तराई मधेसका संयुक्त आमसभा गर्न एमाओवादीको प्रस्ताव

एकीकृत माओवादीले नेपालको संविधान जारी भइसकेको अवस्थामा मुलुकका महत्वपूर्ण र रणनीतिक महत्वको स्थानमा प्रमुख तीन राजनीतिक दलका तर्फबाट आमसभा गर्नुपर्नेमा जोड दिएको छ।ucpn moist flag

एमाओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी केन्द्रीय समितिको बैठकले तराई मधेसका विभिन्न जिल्लामा जनपरिचालनसहित आमसभा गर्नुपर्ने निष्कर्ष निकाल्दै नेपाली कांग्रेस र नेकपा(एमाले)लाई पनि त्यसका लागि आग्रह गर्ने निर्णय गरेको छ।

संविधानमा आदिवासी, जनजाति, मधेसी, थारु समुदायको धेरै हक तथा अधिकार समावेश गरिएको भएपनि केही विषय छुटेका कारण असन्तुष्टि व्यक्त भइरहेको भन्दै त्यसको समाधानका लागि संयुक्त रुपमा जनपरिचालन र आमसभा गर्नुपर्ने निष्कर्ष निकालिएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए।

यस्तै संविधान जारी भइसकेको अवस्थामा दक्षिणी छिमेकी भारतले नेपालमाथि विभिन्न प्रकारको नाकाबन्दी गरेको भन्दै एमाओवादीले जनवर्गीय सङ्गठनको नेतृत्वमा जनपरिचालनसहित सङ्घर्ष गर्ने निर्णय गरेको छ।

सार्वभौम तथा स्वतन्त्र मुलुकका जनता र राजनीतिक नेतृत्वले आफ्नो संविधान कस्तो बनाउने र कसरी बनाउने भन्ने विषय स्वतन्त्र निर्णय भएकाले कुनै पनि मुलुकले आपत्ति जनाउनुपर्ने र अवरोध गर्नुपर्ने कुनै पनि कारण नभएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ।

सरकारले कूटनीतिक पहल गरेर आपूर्ति व्यवस्थामा देखिएको समस्या समाधान गर्न पहल गर्नुपर्नेमा एमाओवादीले जोड दिएको छ।  यस्तै यही असोज १६ गते सङ्घीय प्रणालीअनुसार ३ र ४ नम्बर प्रदेशको काठमाडौँमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए। यस्तै २० गते १ नम्बर प्रदेशको भेला इटहरी, ५ र ६ नम्बर प्रदेशको बाँकेको कोहलपुरमा यही असोज २३ गते भेलाको आयोजना गरिएको छ भने असोज २५ गते प्रदेश नं २ को भेला जनकपुरमा गर्ने वा अन्य कुनै उपयुक्त स्थानमा गर्ने भन्ने बारेमा भने कुनै पनि ठोस निर्णय नभएको प्रवक्ता शर्माले जानकारी दिए।

यस्तै पार्टीबाट अलग हुनुभएका वरिष्ठ नेता डा बाबुराम भट्टराईलगायत नेतालाई पुनः आफ्नो निर्णयमा पुनःविचार गरी घर फर्कनसमेत बैठकले आग्रह गरेको छ।

प्रवक्ता शर्माका अनुसार असन्तुष्ट पक्षसँग वार्ता र संवाद गर्न उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा एक समितिसमेत गठन गरिएको छ। सो समितिले संविधान घोषणा भएपछि विभिन्न रुप र ढङ्गले असन्तुष्टि व्यक्त गर्दै आएका समूहसँग वार्ता गरी समस्याको समाधान गर्न पहल गर्नेछ। रासस

Leave a Reply

Your email address will not be published.