हिजोका इमान्दार थारु आज आतंककारी, हिजोका सोझा थारु आज बिखण्डनकारी र हिजोका देशभक्त थारु आज देशद्रोही भए। हो, हामी आतंककारी, बिखण्डनकारी, देशद्रोही हौं। १० वर्षे जनयुद्धमा थारुलाई आतंककारीको बिल्ला भिराएकै हो। यसैको आरोपमा कति जनालाई टुहुरा, विधवा बनाएकै हो। यो इतिहास साशकहरुले बिर्सिए पनि हामी थारु कहिल्यै भुल्दैनौं।
बसमा कीर्तिपुर फर्किँदै थिए। पछाडिको सिटमा दुई जना लामो नाक भएका मानिसहरु कुरा गर्दै थिए- ‘आज दिउँसोको घटना थाहा पाउनुभयो हजुरले?’ अर्कोले जिज्ञासाका साथ ‘हजुर के घटना?’ ‘आज टीकापुरमा ठूलो घटना घट्यो नि त्यत्रो मिडियामा आइराछ।’ ‘ए हो, त्यो घटना हैन यो थारु भनेको कमैया कमलरी बस्ने जाति होइन र, जो अर्काको घरमा जुठो भाँडा माझ्ने, अनपढ गवार खेत जोत्ने।’ ‘हो हो त्यही जाति, प्रहरीलाई मार्ने कत्रो हिम्मत हगि। यिनीहरु मानिस होइनन् राक्षस हुन्, यिनीहरुलाई त सिधै गोली ठोक्नुपर्छ।’ उनीहरुको थारुप्रतिको आक्रोस सुन्दै म कीर्तिपुर पुगे। मलाई उनीहरुको आक्रोसमा प्रतिकार गर्न उचित लागेन।
आज नेपालको हरेक कुना काप्चा, पसल, चोक, क्याम्पस, सरकारी कार्यालय जहीँतहा उही टीकापुरको घटनालाई लिएर थारुको विषयमा बहस टीकाटीप्पणी हुँदै आएको छ। प्रत्येक थारुले आफ्ना गैरथारु साथीसँग विचारको लडाइँ लड्न परिराखेको छ। यही कुराले धेरैको सम्बन्ध पनि बिग्रेको अवस्था छ। धेरै साथीहरु यही कुराले आफूलाई असुरक्षित महसुस गरिरहेका छन्। सामाजिक सञ्जाल आज थारुको शब्द अपशब्दले पोतिएको छ- पुलिसलाई भाला हान्ने, आगो लगाउने, बच्चालाई गोली ठोक्ने, आतंककारी, बिखण्डनकारी देशद्राही हुन्। यिनीहरुलाई गोली ठोक्नुपर्छ, फाँसीमा झुण्ड्याउनुपर्छ, आगो लगाएर मार्नुपर्छ इत्यादि इत्यादि। यस्तो कमेन्ट स्टाट्सले सबैको सामाजिक सञ्जाल रंगिएको छ।
घटना हुँदै थियो। म पनि अनलाइनमा हेर्दै थिएँ। घटना भदौ ७ गते, २-३ बजेतिरको होला। सुरुमा एसएसपी र हवल्दारसहित ४ जना आन्दोलनकारीद्धारा हत्या भनेर समाचार आयो। त्यसपछि ७ जना, त्यसपछि १७ जना र अन्तिममा २१ जना प्रहरीसहित २ वर्षे बालकको आन्दोलनकारीद्धारा हत्या भनेर पोष्ट गरियो। भालिपल्ट कान्तिपुर, नागरिक, नयाँ पत्रिकालगायत थुप्रै राष्ट्रिय दैनिकले उही एसएसपीसहित ७ जना प्रहरी र २ वर्षे नाबालकको आन्दोलनकारीद्धारा गोली हानेर हत्या भने समाचार छापयो। मिडिया यति एकलौटी र विभेदपूर्ण तरिकाले सूचना सम्प्रेसन गर्यो कि हजारौं हजार वर्षदेखि देशको सार्वभौमसत्ता र अखण्डताका लागि लडेका सोझा इमान्दार थारुलाई यही घटनालाई कमजोरी बनाएर थारुहरुको इमान्दारिता पूरै हरण गर्यो।
मिडियाले कहिल्यै लेख्ने कोसिस गरेन कि कति जना आन्दोलनकारीको मृत्यु भयो? कति जना घाइते भए? कति जना बेपत्ता बनाइए? अझ जनतालाई भ्रमित पार्दै एक पक्षीय रुपमा समाचार लेख्दै गए। आन्दोलनकारीले हतियार, हसिया, खुँडा, भाला, फरुवा लिएर आएका थिए। आन्दोलनकारीले दुई वर्षीय बच्चालाई समेत छाडेनन् तर उनीहरु कहिल्यै लेख्ने भन्ने प्रयास गरेनन् आन्दोलनकारीको भालाको गोलीबाट निस्केर बच्चाको मृत्यु भयो भनेर। अझ यिनीहरु आन्दोलनकारी होइनन्, आतंककारी हुन् भनेर सत्तामा बसिरहेका पहिचानविरोधी, शान्तिपूर्ण आन्दोलनविरोधी साशक नेताहरुको भाषणलाई दोहर्याइ तेहर्याइ टिभी एफएममा बजाइराख्यो देखाइराख्यो। राज्य निरकुंश हुँदै टीकापुरमा सेना परिचालन गर्यो। तुरुन्त कर्फ्यू लगाइयो। त्यही कर्फ्यूको समयमा थारु अगुवा, ब्यापारीको घरमा छानी छानी आगो लगाइयो। कुटपिट धरपकडका साथै महिलामाथि दुर्ब्यवहार गर्ने काम भयो। त्यो पनि कर्फ्यूको समयमा। त्यो बेला कसैमा बोल्ने हिम्मत भएन। मिडिया, मानव अधिकारकर्मी, नागरिक समाज सब लुकेर बसेका थिए। किनकि त्यहाँ थारुको पीडा थियो, थारु बेदना थियो।
हिजोका इमान्दार थारु आज आतंककारी, हिजोका सोझा थारु आज बिखण्डनकारी र हिजोका देशभक्त थारु आज देशद्रोही भए। हो, हामी आतंककारी, बिखण्डनकारी, देशद्रोही हौं। १० वर्षे जनयुद्धमा थारुलाई आतंककारी बिल्ला भिराएकै हो। यसैको आरोपमा कति जनालाई टुहुरा, विधवा बनाएकै हो। यो इतिहास साशकहरु बिर्सिए पनि हामी थारु कहिल्यै भुल्दैनौं। आज प्रहरी प्रसाशन तिमीहरुको, बालुवाटार सिंहदरबार तिमीहरुको, अदालत अख्तियार तिमीहरुको, पत्रकार मिडिया तिमीहरुको, यो देश यो राज्य तिमीहरुको। हामी त यो देशको गद्दार हौं, सायद यही भन्न र सुन्न तिमीहरु रुचाउछौं। हामीसँग बाँकी भएको इमान्दारिता पनि लुट्यौ तिमीहरुले। यो नासो कति पीडा सहेर, कतिथोक गुमाएर पाएका थिए हाम्रा पुर्खाले। आज त्यो पनि तिमीहरुले खोस्यौ, जबर्जस्ती। कति पीडा सहेर हाम्रा पुर्खाले आफ्ना पौरखले जमिन जोडेका थिए, हाम्रै जमिनमा तिमीहरुले हामीलाई कमैया बनायौ, त्यो पनि सह्यो। आफ्ना छोरीचेलीको हातखुट्टा सडाई तिमीहरुको जुठो भाडा माझ्न कमलरी बनायौं, त्यो पनि सह्यो। आफ्नै आखाँ अगाडि छोरीचेली दिदीबहिनी बलातकृत हुँदा देखेर नदेखेझैँ गरी चुपचाप बसेँ, यो दर्दनाक पीडा सहेका छौं हामीले।
आज म थारुमाथि औंला ठड्याउने देशप्रेमीलाई चुनौती दिन चाहन्छु- कुन जातिमा हिम्मत छ यत्रो ठूलो पीडा सहने क्षमता? हो आज यही यथार्थ अन्यायबाट गुज्रेर आएको जाति हो थारु। आज तपाईँहरु एउटा घटनालाई जोडेर सिंगो थारुमाथि औँला ठड्याइराख्नु भएको छ। हामीलाई जोतेर पुगेन त्यसैले होला आज यो राज्य थारुलाई छानीछानी मार्ने काम गरेको छ। आदरणीय देशप्रेमीहरु, हिम्मत छ भने थारुले भोगेको पीडा, उनीहरुको इतिहास, उनीहरुको अस्तित्व क्षतिपूर्तिसहित फिर्ता गर्नुस्, छ तपाईँहरुमा हिम्मत?
टीकापुरमा घटेको घटना दुःखद छ, जुन थारुले स्वीर्काछ। तर त्यो घटना घट्नुको कारण विश्लेषण गर्नु पनि उत्तिकै जरुरी छ। यदि विश्लेषण गर्न सक्ने क्षमता छैन भने तपाईँलाई आरोप लाउने अधिकार पनि छैन। आज यो देशको स्वाभीमान, सार्वभौमसत्ता र अखण्डताको लागि सबभन्दा बढी बलिदानी गरेका जाति थारु हुन्, इतिहास अध्ययन गर्दा हुन्छ। तर विडम्बना थारुको रगतबाट लेखिएको संविधानमा आज थारुकै अधिकार समेटिएन। थारु, मधेसी, जनजाति, दलित पिछडा वर्गको छातिमा, टाउकोमा गोली ठोकेर साशकहरुले नयाँ संविधान ल्याएका छन्। उनीहरु विजय जुलुस दीपावली मनाएका छन्। यिनीहरुको जायज माग र मुद्दालाई सम्बोधन गर्नुको साटो लत्याएर आफूलाई बहादुर महसुस गरिरहेका छन्। याद राख्नोस् साशकहरुले जबसम्म हाम्रो अधिकार, आत्मसम्मान र पहिचानमाथि खेलवाड गरिरहन्छ, तबसम्म यो देशमा आगो बल्नेछ। एकदिन त्यही आगो उनीहरुलाई भारी हुनेछ।
लेखक बर्दियाली थारु विकास मञ्च काठमाडौंका अध्यक्ष हुन्।