असोज ३ गते साँझ ५ बजे नयाँ संविधान घोषणा हुने

CA-building

नेपालको संविधान, २०७२ आगामी असोज ३ गते साँझ ५ बजे जारी गर्ने तयारी गरिएको छ। संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई संविधान जारी गर्ने समारोहमा सहभागी हुन निमन्त्रणा लिएर राष्ट्रपति डा रामवरण यादवलाई भेट्न आज साँझ राष्ट्रपति कार्यालय शीतलनिवास जाने सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए।

संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति डा यादवले संविधान जारी भएको घोषणा गर्नेछन्। संविधानसभामा जारी रहेको संशोधन प्रस्ताव, धारा, अनुसूचीमाथिको मतदान प्रक्रियालाई केही दिनभित्रै टुङ्गो लगाएर संविधान जारी गर्ने आवश्यक तयारी सचिवालयले गरेको छ।

लामो राजनीतिक खिंचातानी, अन्योल तथा राजनीतिक दलबीचको संवाद, सहकार्य र वार्ताको मात्रै समाचार सुन्दै आएका नेपाली जनताले पहिलो पटक संविधान जारी हुने मिति थाहा पाएका हुन्। रासस

Leave a Reply

Your email address will not be published.