हत्या, हिंसा र आन्दोलन गरेर मुलुकलाई अफ्ठ्यारो नपार्नुस् : ओली

oliनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताका समस्या समाधान गर्न र अधिकार स्थापनाका लागि चलाइएको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु आजको प्रमुख कार्यभार भएको बताएाक छन्। ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथिको संशोधनसहितको दफावार छलफलमा’ आज भाग लिँदै उनले राष्ट्रलाई यथास्थितिमा रुमल्लिन नदिई अघि बढाउन अन्तिम बिन्दुमा आफूहरु पुगेकाले सबैको साथ र सहयोग जरुरी रहेको बताए। 

अप्ठ्यारो र चुनौती भए पनि सङ्घीय गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान जारी गर्ने ऐतिहासिक अभिभारालाई पूरा गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सकारात्मक कुरालाई सामेल गर्दै प्राप्त उपलब्धिलाई जोगाएर लैजानुपर्ने कुरामा जोड दिए।

अध्यक्ष ओलीले संविधानले मुलुक र जनतालाई बनाउने भएकाले संविधान जारी भएपछि पनि आवश्यक संशोधन गर्न सकिने भएकाले संविधान बन्न नदिएर, रोकेर, आन्दोलन गरेर, हत्या हिंसा गरेर मुलुकलाई अप्ठ्यारो पार्न नहुने विचार व्यक्त गरे।

अध्यक्ष ओलीले भने, ‘आफूलाई चित्त नबुझेका कैयौँ विषय भए पनि राजनीतिक दलले यो संविधान ल्याउन पहल गर्नुभएको छ, धेरै विषय नपुगेका होलान्, देश र जनतालाई संविधान चाहिने नै हुँदा हिंसा र हत्याको सहारामा बलजफती गर्नुभन्दा केही त्रुटि र कमजोरी भए आगामी दिनमा सुधार गर्न सकिन्छ।’

प्रक्रियालाई रोकेर होइन, जे भनाइ र मागहरु राखेर संविधानसभा बाहिर रहेका दलहरुका मागलाई यथोचित रुपमा सम्बोधन गर्न आफूहरु तयार रहेको उनको भनाइ थियो।

संविधानसभाको बहस छलफल गर्न छोडेर, आन्दोलन चर्काउन खोज्ने विषय उचित होइन भन्दै उनले त्यसले द्वन्द्व र भिडन्त बढाउँछ त्यसतर्फ कोही पनि लाग्न नहुनेमा जोड दिए।

तराई र मधेसको नाममा भएका आन्दोलन राष्ट्रको अखण्डता र सार्वभौमसत्ताविरुद्धको प्रयास भएकाले नेपाली जनताले कदापी स्वीकार नगर्ने उनको कथन थियो। मधेसको नाममा उत्ताउला कुरा गरेर जनता भड्काउन खोजिएको विचार व्यक्त गर्दै अध्यक्ष ओली भने, ‘संविधान निर्माणको जुन बिन्दुमा हामी आइपुगेका छौं, त्यो उपलब्धि हो। खुसी प्रकट गर्न चाहन्छौं। यसलाई यथाशीघ्र संस्थागत गर्नुपर्छ।’

उनले विभिन्न आन्दोलनमा उठेका जायज र तर्कसङ्गत मागलाई संविधानको विधेयकले संस्थागत गरेको र केही विषय बाँकी भए आगामी दिनमा क्रमशः सम्बोधन गर्दै जाने बताए। रासस

Leave a Reply

Your email address will not be published.