सेना फिर्ता गर्न तीन दलको सैद्धान्तिक सहमति, वार्ता टोली गठन गरिने

tin neta

प्रमुख तीन दलले मधेसी मोर्चा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिलगायत आन्दोलनरत पक्षसँग छलफल गर्न वार्ता टोली गठन गर्ने सैद्धान्तिक सहमति गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठकले आन्दोलनरत पक्षसँग वार्ता गर्न टोली गठन गर्ने सैद्धान्तिक सहमति गरेको छ।

बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले तीन दलको तर्फबाट वार्ता टोली गठन गर्न औपचारिक प्रस्ताव गरेका थिए। दाहालको प्रस्तावलाई अन्य दलले सैद्धान्तिक सहमति जनाएको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय एवं केन्द्रीय सदस्य चुडामणि खड्काले जानकारी दिए। उनका अनुसार बैठकमा आन्दोलनरत पक्षलाई निश्चित अवधि तोकेर आन्दोलनका कार्यक्रम फिर्ता दिइ वार्तामा आउन आग्रह गर्ने सहमति भएको छ।

आन्दोलनकारीले भन्दै आएको वार्ताको वातावरण बनाउन सेना फिर्ता हुनुपर्ने मागका सम्बन्धमा तीन दल लचिलो भएका छन्। ‘वार्ताबाटै सबै समस्याको समाधान निकाल्न सकिने भन्दै हाम्रा अध्यष (दाहाल)ले तीन दलको तर्फबाट वार्ता टोली बनाउने औपचारिक प्रस्ताव राख्नुभयो,’ खड्काले भने,’ सो प्रस्तावलाई अन्य दलले सैद्धान्तिक सहमति जनाउनुभएको छ।’

वार्ता टोली गठन गर्ने, सेना फिर्ता र आन्दोलनरत पक्षलाई आन्दोलन फिर्ता लिन आह्वान गर्नेलगायतका विषयमा निर्णय गर्न प्रमुख तीन दलको बैठक आज दुई बजे पुनः बैठक बस्ने सहमति भएको छ। बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल महामन्त्री कृष्ण सिटौला, एमाले अध्यक्ष केपी ओली, उपाध्यक्षद्वय बामदेव गौतम र विद्या भण्डारी र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता सहभागी थिए।

थारु मधेसी आन्दोलनकारीहरुले वार्ताको वातावरण बनाउन सेना फिर्तालगायतका माग अघि सारेका थिए।

Leave a Reply

Your email address will not be published.