागलाई समेत बाह्य मधेस मान्नुपर्ने हुन्छ।
९) २०६३ साल माघ महिनाभन्दा अगाडिसम्म नेपालको दक्षिणी भागलाई ‘तराई’ भनिन्थ्यो, मधेस भनिदैनथ्यो। तसर्थ २०६३ साल माघमा मधेसी जनअधिकार फोरमको नेतृत्वमा लाहानबाट सुरु भएको विद्रोहलाई ‘मधेस विद्रोह’ भन्न सकिँदैन। किनभने त्यो विद्रोह राज्यद्वारा मधेसी समुदायहरुप्रति गरिएको विभेद र पक्षपातपूर्ण व्यवहारप्रति लक्षित थियो न कि हिन्दु धर्मको स्थापना गर्नको लागि धार्मिक विद्रोह थियो। त्यो विद्रोहलाई मधेसी विद्रोह भन्न सकिएला। यदि हिन्दुहरुको विद्रोहलाई मधेस विद्रोह नामाकरण गर्ने हो भने बुद्धमार्गी, इस्लाम, क्रिस्चियन, शिखहरुले गरेको विद्रोहको नामाकरण पनि धर्मका आधारमा नामाकरण गर्नुपर्ने हुन्छ। धर्मका मामिलामा राज्य तटस्थ रहनुपर्छ। भारतको नयाँ संविधान निर्माण हुँदा त्यहाँका संविधानविद्हरुले सर्वसम्मतिले ‘हिन्दुस्तान’ नभनेर ‘भारतवर्ष’ नामाकरण गरेको कुरालाई स्मरण गर्नुपर्ने हुन्छ। उपरोक्त आधारमा नेपालको तराई भूमि ‘मेधस’ होइन, तराईलाई मधेस भन्नु मधेसवादी दलहरुको भ्रान्ति बाहेक अरु केही होइन। अन्यथा मधेसवादी दलहरुले मधेसको परिभाषा दिनुपर्ने हुन्छ र नेपाल तराई ‘मधेस’ भएको पुष्टि गर्न सक्नुपर्ने हुन्छ। अन्यथा ‘तराई-मधेस’ शब्दलाई स्वीकार गर्न सकिँदैन।
पुस्तकः स्थविरहरुको प्राचीन इतिहास र संस्कृति (२०६९)
लेखकः महेश चौधरी
प्रकाशकः शान्ति चौधरी
मूल्यः ६५० (साधारण कभर), १००० (हार्ड कभर)
पहिलोपोस्ट साभार