गिता दृष्टि
भात्तृत्व र सद्भावको लागि शान्ति चाहे शान्तसँग बस्न पाइन्, अधिकार र पाहिचान मागे त्यो दिन चाहेनन्, यसरी माग्दा सुनेनन् कि भनेर मैले सडकमा उत्रिए, सदनमा कराएँ र प्रत्येक कार्यक्रम–बहसमा चिच्याएँ। काराउँदा कराउँदै मेरा स्वर सुके। मेरा आँसु सुके। मसँग भएको शक्ति क्षिण भयो। तर सुन्नुपर्ने व्यक्तिले, निकायले र व्यवस्थाले सुनेर नसुनेझैँ गर्यो वा भनौं एक कानले सुनेर अर्को कानले उडाइदिए। जब ऊसँग त्यो शक्ति बचेन, उसले सेना, प्रहरीको साथ लियो। कुशलयुद्ध नीति, साम, दाम, डण्द, भेद लगाएर भए पनि विजय आफ्नै हातमा लिइछाड्यो।
म नेपाली, म सधैँ नेपाली हुनमा गर्व गर्दै वीर पुर्खाको इतिहास पढ्दै हुर्के। सयौँ थुंगा फूलका हामी एउटै माला नेपाली गाउँदै बढेँ, एउटै गाउँमा विभिन्न जातजाति अनि त्योभित्र एउटै दौतरी समूह दशैँमा सखिया नाच्यौँ, गौरामा देउडा खेल्यौँ, तिहारमा देउसी खेल्यौँ, एक दिन मनाउने होली हामी महिनौँ मनायौँ, कुनै जातजाति नभनि सँगै होलिका जलाउन गयौं। पहिलो दिन पहाडीको होली, दोस्रो दिन थारुको र तेस्रो दिन राना थारुको होलीमा सरिक हुन्थ्यौं। राना थारुको विशेष होलीमा महिनौँ नाच्यौं। नाम पनि थारु, बाहुन, अछामी, संघारी, डोटली, पाहाडी, राना जे भनेर बोलाउँदा पनि राम्रो लाग्थ्यो। कसैले हेपेर बोलेको भान हुन्थेन। त्यसमा माया र आत्मियता हुन्थ्यो। तर अहिले परिस्थिति फेरिएको छ, समय बदलिएको छ। राजनीतिक आस्था फरक, विचार फरक र व्यवस्था फरक भएर कसैले थारु भन्दा हेपेको अनुभव र पहाडे भन्दा गाली गरेको अनुभव हुन थालेछन्। वास्तव मा यो सद्भाव र अत्मियता बिगार्ने दोषी को? म नेपाली भन्दै गर्व गर्ने ठाउँ खोइ? सयौ थुंगा नेपाली भन्दै गत गाउने आधार खोइ? मेरा भाइ–बहिनीले पुर्खाको वीरताको गाथा गाउने कि हिनताको?
म पीडित, उपेक्षित, अधिकार र पहिचानको लागि लड्दालड्दै थाकेको, सरकारले दोस्रो दर्जाकै नागरिकसरह व्यवहार गरेको, नागरिकको आवाज र प्रश्नको जवाफ दिने उत्तरदायित्व यो नालायक र स्वार्थी नेताले लिनुपर्छ, जसले आफूलाई राजनेता भन्न रुचाउँछन्, देश र जनताको भालाइ भन्दा आफ्नो भलाइ गर्नमा तत्पर रहन्छन्। यही विक्षिप्त मानोविज्ञान भित्र म रुमलिएको छु म एउटा कथित नेपाली नागरिक।
दशैँ तिहारको हर्सोल्लास जस्तै अहिले देशका जनता नयाँ संविधानलाई स्वागत गर्न दिपावली मानाइरहेको छन्। प्रत्येक वर्ष एकपटक मानाइने दिपावली यो वर्ष पटक–पटक मानाउन पाउनु नेपाली जनताका लागि दुर्लभ अवसरको उपयोग गर्न पाउनु सुनौलो अवसरको कुरा हो। विगतमा देशले दश वर्षको जनयुद्ध भोग्योे, राजतन्त्र गुमायो, दुई दुई पटक चुनाव भयो, अनि थुप्रै ताराई मधेस आन्दोलन, थरुहट आन्दोलन, जनजाति आन्दोलन पचायो। यो देश अनि देशका जनाताले नयाँ संविधान पाउनु खुसीको कुरा हो। साँच्चै यो ऐतिहासिक घडी हो।
विडम्बना! यो दिपावली मनाउने सौभाग्य सम्पूर्ण नेपाली जनतालाई मिलेन। केही वर्ग, केही पक्ष र केही जनतालेमात्र दिपावली गर्दैछन्। त्यसबाट हामी टाढिँदा वा सबै जातजातिका दौतरी मिलेर दिपावली मनाउन नपाउँदा नरमाइलो लागेको छ।
मैले दिपावलीको बत्ति बालिराख्दा पल्लो घरको काकीले किरिया कोठामा बत्ति बालिराख्नु भाछ। मैले विजयको रातो अबिर लागाउँदै गर्दा छिमेकीको भाउजुको रातो सिन्दुर पुछिँदैछ। मेरा दौतरीहरु बस्ने घर जलेको छ। आजको दिन मेरा थारु साथीले मानाउने अटवारी, जुन दाजुभाइ, दिदीबहिनीको भातृत्व, सद्भाव र मेलमिलापको लागि मनाइन्छ, त्यो दिन सेना परिचालन र कर्फयु लागेको छ। मेरा मधेसी मित्रहरुले गणेश चतुर्थीलाई शोकमै बिदा गरे। चाडवाड सबैको हो भन्थे तर यो दिपावली कसैले उज्यालो दिन भन्दै मानाउँदैछन्, कसैले कालो दिन। हाम्रो यो सुन्दर शान्त नेपाल अब म कथित नागरिकले कसरी भन्ने? कुन आधारमा भन्ने?
क्रान्तिकारी कि सहिद हुन्छ कि लड्छ भन्ने नारा लागाउँदै हिँड्ने देशका कथित क्रन्तीकारीहरु खोइ अधिकारको लाडाइँ। प्रजातन्त्रिक देशमा सबैको अधिकार सुनिश्चित हुन्छ भन्दै हिँड्ने गणतन्त्रवादीहरु खोइ सबैको अधिकार सुनिश्चित भएको? मेरो दाजुभाइलाई मार्यौँ, चुपचाप बस तँलाई अधिकार दिन्छु भन्यौँ, मेरो बाउलाई मार्यौँ नरोउ तँलाई पाहिचान दिन्छु भन्यौँ, मेरो आमाको सिन्दुर पुच्छ्यौँ चिन्ता नगर तिमीले यसको क्षतिपूर्ति पाउछौँ भन्यौँ। सयौँ घर जलायौ आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न देशको सुरक्षार्थ खटेका मेरा काकालाई पनि मार्यौँ। संघीयता आउँदा हामीलाई सजिलो हुन्छ, धेरै टाँढा जानु पर्दैन, प्रसाशनिक काम कारबाही चाँडै हुन्छ, अर्थिक सामाजिक र साँस्कृतिक सुरक्षाको प्रत्याभूति हुनेछ भन्ने आशा पलाएको थियो तर त्यो पनि सन्तुष्ट हुने ठाउँ रहेन। अब म यो विक्षिप्त मन लिएर यो दिपावली कसरी मानाउँ। नयाँ बस्तु पाउँदा मन फुरुङ्ग भएर आउँछ, तर यो नयाँ संविधान पाउँदा मेरो मनमा खुसीको आभास भएन। तिमीहरु आज धेरै खुसी छौ, मेरो सट्टा पनि यो नयाँ संविधानको लागि दीप प्रज्वलन गर, यदि दीप बाल्न तेलको कमि भएछ भने मेरो बाउको किरियामा बालेको दियोभित्रको तेल झिकेर दिउँला। ब्यानर बनाउनलाई कपडाको कमि भयो भने मेरो आमाको सेतो धोती पाठाइदिउँला। तिमीहरुको यो खुसीयाली कहिल्यै नखोसियोस् किनकि मैले त दुःख पचाउन सिकिसकेको छु। आसुँ दबाउन जानेको छु, जलेको घर निभाउने अभ्यास गरिसकेको छु।
तिमीले यस्तो गर्न कहिल्यै नपरोस्। आज तिमीसँग शक्ति छ, तिम्रो हातमा व्यवस्था छ, तिमीसँग सबथोक छ र पनि समय गतिसिल छ, परिवर्तित छ, सबथोक तिमीसँग मात्र नरहन सक्छ। अहिले तिमी दिपावली मानाइराख्दा मेरो मन विक्षिप्त छ। तिमीले मेरो दुःखलाई उपेक्षा गर्दा मनमा आगो र बदलाको भाव उब्जेको छ। यो बदलाको भावना साह्रै निन्दनीय हुन्छ। भोलि जस्तोसुकै पनि मोल यो देश र यहाँका शासक वर्गले चुकाउनुपर्ने हुन सक्छ, त्यसका लागि पनि शक्ति सञ्चय गरेर बस्दा राम्रो तर पनि पीडा र उत्पीडनको पराकास्ठा नाघेपछि कसैले छेक्न सक्दैन, कसैले रोक्न सक्दैन, इतिहास साक्षी छ। विशाल कौरव सेनाका अगाडि पाण्डवको विजय कसैले रोक्न सकेन यो कुरा नेपाल सरकार र यो देशका शासक वर्गले बुझून्। देशले नयाँ संविधान पाएको छ, यो कुरा यो देशको लागि गौरवको कुरा हो। संविधान जसरी ल्यायौ, त्यसरी नै सन्तुस्ट र असन्तुस्ट पक्षलाई मिलाएर लग्न साक्यौँ भने देशको भलाइ हुनेछ, अन्यथा फेरि अर्को जनयुद्ध यो देशले भोग्नु नपर्ला भन्न सकिँदैन।
तसर्थ अब सबैको माग पूरा गर्नुको अर्को विकल्प छैन। के यो नयाँ संविधानले सबैले चाहेको र मागेको पहिचान दिन सक्ला?