विगत ४६ दिनदेखि नेपालमा निरन्तर चलिरहेको थरुहट-मधेसी आन्दोलनमा सुरक्षाकर्मीसहित ५० बढीले प्राणको आहुती दिइसकेका छन्। थरुहट-मधेसी आन्दोलनकारीको रगतसँग होली खेल्दै उनीहरुको भावनामाथि बुटले कुल्चने यो देशका ठूला भनिने दलहरुले नेपालको संविधान २०७२ जारी गरी विजय उत्सव मनाइरहेका छन्।
नेपालको संविधान २०७२ जारी नहुँदासम्म यी तीन दलका शीर्ष नेताहरुले जसरी यो देशमा तत्कालै संविधान जारी गर्न नसकेमा राजा फर्किने, अहिलेसम्मका उपलव्धी समाप्त हुने, देश ठूलो खाडलमा फस्ने र यो देशका जनताको अस्तित्व समाप्त हुने भनि संविधानसभामा निर्वाचित आदिवासी, जनजाति, मधेसी, दलित मुश्लिमलगायत अतिसिमान्तीकृत जनताको प्रतिनिधिबीचमा हावा फैलाएर यो संविधानमा हस्ताक्षर गर्न बाध्य परियो। संविधान जारी भएसँगै संविधानमा आवश्यक संशोधन गरेर सबैका जायज माग सम्बोधन गरिनेछ भनि जुन गायत्रीमन्त्र पढाएर फकाउने काम भयो, अहिले संविधान जारी भएको हप्ता दिन पुग्दासम्म आन्दोलनकारीका माग सम्बोधन गर्न सकेको छैन। बरु सत्ता स्वर्थमा तल्लिन भएको देख्दा यो संविधान हतारमा ल्याउनुको पछाडि राजाको हाउगुजी देखाएर थारु, मधेसी, महिला, दलित उत्पीडित आदिवासी जनजाती, मश्लिमलगायत सदियौंदेखि जातीय, क्षेत्रीय, लैंगिक, सामाजिक, भाषिक, साँस्कृतिक उत्पीडनमा परेकाहरुको अधिकार सिमित गरी संविधान ल्याउने कलूशित खेल रचिएको छ।
नेपालको संविधान २०७२ पारित भएपछि संविधानसभालगायत विभिन्न स्थानमा भएको विजय उत्सव मनाएको देख्दा र आन्दोलनका क्रममा ज्यान गुमाएका जनताका मृतात्माप्रति संवेदनासमेत नदिएको देख्दा उक्त विजय उत्सव जनताका अधिकारमाथि धावा बोल्दै मनाइएको अनुमान लगाउन सकिन्छ। जसको प्रत्यक्ष प्रमाणको रुपमा अर्थमन्त्री रामशरण महत मुगुमा गएर चीनसँगको नाका खोल्ने विषयमा अध्ययन भ्रमणमा व्यस्त छन्।
विभिन्न सञ्चार माध्यमामार्फत् भारतको विरोध गर्न लगाउने, विभिन्न सञ्चार माध्ययमबाट शीर्ष नेतृत्वले भारतलाई अप्रत्यक्षरुपमा विरोध गर्नु आदि प्रमाणहरु पेस गर्न सकिन्छ। हाम्रा केही मिडियाले पीडितका माग सम्बोधन गराउन सरकारलाई प्रोत्साहन गर्न छाडेर उल्टै पीडित जनताका जायज मागलाई दबाउनका खोजेको देख्दा दुःखको अनुभूति हुन्छ। यो देशको चौथो अंगले खेलेको भूमिका निकै आत्मघाति पुष्टि भइरहेका छन्।
भारतले केही दिनयता प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकारलाई दिएको दबाब र चिनले नेपालको संविधान २०७२ लाई गरेको स्वागतलाई विश्लेषण गर्दा दुवै देशले नेपालप्रति राखेको कुदृष्टि बुझ्न सकिन्छ। भारतले नेपाल र नेपालीको भावनामाथि प्रहार गर्नेगरी दिएको धम्की कुनै नेपालीका लागि स्वीकार्य हुन सक्दैन। तर भारतले नेपाललाई सबै जातजाति क्षेत्र, लिंग, वर्ग समुदाय र सीमान्तिकृतको मागलाई सम्बोधन गरेर सर्वमान्य सर्वपक्षीय संविधान बनाएर संशोधन गरेर जाउ भनेर सल्लाह दिनु असल छिमेकीको धर्मभित्र पर्छ। चीन पनि नेपालको असल छिमेकी हो भने सबै नेपाली मिलेर जाउ त्यसैमा सबैको भलो हुन्छ भन्न सक्नुपर्छ। थारु, जनजाति, मधेसी, जनतामाथि भावनात्मक रुपमा खेलवाड गर्ने अधिकार चीनलाई पनि छैन। यो एउटा स्वाभिमानी नेपालीको लागि किमार्थ स्वीकार्य हुन सक्दैन।
चीनलाई हेक्का रहोस् २१औं शताव्दीका नेपाली वीर गोर्खाका सन्तान हुन्। नेपाल र नेपालीहरु अहिलेसम्मको इतिहासमा न कसैको उपनिवेश र गुलाम रह्यो न रहनेवाला छ। तर दुःखको कुरा के छ भने हाम्रा ३ पार्टीका शीर्ष भनिने नेताहरुको रवैया हेर्दा आफ्नो घर परिवारको झगडा घरमै मिलाउन छाडेर आफना भाइ भतिजा, आमा बुबा दाजभाइको आवाजलाई बेवास्ता गरेका छन्।
हाम्रा आदरणीय नेताहरु काठमाडौंको खुल्लामञ्चमा उर्फ्रीउर्फ्री भाषण गर्ने र साइकल चलाउने प्रतिज्ञा गर्नुभन्दा आफ्नो परिवारका सदस्यसँग सल्लाह गर्नु बुद्धिमता होला न कि एक जना अनुदार बाबुले जसरी ४ भाइ छोरामध्ये २ भाइ छोराको सन्तान मारेर लाश र रगतको आहालमा लटपटिएको अवस्थामा आफ्ना दुई भाइ छारोका सन्तानसँग भोजभतेर, विजय उत्सवमा रमाउनुजस्तै हो। यस्ता रवैयाले देश चलाउन सकिँदैन।
नेपालविरुद्ध कसैले पनि कदृष्टि राखेर हामी नेपालीको स्वाभिमानमाथि धावा बोल्ने शैलीमा कुनै छिमेकीले नाकाबन्दी गर्ने वा नेपालको आन्तरिक मामलालाई विश्लेषण नगरी वा बुझेर पनि बुझ पचाई संविधानको स्वागत गर्नेलाई इटको जवाफ पत्थरले दिन हामी नेपाली अग्रसर हुनेछौं।
लेखक अधिवक्ता हुन्।